NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषय उठाएका छन् । कुनैले बेवारिसे बनेका विद्युतीय बसबारे लेखेका छन् भने कुनैले जलवायु परिवर्तनको असरले राउटे समुदायको जनजीवनमाथि परेको असरबारे उधिनेका छन् । स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउनेविरुद्ध आयोगले गरेको निर्णयले उत्पन्न तरंग, राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा दायर रिट, बस दुर्घटनालगायत विषयलाई पनि आजका अखबारले उत्तिकै प्राथमिकतापूर्वक समेटेका छन् ।

नयाँ पत्रिका दैनिकले एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई अनुदानमा उपलब्ध गराएको १२ करोड रूपैयाँबराबरको १९ विद्युतीय गाडी बेवारिस बनेको लेखेको छ । सरकारले चलाउने कि निजी क्षेत्रलाई दिने भन्ने विवादले यी गाडी तीन वर्षदेखि अलपत्र परेका हुन् ।

समाचारअनुसार गाडी चार्ज गर्न लुम्बिनी विकास कोषले अनुदानकै १४ करोडमा तयार गरेको सोलार प्लान्ट पनि प्रयोगविहीन अवस्थामा छ ।

मकवानपुर र रुकुम पूर्वको बस दुर्घटनाले भएको जनधनको क्षति, नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा परेको रिटसँग सम्बन्धित समाचार पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारमाथि जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयले भर्खरै राजनीतिमा आउँदै गरेका महिला र दलित महिलामा परेको असरमाथि कान्तिपुरको नजर परेको छ ।

‘राउते समुदायमा जलवायुका असर’ शीर्षकमा अन्नपूर्णले आज फरक विषय कोट्याएको छ । अन्नपूर्णका अनुसार, वनका कन्दमूल खाएर जीविकोपार्जन गर्ने यो समुदायमा जलवायु परिवर्तनको चर्को असर देखिएको छ ।

‘आफूलाई वनको राजा भन्न रुचाउने राउटे समुदाय गिठा, भ्याकुरलगायत जंगली कन्दमूलका भरमा जीवनयापन गर्थे । गुना बाँदरको सिकार गर्थे । काठका सामग्री बनाएर खाद्यान्न साट्थे । तर कन्दमूल, वन्यजन्तु काठ पाउठ छाडिएको छ । वासस्थाननजिक पानीका मुहान पनि सुकेका छन् । उनीहरू जलवायु परिवर्तनका असरसँग जोडिने यस्ता अनेकौं समस्या भोगिरहेको विज्ञ बताउँछन्,’ अन्नपूर्ण समाचारमा लेखिएको छ ।

आर्थिक दैनिक कारोबारले दसैंमा रेमिट्यान्सको भर, राष्ट्र बैंकको प्रावधानविरुद्ध उद्योगी सडकमालगायत शीर्षक दिएर पहिलो पृष्ठमा खबर छापेको छ ।

बस दुर्घटनालाई मूल समाचार बनाएको सरकारी मुखपत्र गोरखापत्रले अख्तियारद्वारा दायर मुद्दाको पक्षमा कम फैसला आएको, अनुमति लिएर मात्र कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले निर्देशन दिएकोलगायत समाचार छापेको छ ।

हेरौं आजको पत्रपत्रिकाको फ्रन्टपेज