NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

समाचार संकलन गर्न बोलाएर मेयर थापाले कुटाए पत्रकार

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले समाचार संकलनका लागि भन्दै बोलाएर दुई पत्रकारमाथि सांघातिक आक्रमण गराएका छन् । अनलाइनपाना अनलाइनका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई समाचार संकलन गर्न सर्लाही नै बोलाएर थापाले कुटपित गर्न लगाएका हुन् ।

पत्रकार भट्टका अनुसार अनलाइनपानाले माओवादी केन्द्रबाट निर्वाचित मेयर थापाले आफ्नै नाममा बनाउन लगाएको भरत ताल र विप्लव समूहका नेता कुमार पौडेलको गैरन्यायिक हत्याका विषयमा यसअघि समाचार प्रकाशन गरेको थियो ।

यसैका निहुँ बनाएर मेयर थापाका भाइ रामकुमार थापाले फोन गरेर उक्त विषयमा जानकारी दिने भन्दै अनलाइनपानाका पत्रकारद्वय अधिकारी र भट्टलाई सर्लाही बोलाएका थिए ।

सोही आधारमा समाचारको फलोअपका लागि सर्लाही पुगेका पत्रकारद्वयमाथि मेयर थापाले गुण्डा लगाइ ज्यान जानेगरी आक्रमण गरेका छन् । मेयर थापासँग कुराकानी गर्दै गर्दा पनि ती गुण्डाहरू सोही स्थानमा बारम्बार धम्काइरहेको पत्रकार भट्टले बताए ।

‘कुराकानी सकेर सार्वजनिक यातायातबाट जिल्ला प्रहरी कार्यालय सर्लाही जाँदै गरेका हामीलाई बाटोमै गुडिराखेको गाडीलाई रोकेर एक्कासी गाडीमै चढी गुण्डाहरूले आक्रमण गरे,’ भट्टले नेपालवाचसँग भने ।

आक्रमणबाट अधिकारी र भट्ट दुवै घाइते भएका छन् । आफूहरूमाथि आक्रमण गर्ने गुण्डा र मेयर थापाविरुद्ध आफूहरूले इलाका प्रहरी कार्यालय हरिवनमा कारवाहीका लागि निवेदन दिएको पत्रकार भट्टले बताए ।

भट्ट नेपालवाचका पूर्वपत्रकार पनि हुन् ।