NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमालेले यसरी दिएको रहेछ एउटै क्षेत्रमा दुई जनालाई टिकट

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उत्साहजनक रुपमा मनोनयन दर्ता गराए । योपटक पनि सत्ता गठबन्धन भर्सेस एमालेबीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनको तुलनामा योपटक स्वतन्त्र उम्मेदवारी दिनेको पनि उत्साहजनक उपस्थिति देखिएको छ ।

उम्मेदवारी मनोनयन दर्ताको विषयमा यसपटक पनि रोचक दृष्य देखिएको छ । सुरूदेखि गठबन्धन दललाई साथ दिएको जसपाले अन्तिम समयमा एमालेसँग चुनावी तालमेल गरी उम्मेदवारी दर्ता गर्यो । गठबन्धन र सरकारबाट उसले अहिलेसम्म बाहिरिएको घोषणा गरेको छैन । एमालेसँग चुनावी तालमेल गर्न वार्ता समिति नै बनाएको दल लोसपाले अन्ततः गठबन्धनसँग मिलेर उम्मेदवारी दिएको छ ।

एमालेका प्रभावशाली नेता घनश्याम भुसालले टिकट नपाएपछि पार्टी नै परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिए । एमालेकै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले टिकट नदिँदा मकवानपुर १ बाट राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई ओलीले टिकट दिए । रौतहट ३ का निवर्तमान सांसद प्रभु साहले एमालेले दिएको टिकट लत्याउँदै स्वतन्त्र उम्मेदवारी दिए ।

यसैगरी रुपन्देही ५ मा एमालेबाट दुई जना उम्मेदवारले मनोनयन दर्ता गराए । सामान्यतया मातहतका कमिटीबाट सिफारिस भएर आएका उम्मेदवार मध्येबाट एकजनालाई टिकट दिने र मनोनयन दर्ता गर्ने प्रचलन रहेको छ । तर रुपान्देही ५ मा एमालेको हकमा फरक र रोचक दृश्य देखियो । एमालेको तर्फबाट तिलोत्तमा नगरपालिकाका पूर्वमेयरसमेत रहेका वाशुदेव घिमिरेले पार्टीले दिएको आधिकारिक टिकटसहित उम्मेदवारी दर्ता गराए । आइतबार दिउँसो ३ बजेर ३० मिनेट जाँदा दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका थिए ।

घिमिरेले मनोनयन दर्ता गराएको एक घण्टा १५ मिनेट ढिला गरी एमालेका अर्का उम्मेदवार खिमलाल भट्टराई दलबलसहित अधिकृतको कार्ययल पुगेर उम्मेदवारी दर्ता गराए । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतकसमेत रहेका उनले दिउँसो ४ बजेर १५ मिनेटमा आफ्नो उम्मेदवारी दर्ता गराए । उनी अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन् ।

एउटै पार्टीबाट घिमिरे र भट्टराईले पार्टीको आधिकारिक टिकटसहित उम्मेदवारी दिएपछि आयोगका अधिकारीले दुवै उम्मेदवारको आवेदन दर्ता गरी निस्सा दियो ।

एकै पदका लागि एउटै पार्टीबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि एमालेमा खैलाबैला मच्चियो । रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार को हो भन्ने विषयमाथि प्रश्न उठेपछि निर्वाचन अधिकृत चिन्तामणि शर्माले घिमिरे नै आधिकारिक उम्मेदवार भएको बताएका छन् । निर्वाचन निर्देशिका २०७९ मा यस विवादसम्बन्धी विषय प्रष्ट रूपमा उल्लेख रहेको शर्माले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १९ को उपदफा ९ मा दलले उम्मेदवालाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोनयनपत्र पेश भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने व्यक्तिको मनोनयन कायम हुने उल्लेख छ । अहिले यी दुई उम्मेदवारको आधिकारिताको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । एक जिम्मेवार पार्टीभित्र देखिएको बेथितिले नेतृत्वमाथि नै गम्भीर प्रश्न उठेको छ ।

गल्ति कसको ?

भदौ ११ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि एक महिलासहित ३ उम्मेदवाको नाम भदौ २२ भित्र सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार जिल्ला कमिटीले रुपन्देही ५ बाट भट्टराई र घिमिरेको नाम सिफारिस गरी पठाएको थियो । टिकट पाउनका लागि यी दुवैले नेतृत्वसँग तीव्र लबिङ गरेका थिए । अन्ततः घिमिरेले टिकट पाए ।

यता राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकसमेत रहेका भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचन लड्नकै लागि पदबाट राजिनामा दिएका थिए । घिमिरेले टिकट पाउँदा उनी काठमाडौंमै थिए । निर्वाचन लड्नकै लागि राजीनामा दिएका उनले आफ्नो दाबी छोडेनन् । उम्मेदवार दर्ता गर्ने दिन २३ गते मात्र पार्टीले घिमिरेको टिकट खोसी भट्टराईलाई दियो । पार्टीको आधिकारिक उम्मेदवार भट्टराई भएको पत्रसहित उनी उम्मेदवारी दर्ता गर्न सोही दिन उनी आफ्नो निर्वाचन क्षेत्र गएका थिए ।

अध्यक्ष केपी ओलीले एमालेको आधिकारिक उम्मेदवार भट्टराई रहेको पत्र दिएका थिए । तर आयोगले निर्वाचन निर्देशिकाको आधारमा घिमिरेलाई आधिकारिक उम्मेदवारको मान्यता दिएपछि विवाद सिर्जना भएको छ । नेतृत्वको कमजोरीका कारण भट्टराईको राष्ट्रियसभा सदस्य पदसमेत गुमेको छ । एमालेले राष्ट्रियसभामा थप एक सिट गुमाएको छ । अन्तिम नामावलीमा भट्टराई आधिकारिक उम्मेदवार कायम नभए उम्मेदवार र राष्ट्रिय सभाको पद पनि जाने भएको छ ।

पार्टीको आधिकारिक उम्मेदवारको विषयमा देखिएको विवादबारे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश कमिटी र केन्द्रबीच समन्वय हुन नसक्दा समस्या आएको स्वीकार गरेका छन् ।

‘टिकट वितरणमा हाम्रो कमजोरी देखिएको छ । यस विषयमा हामी छलफल गर्दैछौं । प्रदेश कमिटी र केन्द्रबीच समन्वय अभाव हुँदा समस्या देखिएको छ । हामी बसेर मिलाउँछौं’, ज्ञवालीले नेपालवाचसँग भने । शनिबार साँझ एमालेबाट टिकट पाएका घिमिरेले आइतबार मनोनयन दर्ता गर्नै लाग्दा टिकट खोसिएपछि केहीबेर विवादसमेत सृजना भएको थियो ।

कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गर्न गएका घिमिरेलाई बीच बाटोमा पुग्दा उम्मेदवारी दर्ता नगर्न पार्टी नेतृत्वले निर्देशन दियो । तर उनले मानेनन् । आयोगले मंगलबार उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । बुधबार अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।