NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
पोलिसी डाइलग

मेरो नजरमा देश नबन्नुका कारण

राजनीतिक सक्रियता र स्रोतसाधनको व्यवस्थापनबिना गन्तव्यमा पुगिँदैन

नेपालको विकास सानातिना समस्या समाधान गरेर हुनेवाला छैन । सार्वजनिक जीवनको ३० वर्षको सिकाइ र मैले विश्वस्तरमा राखेको पहुँचको आधारमा नेपालको आर्थिक समुन्नतिका लागि आधारभूत विषयहरू कल्पिएको छु । तीनै आधारभूत विषयवस्तुलाई केलाएर बृहत परिवर्तनका लागि म आफ्नो बाँकी जीवन राजनीतिमै लगाउँछु । त्यो पनि, नेपाली कांग्रेसमार्फत ।

विगतका नेताहरूको राजनीतिक दृष्टिकोण र दशकौंदेखिको त्यागलाई मेरो सम्मान छ । तर यो उमेरमा आएर जेलनेल भोग्न म तयार छैन । कार्यकर्ता, संगठन परिवर्तन रातारात सम्भव छैन भन्ने कुरा गएको स्थानीय निर्वाचनबाट छर्लंग भइसकेको छ ।

यसअघि सम्पन्न निर्वाचनले देखाएका छन्, नेपालका जनता तीन पार्टीकै पछाडि लाग्ने रहेछन् । तर पात्र भने फरक खोजिरहेका छन् । प्रत्येक पार्टीले यो बुझ्न जरुरी छ कि राजनीतिक सक्रियता र स्रोत साधनको व्यवस्थापनबिना हामी सही ठाउँमा पुग्न सक्दैनौं । राजनीतिक परिवर्तनमा यसको खाँचो नहोला तर युवापुस्ताले चाहेको परिवर्तनमा यो अनिवार्य छ । यो मेरो दृढ मान्यता हो । उदाहरणका लागि अबको पाँच वर्षमा देशमा ५० लाख पर्यटक ल्याउन सकिन्छ । पर्यटक तान्न धेरै टाढा गइराख्नु पनि पर्दैन । छिमेकी देश चीन र भारतबाट पर्याप्त मात्रामा नेपाल घुम्न आउँछन् ।

नेपाल सबैभन्दा सस्तो र सबैले मनपराउने गन्तव्य हो । र, यस्तै बनाइराख्न सक्नुपर्छ । अहिले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल खुलिसकेका छन् । यी विमानस्थलमा चल्ने वायुयान र गन्तव्य निजी क्षेत्रले व्यवस्थापन गर्न सक्नुपर्छ । यो भनेको नयाँ–नयाँ वायुसेवा र गन्तव्यलाई जोड्ने हो । भारतकै कुरा गरौं । उसले एउटा मात्र नभएर धेरै विमानस्थलको राम्रो व्यवस्थापन गरिरहेको छ । व्यवस्थापन भनेको कुचो लगाउने मात्रै होइन भनेर उसले राम्ररी बुझेको छ ।

नेपालमा पर्यटनपछिको ठूलो सम्भावना भएको क्षेत्र ऊर्जा हो । यसको सम्भावनाबारे हामी अहिलेदेखि होइन, ५० वर्षदेखि कराउँदै आएका छौं । म आफैंले अरूण ४ को मोडल उत्कृष्ट हो भनेर संसददमा बोलेको छु । ढिलै भए पनि यसतर्फ बल्ल ध्यान जान थालेको छ । तर समस्या भने सकिएका छैनन् । कुनै पनि ठूला हाइड्रोपावर प्रोजेक्टका कुरा आउनेबित्तिकै पहिल्यै त्यसलाई विवादित बनाउन भाडाका टट्टुहरू सक्रिय भइहाल्छन् । त्यो पनि विभिन्न गैरसरकारी संस्थाको खोल ओडेर ।
पर्यटन र ऊर्जाको सम्भावनालाई बेलैमा पक्डिएको भए, त्यसलाई व्यवस्थापन गरेको भए अहिले भारतसँग हाम्रो २० खर्बको आयात, एक खर्बको निर्यात हुने थिएन । यो उल्टो हुन्थ्यो ।

तेस्रो, सम्भावना शिक्षामा छ । तर ठूलो सम्भावनाका बावजुद शिक्षाको नाममा मात्रै वार्षिक ५० बिलियन रूपैयाँ विदेशिरहेको छ । क्यानडा, अष्ट्रेलिया, भारत, चीन, बंगलादेशलगायतका देशले दिने शिक्षा नेपालले दिन सक्दैन ? सक्छ । नेपालमा निजी र सरकारी दुवै क्षेत्रमा उत्कृष्ट शिक्षा दिने संस्था छन् । बूढानीलकण्ठ विद्यालय नै हेरौं । त्यस्तो विद्यालय देशभरि खुलिनुपर्छ । आज ५० वर्ष बितिसक्दा पनि यस्तो विद्यालय एकबाट दुईमा वृद्धि हुन सकेको छैन । हाम्रो सोच कतिसम्म संकिर्ण छ, यसैबाट थाहा हुन्छ ।

विनोद चौधरीले ३५ वर्ष लगाएर नवलपुरमा २४ घण्टा सञ्चालनमा आउने उद्योगग्राम बनायो । तर उसले ७७ वटा जिल्लामा उद्योगग्राम बनाउन सक्दैन । व्यक्तिले गर्न नसकेको यो काम राजनीतिले गर्न सक्छ । मात्रै, राजनीति गर्ने व्यक्तिमा त्यो किसिमको सोच हुनुपर्छ ।

स्वास्थ्यमा पनि उत्तिकै सम्भावना छ । यी आधारभूत विषय ठीक नभएसम्म धेरै कुरा राम्रो हुँदैन । यी कुरा बनेपछि विकासको रफ्तार यति छिटो बढ्छ कि, कसैले रोकेर रोकिन्न । अहिले नेपालमा विश्वस्तरीय उद्यमी, व्यवस्थापक, जनशक्ति छन् जो आफ्नै देश फर्किन चाहन्छन् । उनीहरूलाई यही राख्ने वातावरण राज्यले तय गरिदिनुपर्छ । त्यसको लागि राजनीतिक इच्छाशक्तिको अभाव छ ।

०००

नेपालमा भनेजति विदेशी लगानी किन आएन भन्ने पनि चिन्ताको विषय बनेको छ । यहाँ अपेक्षाकृत विदेशी लगानी (फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट) नआउनुका कारण धेरै छन् । विदेशी लगानी किन आएन भन्नेबारे चर्चा गर्नुअघि यसका लागि आवश्यक आधारभूत विषयबारे प्रष्ट पार्न चाहन्छु ।

लगानीलाई सधैं घच्घचाउने विषय भनेकै आत्मविश्वास हो । त्यसमा व्यक्तिदेखि देश, विदेशसम्मको बलियो आत्मविश्वासको कुरा पनि आउँछ । मुलुकले अंगीकार गरेका नीतिहरूसमेत राम्रा हुनुपर्छ । लगानीको दृष्टिकोणबाट हेर्ने हो भने अहिले विश्व नै ‘बोर्डरलेस’ भइसक्यो । अब हामीले पनि यो कोणबाट चिन्तन, मनन गर्न जरुरी छ ।
अधिकांश देशले लगानी आकर्षित गर्न हरेक तहमा मिहिनेत गरेका छन् । उनीहरू माथिल्लोदेखि सरकारी निकाय, व्यापारिक संस्थालाई ‘फाइन ट्युन’ गर्दै गएका छन्।

विदेशी लगानी ल्याउनका लागि हामीले कस्ता विषय प्राथामिकतामा राखेर काम गर्यौं र कुन किसिमको इतिहास पार गर्यौं भन्ने कुरा बुझ्न आवश्यक छ । यो विषयलाई लिएर म धेरै पटक घोत्लिएको छु । अझ मेरो त जीवन नै यसै क्षेत्रमा बित्यो भन्दा पनि केही फरक पर्दैन ।

आजभन्दा ३० वर्षअघि सन् १९९३ मा म नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को सभापति चुनिएँ । त्यसको ३० वर्षपछि पनि विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका मञ्चहरूमा मैले बोल्ने विषयमा तात्विक फरक केही पनि हुँदैन ।

२०४६ सालदेखिकै कुरा गरौं । त्यो समय आफैंमा एउटा चरण थियो । ०४८ मा ०४६ सालको आन्दोलनपछि बनेको सरकार ढल्यो, नयाँ संविधान आयो । त्यसपछि बनेको सरकार नयाँ जोस र जाँगरले भरिएको थियो । नेतृत्वमा पनि केही गरेर देखाऊँ भन्ने भोक थियो ।

निजी क्षेत्र पनि हाम्रो भोलिको बाटो ‘लिबरल इकनोमी’ हुनुपर्छ भन्ने विषयमा स्पष्ट थिए । भारतसँगको व्यापारिक सम्बन्ध पनि नयाँ स्थानमा पुगेको थियो भने नेताहरूको राजनीतिक ‘हाइट’ पनि अर्कै थियो । त्यतिबेला मलाई तत्कालीन नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासँग पनि भारत जाने मौका मिलेको थियो । भारतका अहिलेका कतिपय शीर्ष नेताहरू उनीहरूको खुट्टै छुन्थे । भारतमा उनीहरूको छवि स्वतन्त्र संग्रामीका रूपमा थियो । नेताहरूको विश्वसनीयता निकै माथि थियो । त्यसपछि भने ठूलो भौतिक स्केलमा परिवर्तन आए । त्यसले सात वटा यस्ता विधाहरू जन्मायो, जसले देशको ३५ प्रतिशत जिडिपी ओगट्न सफल भए । यी विधामा सूचना प्रविधिदेखि शिक्षा, निजी क्षेत्र, बैंकिङ सेक्टर र रियल स्टेट पर्छन् ।

यसले अर्थतन्त्रमा आमूल परिवर्तन आयो । तर त्यसपछि भने देश राजनीतिक भुमरीमा फस्यो । १२ वर्षको सशस्त्र आन्दोलन, २६ वर्षमा २५ वटा सरकार परिवर्तनका बावजुद पनि आर्थिक वृद्धि साढे चार प्रतिशतले बढेको थियो । किनभने, त्यसका लागि ढोका खोलिएको थियो ।

निजी क्षेत्रले विभिन्न अवरोध सहेर पनि काम गरेका छन् । यही कारण आर्थिक वृद्धि सम्भव भयो । अहिले भने हाम्रा युवाहरू हरेक महिना पाँच लाखको हाराहारीमा विदेशिदै छन् । हाम्रो आयात, निर्यातको खाडल गम्भीर मोडमा पुगेको छ । आधिकारिक ठाउँमा बसेका व्यक्तिहरूले समेत देश श्रीलंका भएमा आश्चर्य नमान्नु भनेर भन्न थालिसकेका छन् । म भने यसमा सहमत छैन । किनभने, हाम्रो अर्थतन्त्रको आधारभूत विषयहरू फरक छन् ।

एउटा देश बन्नका लागि के चाहिने रहेछ भनेर मैले रुवाण्डाबाट धेरै कुरा सिक्ने मौका पाएको छु । जहाँ हामीले आफ्नो परियोजना पनि सञ्चालन गरेका छौं । विकासले एकातिर राजनीतिक भिजन र अर्कोतर्फ स्रोत साधनको व्यवस्थापन खोज्ने रहेछ । जसअन्तर्गत व्यवहारिक रूपमा काम गरेर स्रोतको व्यवस्थापन गर्दै आफू कोसँग प्रतिस्पर्धा गरिरहेको छु भन्ने हेक्का राखेर आफ्ना नीतिलाई कार्यान्वनमा लिएर जाने व्यवस्थापन पर्छ । यी दुई वटाको साझेदारीबिना देश विकास हुँदैन ।

हाम्रोमा समस्या नै कुर्सीबाट सुरू हुन्छ । कोही पनि व्यक्ति सरकारमा जानेबित्तिकै हरेक विषयमा सर्वज्ञाता हुन थाल्छन् । जीवनमा कहिल्यै उद्योगको ‘ऊ’ नसुने पनि नयाँ आएका उद्योग मन्त्रीले उद्योगपतिलाई अर्ति दिन थाल्छन् । पर्यटनमन्त्रीले त्यस क्षेत्रमा काम गरिसकेका खुँखारलाई कसरी पर्यटन गर्ने भनेर सिकाउन थाल्छन् ।
देश बन्न राजनीतिक नेतृत्वले सबै कुरा बुझ्नु पर्छ भन्ने छैन । तर उसले भएका स्रोत साधनको उचित रूपमा व्यवस्थापन गर्न अपरिहार्य छ ।

भारत लगभग श्रीलंकाकै अवस्थामा पुग्न लागेपछि जेनेभा पुगेका मनमोहन सिहंलाई तत्कालिन प्रधानमन्त्री नरसिंह रावले बोलाए । र, भने, ‘राजनीति म सञ्चालन गर्छु, जति कठिन भए पनि मेरो अर्थतन्त्रलाई तिमीले सम्हाल ।’ यति भनेर उनैलाई भारतको अर्थतन्त्रका साँचो सुम्पिदिए । त्यसपछि नयाँ प्रक्रिया सुरू गरियो । राजदूतकै गाडीमा कुद्ने भारत आज विश्वको मुख्य निर्यातकर्ता देशको रूपमा गनिन्छ । यस्ता सोच र चिन्तन हाम्रो राजनीतिमा पनि भित्रिन जरुरी छ ।

नेपालमा थप लगानीको खाँचो हुँदाहुँदै यता लगानी नगरेर किन विदेशमा गरेको प्रश्न गर्ने धेरै हुनुहुन्छ । राष्ट्रलाई विश्वमा चिनाउने विभिन्न माध्यम छन् । विश्वका धेरै ठाउँमा हामीले नेपाली झण्डा फहराएका छौं । त्यो झण्डामुनि कोही नेपालीले सेल्फी खिच्न पाउँदा भिन्नै महसुस गर्छ ।

गरिखाने अभियानबारे

गरिखानका लागि सोच चाहिन्छ । युवाले केही गर्छु, वातावरण बनाइदिनुपर्यो भनेको कुरालाई परियोजनासँग जोडेर परियोजनालाई पुँजीसँग जोड्नु पर्छ । त्यसलाई कार्यान्वयनमा लैजाने र सुधार ल्याउने मुख्य लक्ष्य हो । केन्द्रीय बैंकले पनि यो अभियानलाई साथ दियो । प्रत्येक फाइनान्सियल इन्स्चिट्युसनले त्यो क्याटागोरीमा पर्ने वर्षमा दशवटा संस्थालाई बिना धितो ऋण दिने भनेर नीति नै बन्यो । पाँच वटा सरकारले यो अभियानलाई आफ्नो नीति तथा कार्यक्रममा राखेका छन् ।

नेपाल फर्किन खोजेका नेपालीहरूलाई यो अभियानले समेट्न सक्छ । यति मात्रै होइन, गाउँ गाउँका युवालाई यसले सम्बोधन गर्छ । गरिखाने अभियानअन्र्तगत प्रत्येक गाउँ–गाउँमा इन्क्युबेटर खुल्छन् । त्यो इन्क्युबेटरबाट जन्मिएकाहरूलाई सामाजिक प्रभाव पार्न प्रोजेक्टहरुलाई लगानी गर्नका लागि थुप्रै संस्थाहरू छन् ।
ती इन्क्युबेटरले सोच नभएका युवालाई के गर्ने भन्ने कामको ‘रोस्टर’ दिन सक्छ । योजना कसरी बनाउने र त्यसलाई पुँजीसँग कसरी जोड्ने भन्ने ज्ञान दिन सकिन्छ । यो सबैलाई व्यवस्थापन गर्ने र युवाको सोचलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने यो बृहत् अभियान हो । यो अभियान सफल हुन्छ भन्नेमा म विश्वस्त छु । किनभने, यो भुइँ तहबाट विकासको बीउ छर्नका लागि सुरू भएको हो ।

(नेपालवाच डटकमको टेलिभिजन प्रस्तुति ‘पोलिसी डाइलग–२०२२’ मा उद्योगपति विनोद चौधरीले राख्नुभएको भनाइको सम्पादित अंश ।)