NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धादिङ प्रदेश–१ : एमालेका रमेशलाई गठबन्धनभन्दा आफ्नैको डर

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनमा धादिङ–१ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. (१) मा एमालेका उम्मेदवार रमेश आचार्य र गठबन्धनका मधुकर श्रेष्ठबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।

एमाले धादिङका पूर्वअध्यक्षसमेत नेत्रराज पौडेललाई पछि पार्दै टिकट हात पार्न सफल भएका आचार्य धादिङमा युवामाझ निकै लोकप्रिय छन् । २०४० सालमा थाक्रे गाउँपालिका–९, केवलपुरमा जन्मिएका आचार्य एमाले अध्यक्ष केपी ओलीका पूर्वस्वकीय सचिवसमेत हुन् । उनका बुवा रामकुमार आचार्य थाँक्रे गाउँपालिकाका अध्यक्ष छन् ।

पार्टी नेतृत्वसँग राम्रो सम्बन्ध भएकै कारण उनले टिकट हत्याए । धादिङ–१ एमालेको परम्परागत गढ मानिन्छ । त्यसमा पनि प्रदेश सभा–१ एमालेको उर्भर भूमि हो । यहाँ गठबन्धनभन्दा एमाले निकै बलियोे अवस्थामा छ ।

रमेशलाई गठबन्धनको भन्दा नेत्रको उपस्थिति महँगो पर्न सक्ने

जिल्लाबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका पौडेलको टिकट अन्तिममा खोसिएपछि आचार्यविरुद्ध उनले बागी उम्मेदवारी दिएका छन् । पौडेललाई एमाले धादिङका संस्थापक नेता जगन्नाथ नेपालले साथ दिएका छन् । एमालेको बलियो गढ मानिएपनि पार्टीभित्रको आन्तरिक विद्रोहका कारण आचार्यलाई निर्वाचन जित्न चुनौती थपिएको एमाले स्थानीय नेता तथा कार्यकर्ताको भनाइ छ । आचार्यविरुद्ध उम्मेदवारी दिएका पौडेल स्वतन्त्रबाट बलेको बिजुलीको चिम लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

२०२६ साल साउन ४ गते धादिङको केवलपुरमा जन्मिएका पौडेल धादिङका लोकप्रिय कम्युनिष्ट नेता मानिन्छन् । मानविकी संकायमा स्नातकोत्तर तहको पढाई पूरा गरेका पौडेल २०५३ देखि एमालेका पूर्णकालीन सदस्य भएका थिए । उनी एमाले धादिङ जिल्ला कमिटी सदस्य हुँदै अध्यक्ष भए । उनी अहिले एमाले वागमती प्रदेश कमिटी सदस्य छन् । एमाले धादिङ जिल्लाको संगठनमा महत्वपूर्ण भूमिका खेलेका पौडेल जिल्लाकै बौद्धिक र शालीन नेतामा गनिन्छन् ।

२०७४ को निर्वाचनमा पनि पौडेलले टिकट पाएपनि अन्तिम समयमा नेता राजेन्द्र पाण्डेले टिकट खोसेका थिए । एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका पाण्डे अहिले वागमतीका मुख्यमन्त्री छन् । गठबन्धनबाट धादिङ–१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।

एमालेसमेत विभाजन भएको र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध प्रभावशाली नेता पौडेलले बागी उम्मेदवारी दिएकाले एमालेको विरासत जोगाउन आचार्यका लागि धेरै चुनौती देखिन्छ ।

योपटक गठबन्धनबाट एमालेका पुरानै प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा धादिङको सबै क्षेत्रमा वामपन्थी उम्मेदवार विजयी भएका थिए । आचार्यलाई गठबन्धनको भन्दा पनि आफ्नै नेता पौडेलको उपस्थिति महंगो पर्ने देखिन्छ । आफूले टिकट पाएको सहीसाबित गराउन आचार्य योपटक चुनाव जित्नैपर्ने दबाबमा छन् ।

एक नगरपालिका र दुई गाउँपालिका रहेको प्रदेश सभा–१ मा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थाँक्रे र गल्छी गाउँपालिका अध्यक्ष मात्र एमालेले जितेको थियो । धुनिबेंसी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले जित्यो । २८ वडामध्ये थाँक्रेमा ५ र गल्छीमा ३ वडामा विजयी हुँदा धुनिबेंसीमा चार जना सदस्यमा सिमित भएको थियो ।

यस्तो छ २०७४ को मतपरिणाम

२०७४ को निर्वाचनमा वाम एमालेबाट पाण्डे विजयी भएका थिए । वामपन्थी गठबन्धनबाट उम्मेदवार रहेका पाण्डे २७ हजार ३३२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार श्रेष्ठले १३ हजार ६४७ मत पाएका थिए । पाण्डेसँग १३ हजार ६८५ को फराकिलो मतान्तरले श्रेष्ठ पराजित भएका थिए । धुनिबेंसी–३ जिवनपुरका स्थायी बासिन्दा रहेका श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा दोस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । एमालेका आचार्य नयाँ अनुहार हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका आचार्य हाल एमाले वाग्मती प्रदेश कमिटी सदस्य तथा केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य छन् ।

को हुन् आचार्य ?

२०५३ मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु केवलपुरबाट राजनीति सुरु गरेका आचार्य २०५५ मा ज्योति मावि, केवलपुरको प्रारम्भिक कमिटी सचिव भएका थिए । सोही वर्ष एमालेको संगठित सदस्यता प्राप्त गरेका उनी अनेरास्ववियु धादिङको जिल्ला कमिटी सदस्य भए ।

२०५७ मा अनेरास्ववियु धादिङको कोषाध्यक्ष र २०५८ मा सचिव भएका थिए । २०५९ मा अनेरास्ववियुको १८ औं जिल्ला सम्मेलनबाट उनी जिल्ला अध्यक्ष निर्वाचित भए । २०६३ मा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य रहेका उनी २०६८ देखि २०७४ सम्म अध्यक्ष ओलीको स्वकीय सचिव भए । त्यस्तै २०७४ मा राष्ट्रिय युवा संघका केन्द्रीय सचिव रहेका उनी २०७७ मा महासचिव भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष