NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोइराला परिवारका तीन हस्ती : शेखरलाई चुनाव जित्न सहज, के होला शशांक र सुजाताको अवस्था ?

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसमा कोइराला परिवारका तीन हस्ती चुनावी मैदानमा उत्रिएका छन् ।

बिपीपुत्र शशांक कोइराला नवलपरासी १, केशव–नोनापुत्र डा. शेखर कोइराला मोरङ ६ र गिरिजापुत्री सुजाता कोइराला मोरङ २ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

यसपटक डा. शेखर कोइराला र डा. शशांक कोइरालाले आफूलाई प्रधानमन्त्रीको दाबेदार मानेका छन् । प्रधानमन्त्रीको दाबेदार हुन पहिलो योग्यता सांसद हुनुपर्छ । यसका लागि प्रत्यक्ष चुनाव उठेका उनीहरूले जित हात पार्नुपर्नेछ । तर स्थानीय तहको मतको खेलाजोखा गर्दा डा शेखर कोइरालालाई यसपटक चुनाव जित्न सहज हुने देखिएको छ । तर सहजै चुनाव जित्न शशांक र सुजातालाई गाह्रो हुन सक्ने देखिन्छ ।

अघिल्लोपटकको नतिजा

२०७४ सालमा कांग्रेसकाे महामन्त्री हुँदा शशांकले नवलपुरबाटै चुनाव जितेका थिए । शशांकले माओवादी केन्द्रका भविश्वर पराजुलीलाई ४०२४ मतान्तरले पराजित गरेका थिए ।

स्थानीय तहको निर्वाचन

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रभरका वडाध्यक्षतर्फ कांग्रेस र एमालबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो । वडाध्यक्षतर्फ कांग्रेसले ४०५११, एमालेले ३९९५१, राप्रपाले २३७३, माओवादीले १९२१ र जसपाले १८८ मत प्राप्त गरेका थिए ।

माओवादी अहिले कांग्रेससँगको गठबन्धनमा छ । यसैले यी दुई दलको मत ४२४३२ देखिन्छ । एमाले १९२१ मतले पछाडि देखिन्छ । ४० हजार हाराहारी मत भएको ठाउँमा यो साँघुरो अन्तर हो । यसैले शशांकले सधैं चुनाव जित्दै आए पनि यसपटक उनलाई यो ठाउँमा सहज हुनेछैन ।

को–को छन् प्रतिस्पर्धामा ?

यसपटक कांग्रेसलाई सत्ता गठबन्धनसहितका दलले साथ दिंदा एमाले एक्लै ठूलो दलको रुपमा प्रतिस्पर्धामा होमिएको छ । यसपटक शशांकसँग एमालेका कृष्णप्रसाद पौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको बलियो प्रभाव रहेको यो क्षेत्रमा यस अघि पनि शशांकलाई चुनाव जित्न गाह्रो देखिएको छैन । ठूलो पार्टीका सिनियर नेता र पूर्व पदाधिकारी, बिपी कोइराला पुत्र हुनुको फाइदासमेत शशांकलाई छ । निरन्तर चुनाव जितेको क्षेत्र भएको हुनाले पनि प्रतिस्पर्धालाई लिएर शशांक यसपटक पनि डराएका छैनन् ।

तर शशांकले १४ औं महाधिवेशनका क्रममा देउवासँग साँठगाँठ गरेको भन्दै एउटा पक्ष असन्तुष्ट रहेको बताइन्छ । आफ्नै परिवारको भए पनि खुलेर शेखरलाई सहयोग नगरी देउवालाई मद्दत गरेको भन्दै शेखर पक्षले असहयोग गरे शशांकलाई जित्दै आएको क्षेत्रमा यसपटक सहज भने नहुन सक्छ । यो क्षेत्रमा विभिन्न ५ जना स्वतन्त्र उम्मेदवार पनि उठेका छन् । एमालेबाट जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहितले यो क्षेत्रमा शशांकलाई चुनौती दिन खोजेका छन् ।

शेखर कोइरालाका पुरानै प्रतिस्पर्धी

१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा टक्कर गरेयता डा. शेखर कोइरालाको हाइट यसपटक अर्कै छ । उनी संस्थापनइतर पक्षका बलिया नेता देखिएका छन् । साथै प्रधानमन्त्रीका दाबेदार पनि हुन् । उनै शेखर यसपटक पनि मोरङ ६ बाट उम्मेदवार बनेका छन् । २०७४ सालमा शेखर एमालेका लालबाबु पण्डितसँग ६७५ मतान्तरले पराजित भएका थिए । लालबाबुले ३३९४१ मत ल्याउँदा शेखरले ३३२६६ मत ल्याएका थिए ।

के छ स्थानीय तहको निर्वाचन परिणाम ?

गत ३० वैशाखमा स्थानीय तहको निर्वाचन भयो । यो निर्वाचन परिणामअनुसार मोरङका वडाध्यक्षतर्फ कांग्रेसले २७०८६, एमालेले २४५५६, माओवादीले ४९९६, जसपाले ३९३९, राप्रपाले ३११५, नेकपा एसले २३५५ र लोसपाले ८५५ मत ल्याएका थिए ।

अघिल्लोपटक एमाले र माओवादी मिल्दा शेखर साँघुरो मतान्तरले पराजित भएका थिए । तर यसपटक माओवादी कांग्रेसको कित्तामा उभिएको छ । यो क्षेत्रमा गठबन्धनको मत ३९२३१ देखिन्छ । यस्तोमा एमाले १४६७५ मतान्तरले पछाडि देखिन्छ । यसैले यो क्षेत्रमा यसपटक शेखरलाई हराउन एमाले उम्मेदवारलाई चुनौती हुने देखिन्छ ।

को छन् प्रतिस्पर्धामा ?

यसपटक पनि शेखरसँग भिड्न एमालेका लालबाबु पण्डित नै चुनावी मैदानमा छन् । यसपटक ६३ वर्षीय पण्डित र ७२ वर्षीया शेखरबीच प्रतिस्पर्धा हुँदैछ । राप्रपाबाट गोपाल क्षेत्री चुनावी प्रतिस्पर्धामा छन् । नेमकिपा, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका केही स्वतन्त्र उम्मेदवार पनि यो क्षेत्रमा छन् । तर पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुने देखिन्छ ।

अघिल्लोपटक एमाले र माओवादी मिल्दा पनि शेखर साँघुरो मतान्तरले पराजित भएका थिए । यसपटक स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस झन् बलियो भएकोले यसपटक पण्डितलाई चुनाव जित्न कठिन हुने देखिन्छ ।

सुजाताको के होला ?

२०७४ सालमा सुजाता कोइराला समानुपातिक सांसद थिइन् । सुजाता अहिले उठेको क्षेत्रबाट २०७४ सालमा कांग्रेसका डा. मीनेन्द्र रिजाल उम्मेदवार बनेर जितेका थिए । रिजालले १८०५ मतान्तरले एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । रिजालले ३५८१९ मत प्राप्त गर्दा पोखरेलले ३४०१४ मत प्राप्त गरेका थिए । यसपटक सुजाता उठ्ने भएपछि जितेका रिजाललाई कांग्रेसले टिकट दिएन ।

स्थानीय तहको निर्वाचन नतिजा

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षतर्फ मोरङ २ मा एमालेले ३१३३०, कांग्रेसले २८६१७, माओवादीले ७२७१, राप्रपाले २०६९, लोसपाले ५६६ र नेकपा एसले १८० मत प्राप्त गरेका थिए । यसपटक कांग्रेसले माओवादीसहितसँग गठबन्धन गरेको छ । यसैले यो क्षेत्रमा गठबन्धनको मत ३६६३४ मत छ । एमाले ५ हजार मतान्तरले पछाडि देखिन्छ ।

को छन् सुजाताका प्रतिस्पर्धी ?

मोरङ २ मा सुजाताका प्रतिस्पर्धी अघिल्लोपटक एमालेबाट पराजित ऋषिकेश पोखरेल नै छन् । जितेको ठाउँ र पुरानै प्रतिस्पर्धी हुँदा सुजातालाई केही सहज पनि हुन सक्छ । तर रिजालको टिकट खोसिएको हुनाले कांग्रेसकै कार्यकर्ता पनि यसपटक यो क्षेत्रमा विभाजित देखिन्छन् । यतिमात्रै होइन ५ हजार हाराहारीमा मात्रै एमालेभन्दा यो क्षेत्रमा गठबन्धन दल अगाडि भएकोले सुजातालाई सहजै चुनाव जित्न कठिन हुन सक्नेछ । यद्यपी कांग्रेसको परम्परागत बलियो क्षेत्र, गिरिजापुत्री हुनुको फाइदा र गठबन्धनको बलले सुजातालाई कमजोर नै भने देखाउँदैन ।