NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अरु घोषणापत्रमा धुरुधुरु रोए, हामीले ग्यारेन्टी दियौं : केपी ओली [डिबेट]

काठमाडौं । चर्चित बैंकर अनिल केशरी शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा एमालेले बहुमत ल्याए पाँच वर्षमा के–के काम गर्नुहुन्छ भनि प्रश्न गरेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालेले बुधबार चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र सार्वजनिकपछि आयोजित डिबेटमा भाग लिन शाहले ओलीलाई मञ्चमा बोलाएका थिए । शाहले भूमिका बाध्ने क्रममा अघिल्लोपटक राजनीतिक स्थायित्वका लागि नेपाली जनताले एमालेलाई दुइतिहाई मत दिएको तर सपना पूरा नभएको बताएका थिए । अब तपाईंले बहुमत पाएर जनताले के पाउँछ भनेर शाहले ओलीमाथि प्रश्न गरेका छन् :

अघिल्लोपटक राजनीतिक स्थायित्वका लागि नेपाली जनताले एमालेको गठबन्धनलाई दुईतिहाइ मत दिएको थियो । तर आफ्नो कार्यकाल पूरा नगरी सरकार ढल्यो । तपााईं फेरि बहुमत भन्दै हुनुहन्छ । अब तपाईंले बहुमत पाए पनि जनताले के पाउँछन् ?

एमालेलाई दुईतिहाई बहुमत दिएको थियो तर केही काम गरेन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । त्यो सत्य होइन । त्यतिबेला एमालेले प्रत्यक्ष र समानुपातिक गरी जम्मा १२१ सिट जितेको हो । स्थायी सरकार बनाउनका लागि सँगै चुनाव लडेको पार्टीको साथ चाहिन्थ्यो । तर अर्कोपक्षले एमालेको सहयोगमा चुनाव जितेपनि सरकार बन्न नदिन भित्रभित्रै षड्यन्त्र गर्यो । मेरो नेतृत्वमा सरकार बन्नै नदिन निर्वाचन आयोगले असहयोग गर्यो । यी विभिन्न षड्यन्त्रको बाबजुद मंसिरमा अन्तिम मतपरिणाम सकिएपनि सरकार बन्न फागुन लाग्यो । षड्यन्त्रपूर्वक काम भए । बल्लतल्ल सरकार बनेपनि षड्यन्त्रका कारण सरकार पूरै कार्यकाल चल्न पाएन । विपक्षीसँग गठबन्धन गरेर षड्यन्त्रपूर्वक मेरो सरकार ढालेका थिए । यी नै अहिले सरकारमा छन् । सरकार ढाल्न अदालतमा मुद्दा यिनैले हालेका हुन् । विपक्षीले विभिन्न षड्यन्त्र गरेर मेरो नेतृत्वको सरकार ढाले । निष्कर्षमा भन्नुपर्दा एमालेसँग बहुमत नभएकाले नै दुईतिहाइको सरकार टिकेन ।

तपाईंले घोषणापत्रमा ग्यारेन्टी भन्नुभएको छ । तपाईंको ग्यारेन्टीले नागरिकलाई कसरी छुन्छ ?

म यो स्पष्ट पार्न चाहन्छु कि देश बनाउने योजना एमालेसँग छ । एमालेले घोषणापत्रमा जुन कुरा गरेको छ । त्यो जनता झुक्याउन होइन । देश बनाउनका लागि ल्याएको हो ।

एमाले घाममा राखेको एकटुक्रा बरफ होइन, जुन पग्लिएर जाने । राष्ट्र बैंकले नोटमा जारी गरेको जमानीे भुक्तान ग्यारेन्टी गरे जस्तै एमालेले जनताका लागि जवाफदेही दिएको हो ।

समयमै काम पूरा नहुने । अर्कोतिर लागत बढ्ने भएको हुँदा कार्यान्वयन हुन सकेन । यसका लागि नीतिगत, कार्यगत र कतिपय ठाउँमा संविधान तथा कानुन संशोधन गर्नुपर्ने हुन्छ । अहिले शासकीय स्वरुप, निर्वाचन प्रणालीलाई दोष देखाउन खोजिएको छ । त्यो आफ्नो कमजोरी लुकाउन झुक्याउने चलाखी हो । गठबन्धन सरकारले यी १६ महिना किन काम हुन सकेन ? प्रणालीलाई दोष दिएर कोही उम्किन मिल्दैन ।

लाखौं युवायुवती विदेशिएका छन् । घोषणापत्रमा ठूला योजनाका कुरा छ । तर दुई छाक खानेहरूलाई के प्रभाव पार्छ यस्ता घोषणाका पत्रले ?

पहिलो कुरा देशमै पूर्वाधार विकास हुन जरुरी छ । योबिना देशलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन । बिजुली छैन भने कृषिको आधुनिकरण कसरी गर्नुहुन्छ ? त्यसैले भौतिक पूर्वाधार र मानव पूर्वाधारको विकास नभएसम्म रोजगारी सिर्जना हुन सक्दैन । नागरिकलाई स्वदेशमै रोजगारी दिन यी सबै पूर्वाधार विकास गर्न जरुरी छ । राष्ट्रिय पूँजी विकास गर्न कृषिमा आधुनिकरण गर्नुपर्छ ।

तपाईंको विचारमा मुलुकको अर्थतन्त्र कुन अवस्थामा छ ? पाँच वर्षमा कस्तो अवस्थामा पुग्छ ?

हामीले दु्ईवर्षभित्र सबैलाई साक्षर बनाउँछौं भनेका छौं । यो त्यति सजिलो छैन । रौतहटकै कुरा गर्ने हो भने त्यहाँ साक्षरता निकै न्यून छ । कतिपय जातिगत कारणले पनि साक्षरता अभियान सफल हुन सकेको छैन । हामीले साक्षर अभियान समयमै पूरा गर्न विशेष कार्यक्रम ल्याउन लागेका छौं । यसका लागि नागरिकहरूलाई आवश्यक तालिम दिनेछौं । भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिन्छौं । कृषि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रमा लगानी गर्छौ । निरपेक्ष गरिबीमा रहेका व्यक्तिहरूलाई २१ बाट ३ प्रतिशत कम गरेर १८ प्रतिशतमा झारेका छौं । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य पूरा गर्नेछौं । आगामी पाँचभित्र नेपाललाई अल्पविकसितबाट एक पाहिला अगाडि बढ्ने गरी सबै प्यारामिटर पूरा गर्छौं ।

नेपालको मुख्य समस्या सुशासन कायम नहुनु हो । तपाईंहरूले जिते कसरी सुशासन कायम गर्नुहुन्छ ?

यसमा म भ्रष्टाचार गर्दिन भन्ने कुरा मुखले होइन मनले गर्नुपर्छ । भ्रष्टाचार रोक्नका लागि पहिला आफैंमा इमान्दार हुनुपर्छ । शासन सत्तामा बस्ने संन्यासी जस्तै हुनुपर्छ । सात पुस्तालाई सम्पत्ति थुपार्न खोजियो भने भ्रष्टाचार बढ्छ । लोप भएन भने भ्रष्टाचार स्वतः हट्छ । छोराछोरीलाई सम्पत्ति थुपार्ने होइन । उसलाई आवश्यक पर्ने सबै विषयमा शिक्षा दिनुपर्छ । हामीले सिक्ने होइन, उ आफैंले सिक्नुपर्छ । राज्यले नागरिकलाई सुरक्षा दिन आवश्यक कर्तव्य पूरा गर्नुपर्छ । त्यसैले पाँचवर्षभित्र एमालेले भ्रष्टाचार मुक्त देश बनाउनेछ ।

अन्य दलले प्रतिबद्धता भनेका छन् तर एमालेले ग्यारेन्टी भनेको छ । यी दुईमा के भिन्नता छ ?

अरुले भनेको काम गर्न होइन चुनावका लागि हो । घोषणापत्रमा धुरुधुरु रोएर जनताको मन पगाल्न सकिन्छ भन्ने सोचले ग्रसित छ । तर एमाले भन्दिनेमात्र होइन ग्यारेन्टी दिन्छ । एमाले घाममा राखेको एकटुक्रा बरफ होइन, जुन पग्लिएर जाने । राष्ट्र बैंकले नोटमा जारी गरेको जमानीे भुक्तान ग्यारेन्टी गरे जस्तै एमालेले जनताका लागि जवाफदेही दिएको हो । राष्ट्र बैंकले जारी गरेको नोटमा गर्भनरले सही गरेपछि रकम भुक्तानीको लागि सुरक्षित भए जस्तै हामीले पनि घोषणापत्रमा काम गर्ने ग्यारेन्टी सही गरेर पठाएका छौं ।

सर्वाधिक प्रचिनतम ग्रन्थ निर्माण भएको, प्राचिनतम प्राकृतिक औषधी उपचार सुरु भएको, गुरुत्वकर्षण शक्ति पत्ता लागेको, यसै ठाउँमा दार्शनिक र विचारकहरूको जन्म भएकाले यो भूमिलाई ज्ञान, ध्यान भूमि भनिएको हो । यी सबैलाई प्रवद्र्धन गरी विज्ञान र प्रविधिमार्फत विश्वको माझ आगाडि ल्याउन एमालेको सरकार चाहिन्छ ।

बाँड्ने कुरा आफ्नाका लागि भयो भने त्यो कमजोरी हुन्छ । राज्यको नीति असहाय नागरिका लागि संरक्षण गर्ने खालको हुनुपर्छ । भत्ता पार्टी हेरेर बाढ्ने होइन सबैका लागि हो । औषधी उपचारको विषयमा पनि ७० माथिका लागि रोग हेरी राज्यले व्यवस्था गर्छ । सामाजिक सुरक्षा भत्ता अक्षय तृतीयामा जलसातु बाँढेको जस्तो होइन, जो आए उसलाई बाढ्ने । राज्यले असहायलाई हेर्न विशेष कार्यक्रम ल्याउनुपर्छ । यसमा मानवीय भावना पन्छाएर राज्य अगाडि बढ्न सक्दैन । हाम्रो नेतृत्वको सरकार आएपछि रोजगारी विकास, आर्थिक वृद्धि, सामाजिक सुरक्षालाई प्राथमिकताका साथ काम गर्छ । एमाले नेतृत्वको सरकारले ल्याएको बजेटलाई अर्थ नबुझेका अर्थविद् र विपक्षीहरूले कनिका छरेको भन्ने आरोप लगाए । त्यो विरोधका लागि विरोध गर्नका लागि मात्र भएको देखिन्छ । त्यो गलत दृष्टिकोण हो ।

अन्तमा जनताले सूर्यमा भोट किन हाल्ने ?

हामी कसैको पनि उपनिवेश नभएको देश, पराधीन हुन तयार नभएको देश, यसको स्वाधीनता, भौगोलिक अखण्डता कायम राख्न, गौरवशाली इतिहास, गौरवशाली ज्ञानको प्रादुर्भाव भएको, सर्वाधिक प्रचिनतम ग्रन्थ निर्माण भएको, प्राचिनतम प्राकृतिक औषधी उपचार सुरु भएको, गुरुत्वकर्षण शक्ति पत्ता लागेको, यसै ठाउँमा दार्शनिक र विचारकहरूको जन्म भएकाले यो भूमिलाई ज्ञान, ध्यान भूमि भनिएको हो । यी सबैलाई प्रवद्र्धन गरी विज्ञान र प्रविधिमार्फत विश्वको माझ आगाडि ल्याउन एमालेको सरकार चाहिन्छ । त्यसैले सूर्यमा भोट चाहिन्छ । पाँच वर्ष एमालेले गर्छ ।