NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जुम्लामा दुई अस्थायी मतदान केन्द्र

जुम्ला । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जुम्लामा थप दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउनका लागि जिल्लामा साल्ट टे«डिङ कर्पोरेशन शाखा कार्यालय जुम्ला र जिल्ला कारागार कार्यालयमा एक, एक वटा अस्थायी मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रसेवक र अन्य मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप अस्थायी मतदान केन्द्र राखिएको उक्त कार्यालयले जनाएको छ ।

मतदाता सूचीमा नाम दर्ता भएका १४ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका छन् । जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीसहित एक हजार मतपत्र समानुपातिकतर्फ आएको छ ।

जिल्लामा एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि एकमात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ ९१० मा ३६ हजार सात सय ८३ र प्रदेशसभा ९२० मा ३१ हजार छ सय ३८ मतदाता रहेको कार्यालयले जनाएको छ ।