NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

महत दाजुभाइ नै किन बसे समानुपातिकमा ?

काठमाडौं । कांग्रेसले केही दिन अघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा केही प्रभावशाली नेता पनि परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेता आरजु राणा, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, जीवन परियारसहितका चर्चिच नेता यो सूचीमा अटाएका छन् । तर फरकफरक गुटमा रहेका महत दाजुभाइद्वयले पनि समानुपातिकमा अवसर पाएका छन् ।

डा. रामशरण महत र डा. प्रकाशशरण महत दुवै समानुपातिकतर्फ परेका हुन् । रामशरण डा. शेखर कोइराला समूहका नेता हुन् । प्रकाशशरण सभापति शेरबहादुर देउवा निकटका नेता हुन् ।

फरकफरक गुटमा हुँदाको फाइदा महत दाजुभाइलाई भएको छ । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भए पनि देउवाले प्रकाशशरण महतलाई पार्टी प्रवक्तामा मनोनित गरेका थिए ।

महत २०७४ सालमा काठमाडौं ५ बाट एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए । पोखरेलले २३०२९ मत ल्याउँदा महतले १३१६९ मत मात्रै ल्याएका थिए । महतको हारको अन्तर मात्रै ९८६० मत थियो । यसपटक महतले नुवकोट १ मा उम्मेदवार बन्ने तयारी गरेका थिए ।

नुवाकोट २ मा कांग्रेसकै अर्जुननरसिंह केसी उम्मेदवार बने १ माओवादीलाई छोड्नुपर्ने अवस्था छ । यसैले नुवाकोटमा महतले टिकट पाउँने अवस्था छैन । काठमाडौं ५ मा टिकट पाए पनि महतलाई जित्न सहज नहुने बताइन्छ । यसैले उनले यसपटक समानुपातिक रोजेको बताइन्छ ।

‘उहाँको इच्छा नुवाकोट १ बाट लड्ने हो भने तर २ बाट अर्जुननरसिंह केसी लड्दा १ पनि कांग्रेसले पाउने देखिएन । काठमाडौं ५ मा अघिल्लोपटक उठेर पराजित हुनुभएको थियो’ कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘पाए नुवकोटबाटै लड्ने नभए समानुपातिकमै बसेर सांसद हुने मनस्थिति प्रकाशशरण महतले बनाएको देखिन्छ ।’ बन्द सूची बुझाए पनि प्रत्यक्षमा टिकट पाए उम्मेदवार बन्न पाइने ती नेताको दाबी छ ।

गठबन्धनको बलमा देउवा फेरि ४ मंसिरको चुनावपछि प्रधानमन्त्री हुने दाउमा छन् । फेरि प्रधानमन्त्री हुँदा देउवालाई एकजना विश्वासिला नेता आवश्यकपर्ने देखिन्छ । यसैले पनि देउवाको समेत रोजाइमा प्रकाशरणलाई समानुपातिकबाट सांसद बनाउन खोजेको देखिन्छ । अघिल्लोपटक देउवाले बालकृष्ण खाणलाई समानुपातिकबाट सांसद बनाएका थिए ।

दाइ महत पनि समानुपातिकमा

दाइ महत रामशरण २०७४ सालमा नुवाकोट १ बाट पराजित भएका थिए । माओवादीका हितबहादुर तामाङसँग महत ८५५३ मतान्तरले पराजित भएका थिए । तामाङले ३६४७३ र महतले २७९२० मत प्राप्त गरेका थिए । उमेरजन्य कारणले पनि यसपटक रामशरणले प्रत्यक्षमा धेरै दाबेदारी नगरेको बुझिएको छ । बरु समानुपातिकमै सुरक्षित हुने देखेका हुन् । अर्को चुनावमा भतिजा रमेश महतलाई उम्मेदवार बनाउने गरी महतले यसपटक प्रत्यक्षमा दाबी नगरेको चर्चा पनि गरिन्छ ।

केसी भने प्रत्यक्षमै भिड्ने

नुवाकोट कांग्रेसका महत र केसीको राजनीतिको लागि परिचित छ । कांग्रेसबाट यी दुई परिवार आफैंमा प्रतिस्पर्धी मानिन्छन् । तर महत दाजुभाइले समानुपातिकमा बस्ने तयारी गरेसँगै नेता अर्जुननरसिंह केसी नुवाकोट २ बाट उठ्ने तयारीमा छन् । अघिल्लोपटक केसी एमालेका नारायणप्रसाद खतिवडासँग १०५५७ मतान्तरले पराजित भएका थिए ।