NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

२०७४ सालको निर्वाचन : कुन शीर्ष नेताले कति मतान्तरले जितेका थिए ?

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रममा व्यस्त छन् ।

प्रतिनिधिसभा अन्तर्गत १६५ र प्रदेशसभा अन्तर्गत ३३० निर्वाचन क्षेत्रमा समानुपातिकसहित जम्मा ८२५ सदस्यकालागि ५ हजार ६३६ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये २ हजार ४१२ उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । ३ हजार २२४ उम्मेदवार प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । योपटक प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार ८६७ र प्रदेशसभा सदस्यका लागि १२७८ मैदानमा भिड्दै छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता संख्या रहेका छन् । यसमा पुरुष मतदाताको संख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको संख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य१८५ छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

योपटक परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूकोे निर्वाचन क्षेत्रलाई लिएर विभिन्न अड्कलवाजी हुन थालेको छ । एमालेले केही स्थानमा राप्रपा र जसपासँग चुनावी तालमेल गरेको छ । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमोसँग देशभर चुनावी तालमेल गरेको छ । लोसपासँग केही स्थानमा तालमेल गरेको छ । विगतमा जस्तै योपटक पनि मुख्य प्रतिस्पर्धी गठबन्धन र एमाले हुने देखिएको छ । केही स्थानमा स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने देखिन्छ ।

२०४८देखि २०७४ को निर्वाचन परिणाम हेर्दा पार्टी प्रमुखदेखि प्रधानमन्त्री पनि परम्परागत शीर्ष नेताबाटै बन्ने इतिहास छ । धेरैपटक यस्तो भूमिकामा बसे पनि शीर्ष नेताले फेरि पनि आफूलाई केन्द्रमा राखेर चुनावमा होमिएका छन् किनकी राष्ट्रपति, प्रधानमन्त्रीसहितका शक्तिशाली पदमा यिनै शीर्ष नेताको लगाम र पकड अझै हटिसकेको छैन ।
निर्वाचनको पूर्वसन्ध्यामा यी नै शीर्ष नेताहरूले ०७० र ०७४ मा पाएको मतपरिणामलाई हामीले केलाउने प्रयास गरेका छौं

केपी ओली : २८८८२ मतान्तरले विजयी

समकालीन राजनीतिका चतुर खेलाडी रहेका एमाले अध्यक्ष केपी ओली आफ्ना कट्टर विरोधी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहकार्य गरी गत निर्वाचन लडेका थिए । कुनै बेला एक अर्काको उछित्तो काढेर नथाक्ने यी दुई नेताहरूको सहकार्य र पार्टी एकता हुन्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । तर ओलीले प्रचण्डकै सहयोगमा शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए ।

झापाको क्षेत्र नं. ५ बाट निर्वाचन लडेका ओलीले आफ्नो जितलाई सुनिश्चित गर्न राप्रपासँगसमेत चुनावी तालमेल गरेका थिए । देशभर माओवादीसँग सहकार्य गरेका ओलीले झापा क्षेत्र नं. ३ का राप्रपा नेता राजेन्द्र लिङ्देनसँग सहकार्य गरेका थिए । ०७४ निर्वाचनमा ओली ५७ हजार १३९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जम्मा ९१ हजार ३९५ मत सदर हुँदा ओलीले २८८८२ मतान्तरले जितेका थिए ।

त्यस्तै ओली ०७० को दोस्रो संविधान सभा निर्वाचनमा झापा–७ बाट १९ हजार २८७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार योङगया ११ हजार ४१ मत पाएका थिए ।

त्यस्तै राप्रपाका रामकुमार थापाले ९ हजार ३३५ र माओवादी गोपाल किराँती ८ हजार ८०२ मत पाएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली झापा ७ बाट माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए । योपटक पनि ओलीले राप्रपासँग सहकार्य गरी आफ्नो सिट सुरक्षित गर्ने रणनीति बनाएका छन् । उनको प्रतिस्पर्धी पनि गठबन्धनबाट कांग्रेसका पुरानै उम्मेदवार खगेन्द्र अधिकारी मैदानमा उत्रिएका छन् ।

शेरबहादुर देउवा : ६९४८ मतान्तरले विजयी

राज्यसत्ता सञ्चालमा चतुर र माहिर खेलाडी मानिएका प्रधानमन्त्री देउवा २०७४ मा डडेल्धुरा १ बाट २८ हजार ४४६ मत ल्याइ विजयी भएका थिए । उनका निकटमत प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले २१ हजार ४९८ मत ल्याएका थिए । देउवा ६९४८ मतान्तरले विजयी भएका थिए । ०७० मा २३ हजार ९२० ल्याइ देउवा निर्वाचित भएका थिए । माओवादीका भट्टले १२ हजार ४९३ मत पाएका थिए । एमालका ताराप्रसाद जोशी ७ हजार १९० मत पाएका थिए । ०४८ देखि अपराजित यात्रा तय गरेका देउवा योपटक पनि निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । माओवादीसँग गठबन्धन भए देउवा अझै ढुक्क हुनेछन् । तर कुनै समय आफ्ना विश्वासपात्र रहेका पूर्वसभापति कर्ण मल्लसँग देउवाको सम्बन्ध बिग्रिएको छ । स्थानीय तहको निर्वाचनमा कर्णले एमालेसँग मिलेर कांग्रेसलाई हराएका थिए । योपटक देउवालाई हराउन कर्ण आफै चुनावी मैदानमा उत्रिएका छन् । उनलाई एकीकृत समाजवादीले साथ दिएको छ । यसैले देउवा यसपटक तनावमा पर्न सक्नेछन् । स्वतन्त्रतर्फबाट सागर ढकालले देउवालाई चुनौती दिएका छन् । ढकाल तीनै व्यक्ति हुन् । २०७४ मा देउवा प्रधानमन्त्री हुँदा बिबिसीको साझा सवालमा अक्र्सफोर्ड विश्वविद्यालय पढेका प्रधानमन्त्री नेपालले कहिले पाउँछन् भन्ने प्रश्न उठाएका थिए । अहिले उनी ४० वर्ष मुनिका व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने अभियान लिएर देउवालाई चुनौती दिएका छन् ।

प्रचण्ड : ९३४१ मतान्तरले विजयी

सशस्त्र विद्रोह त्यागी ०६३ मा शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चलाख र कुटील नेताको रुपमा परिचित छिन् । ओलीले त प्रचण्डलाई राष्ट्रिय समस्या नै भएको टिप्पणी गर्दै आएका छन् । ०७४ मा ओलीसँग मिलेर प्रचण्ड शक्तिशाली पार्टीको अध्यक्ष भए । तर अध्यक्षद्वयको टकरावले प्रचण्डले ओलीसँगको सहकार्यलाई निरन्तरता दिन सकेनन् । द्वन्द्वका कारण प्रचण्ड कांग्रेससँग टाँस्सिन पुगे । प्रचण्डले नै पार्टी फुटाएको आरोप एमालेका नेताहरूले लगाउँदै आएका छन् । कहिले काठमाडौं, कहिले रोल्पा, कहिले सिराहा त कहिले चितवनबाट निर्वाचन लड्दै आएका छन् । उनी योपटक चितवनबाट छोडेर गोरखा २ मा उम्मेदवार बनेका छन् । उनलाई भर्खर एमाले प्रवेश गरेका अब्दुस मियाँले उनलाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रसमेत रहेको त्यहाँ माओवादीको राम्रो जनाधार रहेको छ । योपटक गोरखाबाट निर्वाचन जित्नेमा प्रचण्ड ढुक्क छन् ।

२०७४ मा चितवन–३ बाट प्रचण्ड ४८ हजार २७६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । प्रचण्ड ९३४१ मतान्तरले विजयी भएका थिए । पाण्डेलाई कांग्रेसले सहयोग गरेको थियो । २०७० मा काठमाडौं–१० र सिराह–५ बाट निर्वाचन लडेका उनी सिराहाबाट १५ हजार २४४ ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले लिलानाथ श्रेष्ठ १४ हजार ३२३ मत ल्याएका थिए । तर एमालेले निर्वाचन परिणामलाई अहिलेसम्म स्वीकार्न सकेको छैन । झिनो मतान्तरले श्रेष्ठलाई पराजित गरेका प्रचण्डलाई मतपेटिका साटेर निर्वाचन जितेको आरोप एमालेले लगाउँदै आएको छ । काठमाडौंमा कांग्रेस नेता राजन केसीसँग ठूलो मतान्तरले प्रचण्ड पराजित भएका थिए । केसीले २० हजार ३९२ मत ल्याइ विजयी हुँदा उनले १२ हजार ८५९ पाएका थिए । ०६४ को निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट प्रचण्डले अत्याधिक मत ल्याइ विजयी भएका थिए ।

माधवकुमार नेपाल : १२३६३ मतान्तरले विजयी

एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल गत निर्वाचनमा काठमाडौं–२ बाट २७ हजार २६६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस दीपकप्रकाश कुँइकेलले १४ हजार ९०३ मत ल्याए । नेपालले १२३६३ मतान्तरले जितेका थिए । मतान्तरले जितेका थिए ।

विवेकशील साझा डा. सूर्यराज आचार्य ७ हजार ४३७ ल्याइ तेस्रो भएका थिए । त्यस्तै ०७० को निर्वाचनमा नेपालले काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचन जितेका थिए । काठमाडौंमा २१ हजार ७४८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रतिमा गौतमले १२ हजार ४७५ मत ल्याएकी थिइन् । माओवादीका लिलामणि पोखरेल ७ हजार १५४ मत ल्याएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका छन् । योपटक पार्टी विभाजन भएकाले उनी रौतहट १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । स्थानीय तह निर्वाचनमा अन्यन्त्र निराशाजनक नतिजा हात पार्दा नेकपा एसले रौतहटबाट राम्रो परिणाम ल्याएको थियो । रौतहट १ मा एकीकृत समाजवादी एक्लैको मत राम्रो भएकाले चुनाव जित्नेमा नेपाल ढुक्क छन् ।

बाबुराम भट्टराई : ६८७४ मतान्तरले विजयी

कुनै बेला माओवादी जनयुद्धका योजनाकार रहेका बाबुराम अहिले आफ्नै पार्टीबाट निष्कासित भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले ०७२ को नयाँ संविधान जारी भएपछि माओवादी त्यागेका थिए । वैकल्पिक नयाँ शक्ति निर्माण गर्ने भन्दै भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए । तर गत निर्वाचनमा १ सिटमा खुम्चिएका उनी निर्वाचनपछि उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमसँग विलय हुन पुगेका थिए । संघीय समाजवादी हुँदै जसपाका संघीय परिषद अध्यक्ष बन्न सफल भए । पाटीभित्र उपेन्द्रले एकलौटी गरेको आरोप लगाउँदै यादवलाई निष्कासन गर्नेसम्मको योजना बनाएका भट्टराई अन्ततः आफै पार्टीबाट निष्कासनमा परे ।

०७४ मा गोरखा–२ बाट भट्टराई ३१ हजार ८०७ मत ल्याइ निर्वाचित भएका उनी योपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । विगतमा आफूले जित्दै आएको क्षेत्रमा योपटक आफ्नै पूर्वनेता प्रचण्डलाई मैदान छोडेका हुन् । अघिल्लो निर्वाचनमा गोरखा २ बाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई २४ हजार ९३३ मतान्तरले पराजित गरेका थिए । भट्टराईलाई कांग्रेसले साथ दिएको थियो । श्रेष्ठलाई एमालेले साथ दिएको थियो । भट्टराई यसअघि २०७० र २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

उपेन्द्र यादव : १००४० मतान्तरले विजयी

पटकपटक टुटफुट र विभाजनको पीडा खेपेका जसपाका कार्यकारीणी अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी–२ बाट २१ हजार ६२० मत ल्याइ विजयी भएका थिए । उनी त्यतिबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेशकुमार यादवले ११ हजार ५८० मत पाएका थिए । यादव १० हजार बढी अन्तरले निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५९ मत पाएका थिए । त्यस्तै कांग्रेसका सकलदेव सुतिहारले १ हजार ८४० मत पाएका थिए । एक वर्षदेखि सत्ता गठबन्धनसँग सहकार्य गर्दै आएका यादव निर्वाचनको पूर्वासंध्यामा उनी एमालेसँग सहकार्य गरेका हुन् । उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । यादवलाई लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले टक्कर दिएका छन् ।

राजेन्द्र लिङ्देन : १३४४३ मतान्तरले विजयी

देशभर एमाले र माओवादीबीच चुनावी तालमेल भएको अवस्थामा झापामा भने एमाले र राप्रपाका नेता राजेन्द्र लिङ्देनबीच अनौठो गठबन्धन भएको थियो । एमालेसँगको तालमेलबाट लिङदेन संघीय संसदमा झापा–३ बाट निर्वाचित भएका थिए । लिङ्देन ४४ हजार ६१४ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३१ हजार १७१ मत पाए । कांग्रेसका प्रभावशाली नेता सिटौलालाई पराजित गरी चर्चामा आएका उनी मंसिरमा भएको राप्रपाको महाधिवेशनमा आफ्नै नेता कमल थापालाई पराजित गरेपछि झन् बढी चर्चित हुन पुगे । थापालाई पराजित गरी राप्रपाको कमाण्ड सम्हालेपछि उनको राजनीतिक हाइट ह्वात्तै बढेको छ । योपटक पनि सोही क्षेत्रबाट एमालेको सहयोगमा उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनमा लिङ्देन र सिटौलाबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

०७० को संविधानसभा निर्वाचनमा लिङ्देन सिटौलासँगै पराजित भएका थिए । सिटौलाले १४ हजार ३५५ मत ल्याए विजयी हुँदा उनले ९ हजार २५३ मत पाएका थिए । त्यस्तै एमालेका बसन्तकुमार बानियाँले ६ हजार ४६२ र माओवादीका धर्मशीला चापागाईंले ६ हजार २१७ मत ल्याएका थिए । ०७० र ०६४ को संविधान सभा निर्वाचनमा उनले सुनसरी–५ बाट निर्वाचन जितेका थिए ।