NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनु पर्छ’

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताएकी छिन् ।

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको आज आयोजित उद्घाटन कार्यक्रममा उनले सहकारीले कृषिमा लगानी गरी उत्पादन बढाई आबद्ध सदस्यलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताइन ।

सहकारी अर्थतन्त्रको बलियो खम्बा भएको चर्चा गर्दै उनले प्रदेश सरकारले जनताको माग र आवश्यकताका आधारमा सहकारीमा लगानी गरिएको बताइन् । स्थानीय सरकारसँग सहकार्य गरी सहकारीको उत्थानका लागि कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भनिन् , ‘सहकारीमार्फत आर्थिक रुपमा विपन्न समुदायलाई व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गरिएका छन् ।’

सहकारीमार्फत रोजगारी सृजना गरी जानुपर्छ भन्ने सरकारको लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
प्राकृतिक प्रकोप जानकारी दिएर आउँदैन’, उनले भनिन्, ‘त्यसैले सहकारीबाट कर्जा लिई व्यावसायिक कृषिमा संलग्न कृषकले अनिर्वाय रुपमा कृषि बीमा गराउनुपर्छ, बीमा गरिए सम्भावित जोखिमबाट बच्न सकिन्छ ।’

बीउ उत्पादनमा सुदूरपश्चिम प्रदेश देशमै दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले उत्पादित बीउ बाह्य जिल्लामा निर्यात भइरहेको जानकारी दिइन् । सहकारीले बीउ उत्पादन र बजारमा पु-याउनका लागि अहम् भूमिका खेलेको उनकाे भनाइ छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले सहकारीले अग्रानिक तरकारी उत्पादनमा जोड दिई बेलडाँडीलाई कृषि पर्यटन गाउँका रुपमा विकास गरिनुपर्ने बताए ।

नगरप्रमुख रणबहादुर महराले कृषि उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाले कृषि विज्ञ नियुक्त गरी सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउनका लागि छलफल गरिरहेको बताए । (रासस)