NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओली अब प्रधानमन्त्री बन्ने सम्भावना छैन : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनले बुधबार दार्चुलाको गोकुलेश्वरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले नै प्रस्ताव गरेर ओलीलाई २ पटक प्रधानमन्त्री बनाएको भएपनि अब ओली प्रधानमन्त्री नबन्ने घोषणा गरेका हुन् ।

‘ओलीजीलाई संविधान बनाउन सहमत हुनुहोस् भनेर पहिलोपटक मैले ओलीलाई प्रधानमन्त्री दिएको हो । वाम एकतापछि दोस्रोपटक मेरै प्रस्तावमा उहाँ प्रधामन्त्री बन्नुभयो’, उनले भने, ‘तेस्रोपटक ओली प्रधानमन्त्री बन्न सम्भव छैन । अब प्रधानमन्त्री बनेर देखाउन ओलीलाई पहिल्यै संसदमा मैले चुनौती दिइसकेको छु ।’

ओलीले कात्तिक १८ गते पहिलो चुनावी सभा दार्चुलाबाटै गरेका थिए । सभालाई सम्बोधन गर्दै ओलीले मंसिर ४ पछि १५० सिटसहित एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका थिए । ओलीको दाबीको जवाफ दिँदै प्रचण्डले दुईतिहाइको सरकार चलाउन नसक्ने ओलीले फेरी बहुमतको सरकार दाबी गर्नु आफैमा लाज लाग्ने कुरा भएको बताए ।

‘दुईतिहाइ बहुमतको संसद विघटन गर्ने। विशाल पार्टीलाई सेटिङ मिलाएर ध्वस्त बनाउने अनि कुन नैतिकताले जनतामाझ बहुमत माग्ने’, ओलीलाई उनले प्रश्न गर्दै भने, ‘ओलीलाई किन बहुमत चाहियो ? संविधान च्यात्न बहुमत चाहियो ? बाँकी रहेका कम्युनिष्ट सिध्याउन बहुमत चाहियो ?’

ओलीले दार्चुलाकै सभालाई सम्बोधन गर्दै भारतको कब्जामा रहेको भूमि फिर्ता लिन एमाले बाहेक अन्य दलले नसक्ने बताएका थिए । गठबन्धन सरकारलाई कायरहरूको बन्धन भएको आरोप लगाएका थिए ।