NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काठमाडौं ४ मा गगनको जितको ह्याट्रिक, राजनको लगातार दुई हार

काठमाडौं । काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाले जितको ह्याट्रिक गर्ने पक्का भएको छ । गन्न बाँकी सबै मत एमाले उम्मेदवार राजन भट्टराईले ल्याए पनि थापाको जित पक्का भएको हो ।

अब काठमाडौं ४ मा चार हजार ८ सय हाराहारी मत गन्न बाँकी छ । जबकी गगनको अग्रता ५ हजारभन्दा माथि छ । यसैले लगातार तेस्रोपटक यही क्षेत्रबाट थापाको जित पक्का भएको हो ।

थापाले २०७०, २०७४ र २०७९ मा एमालेका उम्मेदावारलाई पराजित गर्दै जितको ह्याट्रिक गर्ने पक्का भएकाे हाे । थापासँग भट्टराईले लगातार दुई हार बेहोरे ।

२०७४ मा थापाले भट्टराईलाई यही क्षेत्रबाट ३४१८ मतले पराजित गरेका थिए । यसपटक झन् बढीको मतान्तरले थापा विजयी उन्मुख रहेका छन् ।

त्यसअघि  २०७० मा पनि थापाले एमालेका निर्मल कुईंकेलमाथि शानदार जित दर्ता गरेका थिए । कांग्रेसबाट शुप्रभा घिमिरे बागी बन्दै उम्मेदवार बने पनि थापाले कुईंकेलमाथि १३२०१ को फराकिलो मतान्तरले जितेका थिए ।

२०६४ को पहिलो संविधानसभामा भने समानुपातिकबाट सांसद भएका थिए ।

प्रधानमन्त्रीको दाबेदार बलिया थापा

कांग्रेसबाट यसपटक फेरि प्रतिनिधिसभामा उठ्दै गर्दादेखि नै थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएका थिए । चुनाव नजिकिंदै गर्दा थापाले आफूलाई प्रधानमन्त्रीको बलियो दाबेदारको रुपमा भोट दिन आग्रह गरेका थिए ।

आफू संसदीय दलको नेतामा उठेर प्रधानमन्त्रीको दाबेदार बन्ने भन्दै थापाले कांग्रेसलाई मत दिन देशभरका मतदातालाई आग्रह गरेका थिए । थापालाई संसदीय दलको निर्वाचन जित्न भने सहज छैन । किनकी प्रत्यक्ष र समानुपातिकमा थापाकै टिमका सांसद धेरै जितेर आउनुपर्ने हुन्छ । सभापति शेरबहादुर देउवाले उम्मेदवार चयन गर्दादेखि नै आफ्नो पकड हुने गरी चलाखी गरेका थिए ।

संसदीय दलको नेता भएर मात्रै प्रधानमन्त्री हुन सकिने अवस्था भने छैन । सत्ता गठबन्धन दलले बहुमत ल्याउनुपर्नेछ । अहिलेसम्मको परिणामको अवस्था हेर्दा कांग्रेस, माओवादी, नेकपा एस र लोसपा मिल्दा सरकार गठन गर्न कठिन हुने देखिन्छ ।

पार्टी भित्रैको एउटा पक्षले थापालाई हराउने गरी अभियान चलाउन खोजे पछि अन्तिमसम्म उनले आफूलाई प्रधानमन्त्रीको बलियो दाबेदारको रुपमा प्रस्तुत गरेर झन् मत बढाएका थिए । आफ्नोविरुद्धमा पार्टीभित्रैका केही नेताहरू लागेपछि थापाले प्रधानमन्त्रीमा उठ्ने विषयलाई निक्कै प्राथमिकतामा पारेर झन् मत बढाएका हुन् ।