NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमाले–कांग्रेसका बलिया प्रतिस्पर्धीलाई चुनौती दिने रविको शक्ति कति ?

काठमाडौं । चर्चित पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन–२ रोजेपछि उनको आगामी राजनीतिक भविष्यलाई लिएर विभिन्न टिका–टिप्पणी हुन थालेको छ । स्थायी घर काठमाडौं भएकाले उनी काठमाडौंबाट नै आसन्न निर्वाचनमा भाग लिने धेरैको अनुमान थियो ।

शुभचिन्तकहरूले पनि काठमाडौं २ बाट निर्वाचन लड्न उनलाई सल्लाह दिएका थिए । कतिपयले चितवन ३ मा प्रचण्डसँग उनले चुनावी प्रतिस्पर्धा गर्ने अनुमान गरेका थिए । रविले पनि सबैको सल्लाहमा निर्वाचन क्षेत्रबारे आफूले निर्णय लिने बताउँदै आएका थिए ।
तर सबैको अनुमान विपरित उनले चितवन २ नै रोज्नुलाई धेरै कोणबाट अथ्र्याइएको छ । चितव २ रोज्नुमा स्पष्टिकरण दिँदै उनले त्यहाँका जनतासँग आफ्नो गहिरो भावना जोडिएको प्रतिकृया दिएका छन् । असोज २३ मा मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने– ‘अप्ठ्यारो पर्दा चितवनबासीले देखाएको सद्भाव र मायाको गुन तिर्न म चिनवन आएको छु । अब चितवन छोडेर कहिल्यै नभाग्ने तपाईँहरूसँग प्रतिबद्धता जनाउछु ।’

चितवनबासीको मन जित्नका लागि उनले चितवनमै घरसमेत बनाइसकेका छन् । अहिले उनी चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

२०७६ साउनमा सहकर्मीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेपछि उनी ९ दिन जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासतमा बसेका थिए । त्यतिबेला उनको पक्षमा दिनहुँ प्रदर्शन भएको थियो । धरौटीमा छुटेपछि उनले नारायणी नदी किनारामा हजारौं समर्थकलाई धन्यवाद दिन सभा नै राखेका थिए । सोही सभापछि धेरैले रवि राजनीतिक बाटोमा जान खोजेको आकलन गरेका थिए । धेरैले नदी किनारको त्यही भेलाका कारण रविले चितवनमा उम्मेदवारी दिएको लख काटेका छन् ।

यतिबेला चितवनमा रविलाई चिनाउने अभियानको नेतृत्व लिएका छन्, स्थानीय धमेन्द्र सापकोटाले । डिस होमको सुरुवाती लगानीकर्तासमेत रहेका सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन अध्यक्ष हुन् । चितवनका असन्तुष्ट कांग्रेस नेतासँग उनको हिमचिम राम्रो भएकाले कांग्रेसकोसमेत भोट रविलाई पाउने गरी सहमति गरेको हुनसक्ने धेरैको अनुमान छ ।

रविले विग्रिएको राजनीतिको एम स्वीच अफ गर्न सक्लान् ?

गत असार ७ मा पार्टी घोषणा कार्यक्रममा उनले पुराना मक्किसकेका दलका नेताबाट अब देशले निकास नपाउने निष्कर्ष निकालेका थिए । उल्लेख्यमात्रामा जम्मा भएका अफ्ना समर्थक र सुभचिन्तकमाझ निकै हौसिएका रविले नयाँ ढंग र पार्टी लिएर पुराना पार्टीभित्रको ‘मेन स्वीच अफ’ गर्ने उद्घोष गरेका थिए । त्यतिबेला प्रचण्ड, देउवा र केपी ओलीप्रति संकेत गर्दै रविले तीमध्ये एकलाई आफूले हराउने जिम्मा लिँदै बाँकीलाई हाराउनका लागि तयार भएर बस्न आग्रह गरेका थिए ।

‘म कुनै पार्टीमा विलिन हुन चाहन्न । मैले पुराना दलभित्र रहेको सञ्जाल र सम्पूर्ण ‘कनेक्सनको मेन स्वीच अफ’ गर्नुछ । त्यो ‘मेन स्वीच अफ’ नहुँदा तारबाट एउटाले राजदुत खाएको छ । अर्काले बोर्ड पड्काएको छ । कसैले सदस्यता लिएका छन् । अर्कोले सरकारी अड्डा थामेर बसेको छ’, उनले भनेका थिए, ‘आम नागरिक र नेताको भेटघाट हुँदैन । तर विचौलिया नेताको बेडरुपमा गएर डिल गर्छ । म त्यस्ता पार्टीका जान्न । मलाई थाह छ, यो बाटो गाह्रो छ तर असम्भव छैन ।’

विद्युतीय क्षेत्रमा ‘मेन स्वीच’ राख्नुको दुई वटा उदेश्य हुन्छ । एउटा विद्युत सर्ट भइ कुनै खतरा भएमा जनधनको बढी क्षति हुन नदिन ‘मेन स्वीच अफ’ गरिन्छ । अर्को विद्युतीय क्षमता घटाउन वा बढाउन वा कुनै खराबी देखिएमा तत्काल सुरक्षात्मक उपाय अपनाउन यसको प्रयोग गरिन्छ ।

विद्युतीय खराबी जस्तै राजनीतिमा पनि परम्परागत दलबाट संरचनाभित्र खराबी देखिएकाले ‘एम स्वीच बटम’ आफूलेमात्र दबाउन सक्ने उनको अभिव्यक्तिबाट झल्किन्छ । तर उनले दाबी गरेको जस्तो जर्जर अवस्थामा रहेको राजनीतिको ‘मेन स्वीच अफ’ गर्न त्यति सजिलो छैन । रविकै शैलीमा पाँच वर्षअघि वैकल्पिक शक्ति निर्माण गरी परम्परागत दलको विकल्प खोज्न कम्बर कसेर लागेका बाबुराम भट्टराई, रविन्द्र मिश्र, मिलन पाण्डेलगायत सामाजिक अभियान्ताहरू विकल्प बिहिन यात्रामा तीनै पुराना पार्टीभित्र ओत लाग्न आइपुगेका छन् ।
रविको अभिव्यक्ति, उनको राजनीति सुझबुझ, कार्यक्षमता हेर्दा अहिलेसम्म विकल्प दिने खालको देखिएको छैन ।

आफू अहिल्यै राजनीतिमा आउने कुनै सोच नभएका बताउँदै आएका उनले ग्यालेक्सी फोके टेलिभिजन खोलेका थिए । तर स्थानीय तहमा काठमाडौं लगायत केही शहरमा स्वतन्त्र उम्मेदवारप्रति जनआकर्षण देखिएपछि मौका छोप्न हतारमा राजनीतिमा आएको उनीमाथी आरोप लागेको छ । पुराना पद्धति भत्काउन उनी पूर्वयोजनासाथ राजनीतिमा आएको भन्दापनि भिडबाट बढी प्रभावित भएको उनीमाथि आरोप छ । उनकै सहोदर दाइ हरिशरण लामिछानेले कच्चा र अपरिपक्व निर्णयले रविको राजनीति सकिने टिप्पणी गरेका छन् । त्यस्तै पार्टी घोषणासभामा उनले चुनावमा जानुअघि नेपाल कस्तो हुनेछ भन्ने नक्सा आफूसँग भएको दाबी गरेका थिए । तर उनले परिकल्पना गरेको नेपाल कस्तो हुनेछ, त्यो अहिलेसम्म सार्वजनिक गरेका छैनन् । उनको राजनीतिक लाइन के हो भन्ने विषय अहिलेसम्म स्पष्ट छैन । त्यसैले रविले दाबी गरेजस्तै राजनीति संरचनाभित्र देखिएका खराबी रोक्न सक्छन् वा सक्दैनन् त्यो आगामी निर्वाचनपछि देखिने छ ।

कति छ रविको शक्ति ?

पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिन लागेका रविको शक्ति कति छ भन्ने विषयमा परिक्षण हुन मंसिर ४ सम्म कुर्नै पर्ने हुन्छ । सञ्चारकर्म छाडेर गत असार ७ मा उनले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । देशभर उनको पार्टीको संगठन विस्तार हुनै बाँकी छ । प्रदेशसभामा भाग नलिने घोषणा गरेका उनले प्रतिनिधिसभा निर्वाचनतर्फ मात्र उम्मेदवारी दिएका छन् । रविको पार्टीले राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाउनै पर्ने बाध्यता छ । रविको पार्टीमा उनीबाहेक अन्य उम्मेदवार खासै परिचित अनुहार देखिँदैन । उनी आफैलाई पनि निर्वाचन जित्न निकै कठिन रहेको चुनावी परिणामले देखाएको छ ।

चितवन २ मा उनको मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवार नै रहेका छन् । एमालेबाट उम्मेदवार भएका कृष्णभक्त पोखरेल २०७० र २०७४ मा निर्वाचित सांसद हुन् । सो क्षेत्रमा उनको बलियो पक्कड रहेको छ । उनी निष्कृय भोट तान्न सक्ने खुबी भएका नेताका रुपमा बुझेका छन् । अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धनबाट भाग लिएका उनी ४४ हजार ६७० मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए । पोखरेलको मतान्तर १७ हजार ३५६ रहेको छ । योपटक पोखरेलसँग मतदात असन्तुष्ट रहेकाले असन्तुष्ट भोट आफूले पाउने रविले अपेक्षा राखेका छन् ।

रविको लागि दोस्रो चुनौतीका रुपमा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ रहेका छन् । उनलाई माओवादी र एकीकृत समाजवादीले सहयोग गरेका छन् । दुईपटक समानुपातिक सांसद रहेका श्रेष्ठ देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीसमेत भएका थिए ।

गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा चितवन २ मा एमालेले ३५ हजार ५४३ मत पाएको थियो । कांग्रेसको २४ हजार ५३१, माओवादीको ७ हजार ३७४, नेकपा एसको ३ हजार ५६९ मत रहको छ । यसैगरी राप्रपाको २ हजार ११३ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ३५ हजार ४७४ मत रहेको छ । गठबन्धनको सबै मत जोड्दा पनि एमाले ६९ मतले अगाडि रहेको छ । राप्रपाले एमालेका उम्मेदवारले सहयोग गरे एमालेको मत थप २ हजार १८२ हुन आउँछ ।

चितवन २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा गरी १० वडा पर्छन् । स्थानीय तह निर्वाचनमा कालिका नगरपलिका र इच्छाकामना गाउँपालिका दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । यो क्षेत्रबाट रविसहित १६ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।

यस्तो अवस्थामा पुराना पार्टीका यी दुई बलिया प्रतिस्पर्धीको चुनौती पार गर्न उनलाई त्यति सजिलो छैन । कांग्रेस एमालेको संगठनात्मक भोट खासै प्रभावित नहुँने हुँदा रविको शक्तिको स्रोत भनेकै स्वतन्त्र मतदाता रहेका छन् । यसबाहेक उनले गठबन्धन र एमालेका असन्तुष्ट भएका मतदाताकोसमेत मन जित्नुपर्ने बाध्यता छ ।

को हुन् रवि ?

काठमाडौंका स्थायी बासिन्दा रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । राजनीतिमा प्रवेश गर्नुअघि एक टेलिभिजन प्रस्तोता थिए । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।

उनले पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा सिधाकुरा कार्यक्रम चलाउँथे । वि.सं. २०७६ भदौमा सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुसाहन मुद्दामा रवि लामिछानेलाई प्रहरीले पक्राउगरी अदालतमा पेश गरेको थियो । २५ दिन चितवन प्रहरीको हिरासतमा रहेका उनलाई प्रमाण नपुगेको भन्दै जिल्ला अदालत चितवनले सफाइ दिएको थियो ।
लामो समय अमेरिका बसोबास गरेका उनी २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक थिए । २०१७ मा अमेरिकी ग्रिन कार्ड त्यागेका उनले अहिले नेपालकै नागरिकता लिएका छन् ।

टेलिभिजनको पर्दामा विशेष गरी खाडी मुलुकमा दुःख पाएका नेपाली नागरिकहरूका आवाज ‘सिधा कुरा जनतासँग’मार्फत मुखरित गरेर उनी चर्चामा आएका हुन् । भुइँमान्छेहरूका दुःख, व्यथा र समस्यासँग साक्षत्कार गरेकाले उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको थियो । चितवनको नारायणी नदी किनारमा रविप्रति देखिएको जनसमर्थनले उनलाई राजनीतिमा आउन प्रेरित गरेको उनी बताउँछन् ।