NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मोरङमा चुनाव जित्न गुरुलाई सहज

काठमाडौं । इमान्दार र बौद्धिक छवि बनाएका कांग्रेस युवा नेता गुरु घिमिरेलाई यसपटक चुनाव जित्न निक्कै सहज देखिएको छ । मोरङ ४ (१)बाट प्रदेशसभामा उम्मेदवार बनेका गुरुलाई यसपटक चुनाव जित्न सहज देखिएको हो । गठबन्धन दलको बल, इमान्दार र बौद्धिक नेताको छवि, विपक्षीका कमजोर उम्मेदवार रहेकोले गुरुले सहजै निर्वाचन जित्ने बताइन्छ ।

मोरङ ४ कांग्रेसको बलियो क्षेत्र हो । गत स्थानीय तहको निर्वाचनमा मोरङ ४ को प्रतिनिधिसभा क्षेत्रभरका वडाध्यक्षतर्फ एमालेले २५७३० मत पाएको थियो । कांग्रेसले २१८९४ मत पाएको छ । माओवादीले ९९९० मत पाएको छ । राप्रपाले ४६७४, जसपाले ३११२ र नेकपा एसले १२५५ मत पाएको छ ।

पूरै क्षेत्रमा एमालेभन्दा गठबन्धन दुई हजारभन्दा बढी मतले अगाडि देखिएको छ । यही मतको अनुपातमा प्रदेशसभातर्फ आधाआधा मत खस्दा पनि मतमा सत्ता गठबन्धन बलियो देखिएको हो ।

घिमिरे पनि नेविसंघका पूर्व सभापति हुन् । कांग्रेस युवा नेतामा वैचारिक बहस गर्ने र इमान्दार नेताको रुपमा उनी परिचित छन् । कांग्रेसमा केन्द्रीय सदस्य भइसकेका उनी अहिलेसम्म सांसद हुन पाएका छैनन् । उनलाई पार्टीले अहिलेसम्म चुनावमा टिकट दिएको छैन । तर यसपटक मोरङ ४ बाट चुनाव लड्न उनले पार्टीमा निवेदन हालेका थिए ।

यो क्षेत्रमा २०७४ सालमा माओवादीका अमनलाल मोदीले कांग्रेसका महेश आचार्यलाई ६७२९ मतान्तरले पराजित गरेका थिए । यो क्षेत्रबाट यसपटक घिमिरेसहित अघिल्लोपटक पराजित भएका आचार्य र दिलीप खवास गच्छदारले पनि निवेदन हालेका थिए । सत्ता गठबन्धनबीच अघिल्लोपटक जितेका उम्मेदवार नै दोहोरिने सैद्धान्तिक सहमतिअनुसार माओवादीका मोदीले नै टिकट पाएका छन् । लाभको पद नलिएको, वैचारिक र इमान्दार नेता भएकोले गुरुलाई टिकट दिनुपर्ने दबाब यसपटक कांग्रेसलाई थियो । तर उनलाई प्रदेशसभाको टिकट दिइएको छ ।

यो प्रदेशसभामा २०७४ सालमा मोरङ ४ (१) मा माओवादीका विजयकुमार विश्वास विजयी भएका थिए । २०७४ सालमा कांग्रेसका भक्तिनाथ माझी थारु तीन हजार मतान्तरले पराजित भएका थिए । यसपटक कांग्रेस र माओवादी मिलेकोले गुरुलाई चुनाव जित्न सहज हुने देखिन्छ ।
प्रदेश १ का भावी मुख्यमन्त्रीका समेत दाबेदार हुन् गुरू ।

को–को छन् गुरुका प्रतिस्पर्धी ?

मोरङ ४ मा १ मा गुरुसँग एमालेका जयप्रकाश चौधरी, राप्रपाका आशनारायण माझी, हाम्रो नेपाली पार्टीका नन्दकुमार सरदार, लोकतान्त्रिक समाजवादी पार्टीकी हेमन्तीकुमारी सुतिहार, मंगल नेसनल अर्गनाइजेसनका नन्द राई र स्वतन्त्रका प्रद्युम्न चौधरी चुनावी प्रतिस्पर्धामा छन् ।