NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पितृ खुसी पार्न भन्दै घरमै गएर कुटीकुटी छोरीको हत्या, आमा मरणासन्न

सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घटना आइतबारको हो । सोह्र श्राद्धको अन्तिम दिन माझी समुदायमा पितृ तार्ने पर्व नै मनाउने प्रचलन छ । जसअन्तर्गत दुई दिनअघि पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने गर्छन् । यसरी बोलाउँदा परिवारको कुनै एक सदस्यको शरीरमा पितृ पस्ने (काम छुट्ने) विश्वास उनीहरूमा छ । शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्छ, घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसेमै घाट (नदी)मा लगेर विधिपूर्वक पितृ विसर्जन गर्ने चलन छ । नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाडे पितृ खुसी भएको विश्वास गरिन्छ । यससँगै उनीहरूको सोह्र श्राद्ध सकिन्छ ।

तर, यसपटक भने विगत वर्षजस्तो भएन । बगाउँदासमेत काम्ने व्यक्तिलाई ‘पितृले छाडेन’ । यसरी काम्न नछोड्नुुमा दोष बिबी माझीको भएको निष्कर्ष समुदायका केही व्यक्तिले निकाले । सबैजना काम्दै बिबी र उनकी आमा सुनमाया माझी बसेको घरमा पुुगे । चामलको अक्षताले आँखामा हान्दै बिबीलाई अनुहार तथा टाउकोमा मुड्कीले कुटपिट गर्न थाले । उनी मरणासन्न भइन । त्यही समयमा एउटा बिरालो बिबीको घरमा आइपुुग्यो । माझी युवायुवतीले बिरालो समाते र त्यहीँ काटेर आगोमा पोलिदिए । निर्घात कुटपिट गरिएकी बिबीको त्यतिवेलासम्म मृत्यु भइसकेको थियो । उल्टै उनीहरूले बिबीलाई कथित ‘बोक्सी’ करार गरे । र, बिबीको शरीरबाट बिरालो उत्रिएकाले त्यसलाई काटेपछि उनी पनि मरेको निष्कर्ष निकाले ।

छोरीको हत्यापछि त्यही समूहले आमा सुनमायालाई पनि घरबाट निकालेर कुटपिट गर्न थाले । अचेत अवस्थामा पुगेकी उनको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए । उपचारमा संलग्न चिकित्सक डा. केशव धामीले वृद्धाको अवस्थामा केही सुधार आएको बताए । ‘आज (सोमबार) बिहानसम्म उहाँ (वृद्धा)को अवस्था चिन्ताजनक थियो । अहिले (साँझ) स्वास्थ्य खतरामुक्त देखिएको छ,’ उनले भने, ‘उहाँ डिप्रेसनमा देखिएकाले हामीले त्यहीअनुसार उपचार गरेका छौँ । केही दिन चिकित्सककै निगरानीमा राख्नुपर्छ ।’

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात महिलासहित २३ जनालाई पक्राउ गरेको छ । स्थानीयले खबर गरेपछि घटनाबारे जानकारी पाएको प्रहरीले १८ जनालाई आइतबार घटनास्थलबाटै र थप पाँचजनालाई सोमबार पक्राउ गरेको हो । सबैलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरूले कुटपिटबाट बिबीको ज्यान गएको स्वीकार गरेका छन् । तर, आफूहरूले नभई पितृ खुसी नभएकाले पितृले नै आएर कुुटपिट गरेको मारेको उनीहरूको प्रारम्भिक बयान छ । ‘२३ जना हाम्रो हिरासतमा छन् । उनीहरूले कुटपिटबाट बिबीको ज्यान गएको स्विकारेका छन्, तर आफूहरूले नभई पितृ खुसी नभएकाले पितृ नै आएर कुटेर मारेको प्रारम्भिक बयान दिएका छन्,’ डिएसपी थिङले भने, ‘हामीले यो घटनालाई गम्भीर तरिकाले हेरेका छौँ । अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले नै भन्न सकिन्न ।’

बिबी वृद्धा आमा पालेर बसेकी थिइन् । परिवारमा अन्य कुनै सदस्य छैनन् । धार्मिक प्रचलनका नाममा व्यक्तिको ज्यान लिनु जघन्य अपराध भएकाले प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको माग छ । ‘सामाजिक र सांस्कृतिक नाममा कुनै व्यक्तिको हत्या गर्नु निन्दनीय छ । सोह्र श्राद्धको नाममा व्यक्तिलाई कुटीकुटी ज्यान लिएको देखिएको छ । यसबाट सिंगो गाउँपालिका नै स्तब्ध भएको छ । माझी समुदायका युवायुवतीले कुनै प्रलोभनमा परेर जानीजानी पितृको नाममा महिलाको ज्यान लिएको हुन सक्ने देखिन्छ,’ उनले भने, ‘शरीरमा पितृ चढ्यो भन्दै युवायुवती महिला बसेको ठाउँमा पुुगेर हातखुट्टा समाई मुड्कीले मुखमा हिर्काउने र चामलले आँखामा हान्ने गरेर क्रूर तरिकाले हत्या गरेको देखिन्छ । हत्या भएकी महिलाको घरमा कोही–कसैलाई पनि जान नदिएर युवाहरूले जुन हर्कत देखाए, यस विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान अघि बढाउनुपर्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।