NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फ्राइडे फिल्म : हलमा ‘बाबरी’

काठमाडौं । फ्राइडे फिल्म अन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिका रहेको छ ।

उनले विजेता उर्फ बाबरी, धीरज मगरले विक्रान्त र धीरज नाडकरले रोनिसको भूमिका निर्वाह गरेका छन्। पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायाङ्कन गरिएको बाबरीमा युवापुस्ताको प्रेम देखाइएको छ । विजेता आफ्नी साथीको विवाह अगाडिको पार्टीमा गान्तोक पुग्दा रोनिससँग भेट हुन्छ । दुवैबीच सामीप्यता भने नेपालमा बढ्छ ।

रोनिस नेपाल आएर विजेतालाई विवाहको प्रस्ताव गर्छन । पेसाले पाइलट रोनिस सिक्किम फर्किएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को इन्ट्री हुन्छ । विजेता र विक्रान्त बच्चा देखिकै साथी हुन्छन् ।

विक्रान्तले विजेतालाई माया गर्छ । यद्यपि विजेता भने रोनिसको पर्खाइमा हुन्छिन् । घरबाट विवाहको दबाब आएपछि विक्रान्तलाई लिएर रोनिसलाई खोज्न विजेता सिक्किम निस्किन्छिन् । आफूले माया गरेको विजेता अरु कसैको पर्खाइमा रहेको थाहा पाएपछि हुने अन्तरद्वन्द्व नै कथासार हो ।

विजेताले विक्रान्त वा रोनिस कसलाई रोज्छिन् ? जिद्दी विक्रान्तले विजेतालाई सहजै छाड्लान ? विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिसमध्ये कसलाई छान्छिन् यी तथ्य थाहापाउन हलसम्म पुग्नुपर्छ ।

डेब्यु अभिनेता धीरज नाडकर कलाकार तृप्ती नाडकरको छोरा हुन्। ‘मेरो लागि यो खास छ । आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु । मैले इन्डो–नेपाली रोनिसलाई पर्दामा सक्दो जीवन्त बनाउने प्रयास गरेको छु’, अभिनेता नाडकरले भने ।

शीर्ष भूमिका निर्वाह गरेकी अदितीले विजेतामार्फत अहिलेको युवतीलाई प्रतिनिधित्व गरेको बताइन् । उनी भन्छिन् ‘छोरी विवाहको लागि मात्र नभई जीवनयापनमा सक्षम रहेको सन्देश मेरो पात्रमार्फत प्रवाह हुन्छ । हाम्रो सक्षमतासँगै शालीनतालाई पर्दामा देखाएकी छु ।’

अभिनेता धीरज मगरले निर्वाह गरेको ‘सानो राजा साहेब’ को पात्र पुर्व युवराज पारस शाहसँग केही मिल्दो छ । ‘मैले केही गुण उहाँको अपनाएको छु ,लेटाङ पुगेर छायाङ्कन अगाडि स्थानीय युवालाई समेत बुझेर चरित्रमा ल्याएको छु’, अभिनेता मगरले भने । बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठकाे पनि फिल्ममा अभिनय रहेकाे छ ।