NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस नेता केसी भन्छन्– हामी चुनावबाट अलग्गिनुपर्ने पनि हुनसक्छ

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर नेता अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूचीमा मनपरी नाम राखेको आरोप लगाएका छन् । छलफल गरेर बन्दसूची पठाउने बताएका देउवाले अन्तिममा त्यसो नगरेको उनको भनाइ छ ।

नेता केसीले यसबारे पार्टीभित्र छलफल गर्न आफूहरू प्रतीक्षारत रहेको बताए ।

‘पार्टी सभापतिज्यूले बन्दसूची सच्याउनुपर्छ । हामी त्यसको प्रतीक्षामा छौं।’ उनले भने ।

आफूहरूको चासो सम्बोधन नगरी संस्थापन पक्ष एकलौटी अघि बढे निर्वाचनबाटै अलग्गिनेसम्मका निर्णय हुनसक्ने चेतावनी उनले दिए ।

‘एकलौटी किसिमले अघि बढे तपाईंहरू नै गर्नुस् भनेर अलग्गिनुपर्ने स्थिति पनि आउन सक्छ तर त्यस्तो सोचिसकेका छैनौं,’ उनले भने ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीलाई लिएर नेपाली कांग्रेसमा असन्तुष्टि चुलिएको छ । संस्थापन पक्षले एकलौटी गरेकाले त्यसमा संशोधन गरेर आफूपक्षीय ४० प्रतिशत नेता समेट्नुपर्ने शेखर कोइराला पक्षको माग छ । यो समूहले शनिबार भेला गरेर पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली बदल्न चेतावनी दिएको थियो ।