NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते
पोलिसी डाइलग

विदेशी लगानीका लागि नेपालको वातावरण व्यावहारिक बनाउने हो भने…

नेपालमा विदेशी लगानी किन भित्रिएन भन्ने कोणबाट धेरै बहस हुन्छन् । योसँगै चिन्ता पनि उत्तिकै छ । तर, एकपटक हामी आफैंलाई प्रश्न गरौं त, के नेपालको वातावरण विदेशी लगानीको लागि व्यावहारिक छ त ?

यो प्रश्न महत्वपूर्ण छ । किनभने, यही प्रश्नमा हामीले विदेशीलाई नेपालमा लगानीका लागि आकर्षित गर्नका लागि कस्ता तरिका अपनाइरहेका छौं भन्ने कुरा पनि सँगै आउँछ । लगानीको वातावरण तय गरिदिनका लागि हाम्रो सरकारले कस्तो सहयोग गरिरहेको छ भन्ने विषय पनि यही प्रश्नसँगै जोडिन्छ ।

विशेषगरी, सरकारको तर्फबाट नेपालमा पनि विदेशी लगानी भित्र्याउनका लागि नेपाल लगानी बोर्ड भनेर संस्था गठन गरिनु निकै राम्रो पहल हो । तर, त्यो बोर्ड ठूला लगानीकर्ता आकर्षित गर्नका लागि मात्रै भयो । ठूला लगानीसँग जोडिएका विषयले त्यहाँबाट सहायता तथा परामर्श पाउने भए । तर, ठूला लगानीले मात्रै अर्थतन्त्रमा सहयोग पुर्‍याउने होइन । साना लगानीमा पनि विदेशीलाई आकर्षित गर्न सकिन्छ । लगानीका लागि उचित वातावरण बनाउन सकिन्छ ।

हामीजस्ता साना उद्यामीहरू जो कृषि तथा उत्पादनको क्षेत्रमा लागेका छन्, उनीहरू आफ्ना कामका लागि उद्योग मन्त्रालयसँग सहकार्य गर्न परिरहेको हुन्छ । मन्त्रालय चाहिँ अनुगमन तथा नियमनमा बढी केन्द्रित छ भने प्रवद्र्धनात्मक कार्यका लागि उतिसारो सक्रिय छैन । लगानी बोर्डले हामीजस्ता उद्यामीलाई पनि कसरी प्रवद्र्धन गर्न सक्छ भन्नेतिर पनि काम हुनुपर्छ । अहिले हामीजस्ता साना उद्यमीले भोगिरहेको समस्या यही हो ।

अहिले ‘डेभलपमेन्ट फाइनास्निसिङ इन्स्चिट्युसन’ (डिएफआई)का लागि लगानी नेपाल भित्रिरहेको छ । जुन निकै सकारात्मक सन्देश हो । सार्वजनिक निजी साझेदायरी या ‘जोइन्ट भेन्चर’ मा लगानी गर्न चाहनेले डिफआईको सहायता लिन सक्ने धेरै सम्भावना छ । त्यसका लागि भने नेपाल सरकारले पनि केही सहजीकरण गरिदिनुपर्छ । नेपालमा लगानी कसरी ल्याउने भन्ने विषयमा उनीहरूले पनि एक-दुईवटा बाटो पहिल्याइसकेका छन् ।

ठूला लगानीले मात्रै अर्थतन्त्रमा सहयोग पुर्‍याउने होइन । साना लगानीमा पनि विदेशीलाई आकर्षित गर्न सकिन्छ । लगानीका लागि उचित वातावरण बनाउन सकिन्छ 

अहिले उनीहरूले हाइड्रो, सूचना प्रविधि, स्वास्थ्य र कृषिको क्षेत्रलाई मुख्य प्राथामिकतामा राखेका छन् । त्यसमा पनि जलवायु परिवर्तनका समस्यालाई कसरी कम गर्दै लैजाने र कोभिड–१९ को प्रभाव परेका कारण रोजगारी उत्पादनमा बढी केन्द्रित भएका छन् ।

विशेषगरी, आजको दिनमा नेपाल विकसित मुलुकमा उन्मुख हुने लक्ष्यमा कसरी सहयोग गर्ने भन्ने पनि उनीहरूको मुख्य उद्देश्य हो । यो लगानी भित्र्याउका लागि हामीले उनीहरूको नियम कानुन बुझ्न पर्छ । जुन अलि जटिल नै छ । लगानी भित्र्याउने हो भने उनहरूको ‘कम्प्लायन्स’ लाई हामीले पूरा गुर्नुपर्छ र ‘ड्यू डेलिजेन्स प्रोसेस’मा हामी जानुपर्छ । त्यसका लागि हामी निकै पछाडि छौं । सरकारको तर्फ र निजीक्षेत्रको तर्फबाट पनि हामी पछाडि परेका छौं ।

विदेशी लगानी ल्याउनका लागि हाम्रोमा भएको अर्को समस्या हो, लगानी भित्र्याउँदा कुन संयन्त्रबाट पैसा ल्याउने भन्ने स्पष्ट नीतिको अभाव । यसमा राष्ट्र बैंक र वाणिज्य बैंकले नै राम्रो गृहकार्य गर्न जरुरी छ । दुवैको सहकार्यमा राम्रो नीति नियम ल्याउने हो भने लगानी भित्र्याउँदा हामीले भोग्नुपर्ने झन्झट एक वर्षको साटो ६ महिनामा घट्छ कि भन्ने आशा छ ।
सामान्यतया विदेशीहरू नेपालमा लगानी गर्ने उद्देश्यले आउँदा आफ्नो ‘एक्जिट स्ट्राटिजी’ पनि प्रष्ट पारेर आएका हुन्छन् । अर्थात्, उनीहरू नेपालमा लगानी भित्र्याउने उद्देश्यले आउने मात्रै होइन, कतिबेला यहाँबाट बाहिरिने भन्ने विषयमा पनि स्पष्ट हुन्छन् । तर, हाम्रो संयन्त्र यति अस्तव्यस्त र झन्झटिलो छ कि, उताबाट पैसा ल्याएर काम सुरू गर्न नै पाँच वर्ष लागिसक्छ । यस्तो भएपछि विदेशी लगानी भित्र्याउनका लागि आकर्षण बढाउन सकिन्न । उनीहरूको यो उद्देश्य पूरा गर्नका लागि हामीले पनि सहजीकरण गरिदिनुपर्छ ।

यहाँ आइसकेपछि भोलिका दिनमा राम्रो संयन्त्रबाट पैसा लिएर फर्किन सकौं भन्ने उनीहरूको उद्देश्य हुन्छ । यसमा पनि हामीले हाम्रा प्रावधानहरू कसरी मिलाउने भन्नेतिर सोच्नुपर्छ ।

अहिले पुँजी बजारको लहर चलेको छ । सेयर बजार निजी कम्पनीहरू पनि यसमा लगानी गर्नका लागि इच्छुक छन् । हिजोआज बैंक, हाइड्रो र बीमा कम्पनीमा आँखा चिम्लेर लगानी गर्छन् । त्यसको सेयर मूल्य पनि दिन प्रतिदिन बढ्दो छ । तर, उत्पादन, कृषिसँग सम्बद्ध उद्योग भने सेयर मार्केटमा अहिलेसम्म पनि हराइरहेका छन् । उनीहरूलाई पनि प्रोत्साहन गर्ने हो भने यस्ता किसिमका उद्योगहरूले पनि आइपिओमा उपस्थिति जनाएर सार्वजनिक मुद्रा उत्पन्न गर्न सक्छन् ।
अर्कोतर्फ उद्यमशीलतामा महिलालाई प्रोत्साहन गर्ने र उनीहरूको वृत्तिविकासमा ध्यान दिने पक्षमा अब बहसको आवश्यकता छ । मलाई के लाग्छ भने, महिलाहरूको वृत्तिविकास उनीहरूभित्रको उद्यमशीलताबाटै सुरू हुन्छ । मेरो अनुभवले यही बताउँछ । किनभने, जबसम्म उनीहरू आर्थिक रूपमा सबल हुँदैनन्, आफूभित्रको आत्मविश्वास पनि कहिल्यै विकास नहुने रहेछ ।

महिलाहरूले घर परिवारदेखि आफ्नो काममा पन सन्तुलन कायम गर्नुपर्ने हुन्छ । त्यसमा पनि सबैभन्दा महत्वपूर्ण भूमिका अर्थ हुन्छ । जबसम्म आफ्नो हातमा पैसा चलाउन सक्ने क्षमता र सिप हुँदैन तबसम्म कोही महिला पूर्ण हुँदैनन् ।

उनीहरूमा आर्थिक क्षमता अभिवृद्धिका लागि मुख्य कुरा त शिक्षा नै हो । शिक्षालार्ई महत्व दिनैपर्छ र शिक्षा पनि सीप विकासमा केन्द्रित हुनुपर्छ । म आफैं पनि गाउँ गाउँमा महिलाहरूको सीप विकासका लागि काम गरिरहेकी छु । यो अवधिमा मैले के देखें भने, गाउँका महिलाहरूसँग पैसा छ तर त्यो पैसालाई परिचालन गर्न सक्ने क्षमता र ज्ञान नै भएन । कहिलेकाहीँ त्यो ज्ञान नहुँदा पैसा गलत बाटोमा जान सक्ने खतरा पनि उत्तिकै रहेछ । गाउँ गाउँमा हेर्ने हो भने महिलाहरूलाई आफ्नो हातमा भएको पैसाको सदुपयोग गर्न आउँदैन । उनीहरूलाई त्यसको लागि सीप सिकाउने कोही पनि छैनन् ।

शिक्षाले जीवनमा ठूलो परिवर्तन ल्याउने कुरामा दुई मत छैन । जबसम्म हामी के गर्ने र के नगर्ने भन्नेबारे सचेत हुँदैनौं तबसम्म वृत्तिविकास हुन गाह्रो छ । कति ठाउँमा अझै पनि छोरालाई राम्रो विद्यालय पठाउने र छोरीलाई नपठाउने प्रवृत्ति छ । यसलाई रोक्नका लागि छात्रालाई विद्यालयहरूले छात्रावृत्ति दिन सक्छन् ।

हाम्रो समाजमा भएको दाइजो व्यवस्थाले धेरै समस्या सिर्जना गरिरहेको छ । महिलालाई पनि सम्पत्तिमाथिको हक अधिकारको सुनिश्चितता हुनपर्छ । किनकि, अहिले जुनसुकै व्यवसाय गर्नका लागि ‘कोल्याटरल’ चाहिन्छ जसमा छोरीको अधिकार हुँदैन । त्यसैले पुँजीको स्वामित्वमा महिलाहरूको पनि पहुँच आवश्यक छ । अर्को महत्वपूर्ण विषय हो, महिला उद्यमीहरूप्रतिको सम्मान । अहिलेसम्म पनि मान्छेले जति कुरा गरे पनि कोही महिला माथि पुग्दा खुट्टा तान्ने र तथानाम भन्ने प्रवृत्ति अझै पनि छ । महिला उद्यमीहरूलाई आदर, सत्कार र सम्मान गर्नुपर्छ ।

(नेपालवाचको टेलिभिजन प्रस्तुति पोलिसी डायलग–२०२२ को १५ औं श्रृंखलामा उद्यमी मौसमी श्रेष्ठले राख्नुभएकाे भनाइको सम्पादित अंश । नेपालवाचको यो कार्यक्रम हरेक बुधबार राति ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ ।)

हेरौं यसका अहिलेसम्मका श्रृंखला :