NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निर्वाचन क्षेत्रको दोधारमा प्रचण्ड : चितवन बस्लान् कि गोरखा पस्लान् ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छाड्ने हल्लाले गठबन्धन भित्र खैलाबैला मच्चिएको छ । प्रचण्डले चितवन ३ छाडेर गोरखा २ बाट निर्वाचनमा उठ्न लागेको समाचार बाहिरिएपछि राजनीतिक तरंग उत्पन्न भएको हो ।

चितवनका पाँचदलीय गठबन्धन दलका शीर्ष नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै चितवन नछाड्न सल्लाह दिएका छन् । मंगलबार कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले चितवन छाड्ने निर्णय पुनर्विचार गरी अभिभावकीय भूमिका निर्वाह गर्न संयुक्त अपिल जारी गरिसकेका छन् ।

चितवनका कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई उनकै निवास खुमलटारमा भेट गरी साविक निर्वाचन क्षेत्र परिवर्तन नगर्न दबाब दिएका छन् ।
भेटको क्रममा कांग्रेससहितका नेताहरूले आगामी निर्वाचनमा प्रचण्डलाई चितवनबाट अत्याधिक बहुमतले जिताउन आफूहरू प्रतिवद्ध रहेको बताएका थिए ।

‘चितवन छाड्ने विषयमा पुनर्विचन गर्न अध्यक्षज्यूलाई हामीले सुझाव दिएका छौं । गठबन्धन भत्काएर लोकतन्त्र र व्यवस्था सिध्याउनका लागि देशी विदेशी तत्वहरू सक्रिय भएका छन्’, सहभागी एक नेताले भने, ‘गठबन्धनलाई अझै बलियो बनाई लोकतन्त्र र व्यवस्थाको रक्षा गर्नका लागि प्रचण्डको भूमिका आवश्यक छ । हामीलाई विश्वास छ चितवन छाडेर उहाँ अन्यन्त्र जानुहुन्न ।’

त्यस्तै गोरखाका माओवादी नेता तथा कार्यकर्ताहरूलेसमेत प्रचण्डलाई आगामी निर्वाचन गोरखाबाट उठ्न दबबा दिएका छन् । माओवादी युद्धमा गोरखाको पनि योगदान उच्च रहेको भन्दै उनीहरूले प्रचण्ड गोरखा आए त्यहाँको विकास र समृद्धिको लागि महत्वपूर्ण योगदान रहने सुझाव दिएका छन् । गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका हीतराज पाण्डेले गोरखाबाट उम्मेदवारी दिन प्रचण्डलाई सुझाव दिएको बताएका छन् ।

‘अध्यक्ष गोरखाबाट चुनावमा उठ्नु पार्टी र गोरखाका लागि महत्वपूर्ण विषय हो । हामीले उहाँलाई भेटेर सुझाव दिएका छौं’, पाण्डेले भने, ‘हामीले राखेको सुझावमा अध्यक्षज्यू सकारात्मक हुनुहुन्छ । तर उठ्ने÷नउठ्नेबारे अहिलेसम्म केही भन्नुभएको छैन ।’

अहिलेसम्म तीनवटा निर्वाचनमा भाग लिएका उनले २०७० मा काठमाडौं १० बाहेक अन्य क्षेत्रमा विजयी भएका छन् । योपटक चितवन छाडेमा उनको यो चौंथोपटक निर्वाचन क्षेत्र परिवर्तन हुनेछ । गोरखा र चितवनको राजनीतिक तानातानमा परेका उनी आगामी निर्वाचनमा कताबाट उम्मेदवारी दिन्छन् भन्ने सर्वत्र चासो देखिएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय असोज २३ लाई तोकेको छ ।

केपी ओली नेतृत्वको सरकार गिराउनमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड वर्तमान गठबन्धन सरकारका प्रमुख योजनाकार हुन् । सरकारको नेतृत्व शेरबहादुर देउवाले लिए पनि अहिले सत्ताको चाबी उनकै हातमा छ । सरकारले मंसिर ४ मा घोषणा गरेको प्रतिनिधिसभा निर्वाचबाट माओवादीलाई दोस्रो दल बनाउने रणनीति प्रचण्डको छ । जसलाई मूर्तरूप दिन उनले अहिलेदेखि नै राजनीति गोटी चालिरहेका छन् ।

सोमबार पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेपछि प्रचण्ड गोरखा जान लागेको हल्ला चलेको हो । यद्यपि यो विषयमा प्रचण्ड र उनका सचिवालयले अहिलेसम्म मुख खोलेका छैन । भागबण्डाको विषयलाई लिएर कांग्रेसभित्र शेखर पक्षले असहयोग गर्ने निर्णय गरेपछि प्रचण्ड झस्किएका हुन् । अघिल्लो पटको निर्वाचनमा वामपन्थी गठबन्धनको सहयोगमा उनले चितवन ३ बाट निर्वाचन जितेका थिए । योपटक उनी कांग्रेससहितको गठबन्धनको सहयोगमा चुनावमा भाग लिने तयारी गरेका हुन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा चितवन ३ मा एमाले बलियो देखिन्छ । २९ हजार ७७१ मत ल्याइ एमाले पहिलो दल भएको छ । कांग्रेस २९ हजार ३४३ मतसहित दोस्रो दल रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको माओवादीले १० हजार ९४० मत रहेको छ । जित र हारमा निर्णायक शक्ति मानिएको राप्रपाले ६ हजार १९८ मत पाएको छ । एमालेको विद्रोही शक्ति नेकपा एसको ५ हजार ३७ मत रहेको छ । प्रचण्डलाई यसपालि जित्न कांग्रेसको मत अनिवार्य रहेको छ । स्थानीय तह निर्वाचनमा छोरी रेनु दाहालविरुद्ध कांग्रेसका जिल्ला नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि दाहालको पाक्षमा मत माग्न प्रधानमन्त्री शेरबहादुर देउवा नै चितवन पुगेका थिए । कांग्रेसभित्रै भागबण्डालाई लिएर खटपट आएपछि शसंकित भएका प्रचण्डले चितवनका जित्ने सुनिश्चित नभएकाले निर्वाचन क्षेत्र छाड्न लागेको अनुमान गरिएको छ ।
अस्थिर प्रचण्डको अस्थिर निर्वाचन क्षेत्र

अघिल्लो निर्वाचनमा जस्तै योपटक पनि प्रचण्ड जता ढल्कियो, त्यतै बहुमत पुग्ने देखिन्छ । त्यसैले उनी आफूअनुकुल रणनीति बनाउन व्यस्त छन् । राजनीतिमा जुनसुकै बेला जस्तोसुकै जोखिम मोल्न सक्ने प्रचण्ड स्वयंका लागि आगामी निर्वाचन निकै चुनौतीपूर्ण हुने देखिएको छ । प्रचण्ड निर्णय क्षमतामा जति गतिशील छन्, त्यति नै निर्वाचन क्षेत्र परिवर्तन भएका छन् । ०४५ सालदेखि निरन्तर पार्टी नेतृत्वमा रहेर विघटन र गठनमा रेकर्ड राखेका उनले निर्वाचन क्षेत्र परिवर्तनमा पनि रेकर्ड राख्दै छन् । राष्ट्रिय राजनीतिमा प्रचण्डलाई पर्यटक उम्मेदवारको रूपमा चित्रण गरिन्छ । रोचक कुरा, गणतन्त्र स्थापनापछिको १५ वर्षमा भएका तीन निर्वाचन (२ पटक संविधानसभा र एकपटक प्रतिनिधिसभा) मा उनी एउटै निर्वाचन क्षेत्रमा दोहोरिएका छैनन् ।

२०७४ को निर्वाचनमा चितवन ३ बाट प्रचण्डले ४८ हजार २७६ मत ल्याई जित निकालेका थिए । राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । उनको मतान्तर ९ हजार ३३८ थियो । त्यतिबेला प्रचण्ड एमालेसँग तालमेल गरेर चुनावमा होमिएका थिए भने पाण्डेलाई कांग्रेसको साथ थियो ।
शान्ति प्रक्रियापछि ०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलोपटक उनले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । विद्रोही सेना विघटन नगरी निर्वाचनमा भाग लिएको माओवादीले अनपेक्षित जनसमर्थन हासिल गरेको थियो । प्रचण्डकै चलाखीका कारण ६०१ सिटमा २२९ माओवादीको पोल्टामा परेको थियो । त्यतिबेला रोल्पा २ र काठमाडौं १० बाट निर्वाचनमा भाग लिएका उनले दुवै क्षेत्रबाट अत्यधिक मतले जितेका थिए ।

दुईमध्ये एक निर्वाचन क्षेत्र रोज्नुपर्ने कानूनी बाध्यताका कारण जनयुद्धको उदगम रोल्पा छाडेका प्रचण्ड लोकतान्त्रिक गणतन्त्रका पहिलो शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए । तर उनको कार्यकाल उनकै भाषामा झिलिमिलीमै बित्यो । जनअपेक्षा अनुसार काम नभएकोमा जनता निराश देखिए । तत्कालीन प्रधानसेनापति रुकमांगद कटुवाल प्रकरणमा असफल भएपछि ९ महिना नपुग्दै पदबाट राजीनामा दिन उनी बाध्य भए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिराहा ५ बाट निर्वाचनमा भाग लिए । यसमध्ये काठमाडौं १० मा उनले शर्मनाक हार बेहोरे । सिराहा–५ मा कडा प्रतिस्पर्धाबीच उनी झिनो मतान्तरले जित निकाल्न सफल भए । त्यहाँ १५ हजार २४४ मतका साथ प्रचण्ड विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले १४ हजार ३२३ मत पाएका थिए ।

यो निर्वाचनमा प्रचण्डको मात्र नभएर उनको पार्टीकै चिलबिल भएको थियो । देशभरबाट मात्रै २५ सिटमा मात्र विजयी भएको थियो । एमालेले बाकस साटेर प्रचण्डले निर्वाचन जितेको अरोप लगाउँदै आएको छ । देशभर माओवादीको शर्मनाक हारपछि अत्तालिएका प्रचण्डले त्यसपछि कहिले एमाले त कहिले कांग्रेसँग मिलेर आफ्नो सिट सुरक्षित गर्दै आएका छन् ।

निर्वाचन परिणामले झस्किएका प्रचण्ड ०७४ को आमनिर्वाचनमा एमालेसँग कुम जोड्न पुगे । चुनावी तालमेलसहित ६१ र ३९ को भागबण्डा गरेका प्रचण्डले आफ्नै गृह जिल्ला चितवन ३ रोजे । प्रचण्डका लागि भोट माग्नका लागि एमाले अध्यक्ष ओलीसमेत पटक–पटक चितवन पुगेका थिए । ०७४ मै भएको स्थानीय तह निर्वाचनमा कांग्रेससँग मिलेर उनले छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयर जिताउन सफल भएका थिए ।

जनयुद्धको योद्धाहरूलाई पाखा लगाएर चरम परिवारवादमा फसेको आरोप खेप्दै आएका प्रचण्ड एमालेको सहयोगमा अत्यधिक मतले विजयी भए । तर आलोपालो सरकार र पार्टी सञ्चालनको विषयमा ओलीसँग विवाद हुँदा ओली सरकार ढल्यो । उनले माधव नेपालको सहयोगमा देउवा नेतृत्वमा सरकार बनाए ।

प्रचण्डको कदमबाट चिडिएका ओलीले योपटक चितवनबाट उनलाई हराउने रणनीति बनाएका छन् । स्थानीय तह निर्वाचनमा गठबन्धनकै सहयोगमा छोरी रेनुलाईलाई पुनः मेयरमा जिताउन सफल भएका उनी अहिले आफ्नो सिट सुरक्षित गर्ने रणनीतिमा छन् । राजनीतिमा अस्थिर स्वभावका प्रचण्ड आगामी निर्वाचन कताबाट उठ्छन् भन्नेमा सबैको चासो छ । ओली जसरी पनि प्रचण्डलाई चुनाव हराएर बदला लिने दाउमा देखिन्छन् । देउवा प्रचण्डले हारे गठबन्धन नै धरापमा पर्नेमा चिन्तित देखिन्छन् ।

पहिलेदेखि नै गिजोलिएको चितवनको राजनीतिले प्रचण्डलाई हराएर बदला लिन स्वतन्त्रदेखि पार्टीका नेताहरूसमेत दौडधुपमा लागेका छन् । तर आगामी निर्वाचन क्षेत्रबारे प्रचण्ड र उनको पार्टीले अहिलेसम्म मुख खोलेको छैन । आगामी निर्वाचनमा चितवन ३ प्रचण्डका लागि सुरक्षित नभएको राजनीतिक विश्लेषकको भनाइ छ ।

चितवन सुरक्षित नभए अन्य क्षेत्रबाट निर्वाचनमा भाग लिन उनी निकट नेताहरूले सुझाव दिएका छन् । संविधान अनुसार एक उम्मेदवारले एक निर्वाचन क्षेत्रमा मात्र भाग लिन पाउने व्यवस्था छ । चितवन भरतपुरमा आफ्नै छोरी मेयरमा निर्वाचित भए पनि प्रचण्डमाथि हेर्ने दृष्टिकोण राम्रो देखिँदैन । समानुपातिकमा बस्दा त्यसको नकारात्मक सन्देश जाने हुँदा प्रचण्ड प्रत्यक्षमै उठ्ने मनस्थितिमा छन् ।

‘अध्यक्ष कहाँबाट उठ्नुहुन्छ भन्नेबारे पार्टीले निर्णय गर्छ । अनौपचारिक छलफलमा चितवनबाट नै उहाँले उम्मेदवारी दिने मनस्थिति बनाउनुभएको छ,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने,

चितवन लगायत उनी गोरखा, सिराहाबाट पनि सर्वसम्मत सिफारिस भएका छन् । गोरखा क्षेत्र नं. १ का निर्वतमान सांसद हरिप्रसाद अधिकारीले प्रचण्डलाई भेटेरै आफ्नो क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन् । जनयुद्धको आधार क्षेत्रसमेत रहेको गोरखामा प्रचण्डजस्ता राष्ट्रिय राजनीतिका प्रभावशाली शिखर व्यक्तित्वलाई ल्याउन पाए गोरखाको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

‘प्रचण्ड जहाँबाट चुनावमा भाग लिए पनि जित्नुहुन्छ । आगामी निर्वाचनमा गोरखा १ बाट उठ्न मैले अनौपचारिक रूपमा सुझाव दिएको छु,’ उनले भने, ‘मेरो प्रस्तावमा उहाँ सकारात्मक हुनुहुन्छ । कुन निर्वाचन क्षेत्रबाट उठ्ने भन्नेबारे पछि पार्टीले निर्णय गर्ला ।’

यस्तो छ गोरखामा माओवादीको अवस्था

११ वटा स्थानीय तह रहेको गोरखामा स्थानीय तह निर्वाचनमा माओवादीले सबैभन्दा बढी ९ पालिका प्रमख जितेको थियो । जनयुद्धको उद्गम थलो गोरखालाई मान्दै आएको माओवादी २०७० को निर्वाचनसम्म आइपुग्दा निकै कमजोर थियो । २०७४ को निर्वाचनमा २ पालिकामा चित्त बुझाएको माओवादी योपटक नतिजा उल्लटाएको हो । अघिल्लो निर्वाचनमा ९ पालिका जितेको कांग्रेस योपटक २ पालिकामा खुम्चियो । एमाले र जसपा वडामामात्र सिमित भयो ।
स्थानीय तह निर्वाचनमा गोरखा २ मा माओवादी २२ हजार २५० मतसहित पहिलो दल भएको थियो । कांग्रेस २१ हजार १३६ सहित दोस्रो भयो । यसैगरी एमालेको ७ हजार ९२६, जसपा ७ हजार ५०४ र राप्रपाको ८७८ मत रहेको छ ।

सत्ता सन्तुलनमा खेल्न सिपालु प्रचण्ड एकपटक प्रधानमन्त्री बन्ने तीव्र चाहनामा छन् । यसैले चुनाव जित्नैपर्ने भएकोले केहीले उनलाई माओवादीको आधारइलाका रहेको गोरखामा चुनावमा भाग लिन सुझाव दिएका हुन् । योपटक परम्परागत पार्टीका शीर्ष नेताहरूलाई स्वतन्त्र उम्मेदवारहरूले समेत चुनौती दिएकाले अगामी निर्वाचन थप रोचक बन्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेतामध्ये एकलाई आफूले हराउने दाबी गरेका छन् । जनमत बटुल्नका लािग देश दौडाहामा निस्केका लामिछानेले आगामी निर्वाचन चितवन ३ बाट उम्मेदवारी दिने संकेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिने भएका छन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उन्नत लोकतन्त्र पार्टीका संयोजक स्वागत नेपालले उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौंमा त स्वतन्त्र उम्मेदवारी दिनेको लहर नै चलेको छ ।