NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रामेछापमा कांग्रेसका कान्छारामलाई सहज र एमालेका कैलाशलाई कठिन किन ?

काठमाडौं । वागमती प्रदेशको रामेछापमा एमाले रक्षात्मक अवस्थामा देखिएको छ । अघिल्लोपटक माओवादी र एमाले मिलेर कांग्रेसलाई हराए । यसपटक भने कांग्रेस र माओवादी मिल्दा एमाले रक्षात्मक मात्रै होइन कमजोर देखिएको छ ।

एउटै मात्र प्रतिनिधिसभा क्षेत्र रहेको रामेछापमा यसपटक कांग्रेसबाट पूर्णबहादुर तामाङ ( कान्छाराम तामाङ) र एमालेबाट कैलाश ढुंगेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तर कांग्रेस एक्लै पनि प्रतिस्पर्धी हुनु, सत्ता गठबन्धनमा माओवादीका बलियो साथ र एमालेको विभाजनले गर्दा तामाङले सहजै चुनाव जित्ने देखिएको छ ।

स्थानीय चुनावमा गठबन्धन थिएन । तर कांग्रेसले एक्लै एमाले र माओवादीकोभन्दा बढी मत ल्याएको थियो । गठबन्धन नहुँदा पनि कांग्रेसले तीनवटा र एमाले पनि तीनवटा स्थानीय तह जितेका थिए ।

प्रदेशमा दुवै माओवादी उम्मेदवार छन् । प्रदेश १ मा पूर्व सांसद तारानारायण श्रेष्ठ, प्रदेश २ मा युवा नेता युवराज चौलागाईं उम्मेदवार छन् । प्रदेशसभाका दुवै उम्मेदवार माओवादीका हुँदाको फाइदा पनि कान्छारामलाई छ । एकअर्कालाई जिताउन दुवै पार्टीले मेहनत गर्नुपर्ने भएपछि कान्छारामलाई यसपटक चुनावमा सहजता भएको हो । यसैले जिल्लामा एमालेसँग प्रतिस्पर्धाभन्दा औपचारिकताको लागि समयमात्रै कुर्नुपरेको कांग्रेसका नेता रत्नहरि ढुंगेल बताउँछन् ।

२०७४ मा रामेछापको नतिजा

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर कांग्रेससँग भिडेका थिए । जसमा माओवादीका श्यामकुमार श्रेष्ठ ६३४६ मतान्तरले विजयी भएका थिए । दुई ठूला कम्युनिष्ट दलसँगको प्रतिस्पर्धामा कांग्रेसका कान्छारामको यो मतान्तर धेरै होइन । विजयी श्रेष्ठले ४२ हजार ११७ मत ल्याउँदा पराजित कान्छारामले ३५७७१ मत ल्याएका थिए ।

रामेछाप माओवादीको धेरै राम्रो प्रभाव भएको क्षेत्र हो । यसैले उसकोसमेत साथले यसपटक यसपटक कान्छारामलाई यहाँ चुनाव जित्न कठिन देखिएको छैन । किनकी यो माओवादीको बलियो पकड रहेको क्षेत्र हो । कांग्रेसले अघिल्लोपटक एक्लै भिड्दा पनि एमाले र माओवादीलाई टक्कर दिने मत ल्याएको थियो । यसपटक माओवादी कांग्रेससँगको गठबन्धनमा हुँदा कान्छारामको जित रामेछापमा सुनिश्चित जस्तै देखिएको छ ।

स्थानीय तहको चुनावमा को अगाडि ?

रामेछापमा ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो प्रतिनिधिसभा क्षेत्रभरका वडाहरूमा कांग्रेसले ४१०५१, एमालेले ३९०३३, माओवादीले २७०३९, नेकपा एसले १५७० र राप्रपाले ९३५ मत प्राप्त गरेका थिए ।

गठबन्धनको मत ६९६६० रहेको छ । जबकी एमाले ३०६२७ मतले पछाडि रहेको देखिन्छ । कांग्रेस एक्लै एमालेको प्रतिस्पर्धी पार्टी हो । रामेछापमा माओवादी पनि गठबन्धनमा हुँदा एमालेलाई चुनाव जित्न होइन प्रतिस्पर्धामा आउन नै कठिन देखिएको छ । अघिल्लोपटक एमाले र माओवादी मिल्दा कांग्रेस उम्मेदवार जम्मा ६ हजार तीन सय मतान्तरले पराजित भएका थिए । तर यसपटक कांग्रेस र माओवादी नै एकै ठाउँमा उभिंदा एमालेलाई चुनाव जित्न चमत्कार नै हुनुपर्ने अंकगणितले देखाउँछ ।

परोपकारी तामाङ

चुनावमा उम्मेदवार बन्दा मात्रै होइन अघिपछिसमेत कान्छाराम तामाङ परोपकारका कामले प्रसिद्ध छन् । चुनाव हारे पनि सरकारकै कार्यक्रमको झल्को दिएर उनी सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।

व्यापारी पृष्ठभूमिका नेता भए पनि तामाङ परोपकारी कामले प्रसिद्ध हुँदै आएका छन् । यसैले गर्दा उनलाई विरोधी पार्टीका कार्यकर्ताले पनि रुचाउँछन् । उनले जिल्लाबासीको उपचारको सहजताको लागि एकैपटक एक दर्जन बढी एम्बुलेन्स वितरण गरेका थिए । यतिमात्रै होइन उपचारमा असहजता हुने र बिल तिर्न नसक्नेको बिल पनि आफैं तिरिदिने नेतामा कान्छाराम पर्ने कांग्रेसका युवा नेता रत्नहरि ढुंगेल बताउँछन् । अप्ठ्यारोमा परेका बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरेर तामाङले पटकपटक आफूलाई परोपकारी काममा अग्रणी रहेको देखाउँदै आएका छन् । खेलकुदको विकास, कला संस्कृति र पर्यटननको संरक्षण र संम्वद्र्धनमा पनि पनि तामाङ उत्तिकै परिचित रहेको बताइन्छ ।

कोभिडकालमा रामेछापमा एउटा पनि आइसियु बेड नहुँदा उनले दुईवटा बेड किनेर आइसियु चलाउन लगाएका थिए । यतिमात्रै होइन रामेछापबासीका लागि कोभिड उपचार फ्रिमा गराउने र एम्बुलेन्स पनि फ्रिमा उपलब्ध गराएको कान्छाराम बताउँछन् । आफू पदमा हुँदा पनि नहुँदा पनि रामेछापबासीको लागि निरन्तर काममा खटिने स्वभाव नै आफ्नो जितको आधार भएको उनी बताउँछन् ।

एमाले अध्यक्ष केपी ओलीले जस्तो यो गर्छु त्यो गर्छु भन्ने तर केही नगर्नेभन्दा सधैं एकनासले जनताको पीरमर्कासँग लाग्ने स्वभाव आफ्नो भएको उनको भनाई छ ।

‘रेल ल्याइदिन्छु । पानी जहाज ल्याइदिन्छु भनेर फटाहा राजनीति गर्दिनँ । सक्ने र दिन सक्ने काम गर्ने प्रतिद्धवद्धता गर्छु । सक्ने काम रामेछापमा गर्छु । विकास र निर्माणको काम गर्छु । यो दिन्छु त्यो दिन्छु भन्दिनँ । दिनुपर्ने कुराहरु सक्ने कुराहरु दिन्छौं । तीनवटा सरकारको व्यवस्था संविधानले गरेको छ । म ठूला सपना देखाउदिन । तर गर्न सक्नेमात्रै भनेर पूरा गर्छु’ उनी भन्छन्, ‘हामीले स्थानीय तह जितेका छौं । तीनै तहमा जितेपछि हामी जनताले थप अनुभूत हुने गरी काम गर्छौ । नतिजा दिन्छौं । गठबन्धनमा हाम्रा योग्य साथीहरू उम्मेदवार हुनुहुन्छ । प्रदेशमा युवराजजीले जिते बराबर छ । संघमा पूर्णबहादुर तामाङ विजयी हुँदैछ । हामी सबै जितेका एक भएर लागेपछि धेरै काम गर्न सक्छौं ।’

कुनै पदमा नपुगेदेखि नै आफू परोपकारी काममा लागेकोले जनताले अमूल्य मत दिएर जिताउने कान्छाराम बताउँछन् ।

‘म कुनै पदमा होस वा नहोस् विकास, निर्माण, शिक्षा, र स्वास्थ्यका लागि धेरै काम गर्नुपर्छ भनेर लागेको मान्छे हुँ । हामीले धेरै काम गरेका छौं । अझै धेरै काम गर्ने सूची हामीसँग छ ।’ उनी भन्छन्, ‘एम्बुलेन्स, स्वास्थ्यचौकी कहाँ आवश्यक छ । त्यहाँ हामीले आवश्यक प्रबन्ध गरेका छौं । नपुगेका ठाउँमा गर्छौ । जनताले महसुस हुने गरी हामी नतिजा दिन सक्षम छौं । हामीले जितेपछि नागरिकले हाम्रो काम देखेपछि सन्तोष महसुस गर्नुहुन्छ ।’

कांग्रेसको बलियो संगठन र मत, सत्ता गठबन्धनको साथ, नागरिकले रुचाएका उम्मेदवारहरू, आफ्नो परोपकारी काम नै जितको आधार भएको उनको तर्क छ ।

कांग्रेस उम्मेदवार कान्छाराम भने कुनै पनि टिम नभई १४ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा जित्न सफल भएका थिए । अहिले देउवा टिमकै रुपमा परिचित भए पनि कान्छाराम सबै गुटका नेता र कार्यकर्ताबीच उत्तिकै परिचित छन् ।

यस्ता छन् एमालेका प्रतिस्पर्धी ढुंगेल

कान्छारामका प्रतिस्पर्धी ढुंगेल भने अहिलेसम्मै प्रतिनिधिसभा सांसद बन्न संघर्षरत नेता हुन् । २०४८ सालदेखि चुनाव उठ्न खोजे पनि कहिले टिकट नपाउने सधैं हारिरहने नेताको रुपमा ढुंगेल परिचित छन् । २०४८ मा एमालेबाट उम्मेदवार बन्न खोजे पनि पार्टीले जनमोर्चालाई समर्थन गरेको थियो । जसका कारण उनले टिकट पाएनन् । २०५१, २०६४ र २०७० मा टिकट पाए पनि प्रतिनिधिसभामा ढुंगेल पराजित हुन पुगे ।
२०७४ को चुनावमा ढुंगेलले प्रदेशसभातर्फ टिकट पाएर जिते । माओवादीले प्रतिनिधिसभामा टिकट पाउँदा तालमेलमा ढुंगेलले प्रदेशसभाको टिकट पाएर जितेका हुन् । त्यसपछि उनले तीन वर्ष वागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएर काम गरे । यसरी तीन वर्ष मन्त्री हुँदा भने रामेछापमा उनले राम्रो प्रभाव जमाएको बताइन्छ । यो बीचमा उनले धेरै नेता कार्यकर्तालाई पोसेर आफ्नो लागि राजनीतिक आधार बनाएको एक नेता बताउँछन् । रामेछापमा ढुंगेल एमालेको जिल्ला अध्यक्ष, जिविस सभापति हुँदा अहिले एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

के भन्छन् कान्छारामका प्रतिस्पर्धी ढुंगेल

एमाले रामेछापका उम्मेदवार कैलाश ढुंगेल विकास, समृद्धि र लोकतन्त्र रक्षाको लागि आफ्नो जित अपिरहार्य भएको बताउँछन् ।

‘निर्वाचनको स्वभाविक गरेको छु । निर्वाचनलाई लिएर आत्तिएको छैन । आफ्नो तयारी र परिचालन गरेको छु’ ढुंगेल भन्छन्, ‘सत्तागठबन्धनको टाउको टाउको मात्र मिलेको हो । तलको कुनै भाग मिलेको छैन । तल्लो तहका जनता मेरो पक्षमा छन् । नागरिकले पनि विकास, समृद्धि लोकतान्त्र र परिवर्तन खोजेका मैंले जित्ने हो । होइन सिद्धान्तहीन, लोकतन्त्रविहीनले जित्ने हो भने अरुले जित्ने हो ।’