NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चुनावी मतपरिणाम : राष्ट्रिय दलको मान्यता पाउन नेकपा एसलाई मुस्किल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एमालेका विद्रोही शक्ति एकीकृत समाजवादीलाई ठूलो झट्का लाग्ने देखिन्छ । एमाले विभाजनपछि दोस्रोपटक चुनावी मैदानमा उत्रिएको उसले अहिलेसम्म एउटा पनि खाता खोल्न सकेको छैन । सत्ता गठबन्धनबाट २१ सिटमा उम्मेदवारी दिएकोमध्ये ६ स्थानमा मात्र आग्रता लिइरहेको छ । समानुपातिकतर्फ नेकपा एसको पोजिसन निकै झिनो मतसहित १० औं स्थानमा देखिएको छ । अन्तिम मतपरिणाम आउँदासम्म मतान्तर यहि अनुपातमा बढे नेकपा एसले राष्ट्रिय दलको मान्यता पाउन मुस्किल देखिन्छ । जुन निकै पीडादायी अवस्था हो ।

कुन उम्मेदवारको अवस्था कस्तो छ ?

पछिल्लो मत परिणाम अनुसार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ८ हजार २६२ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अजयकुमार गुप्ता ७ हजार ६२९ मत प्राप्त गरेका छन् । अहिलेसम्म नेपाल ६३३ मतान्तरले लिड गरेका छन् ।

त्यस्तै सल्यालनबाट उपमहासचिव प्रकाश ज्वाला ७ हजार १२९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । यसैगरी मेटमणि चौधरी दाङ–१, प्रेमबहादुर आले डोटी, शेरबहादुर कुँवर अछाम–१, कृष्णकुमार श्रेष्ठ बारा–४ बाट अग्रता लिएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ मा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा निकै पछाडि परेका छन् । धादिङ–१ मा राजेन्द्र पाण्डे, मकवानपुरमा विरोध खतिवडा, रामेछाप–१ मा देवशंकर पौडेल, सिराहा–४ मा धर्मनाथप्रसाद साह आफ्ना प्रतिस्पर्धीभन्दा पछि परेका छन् ।
यसैगरी सोमप्रसाद पाण्डे पाल्पा–२, काठमाडौं–८ जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री गुल्मी–२, रामचन्द्र झा धनुषा– २, धनबहादुर बुढा– डोल्पा, जगन्नाथ खतिवडा उदयपुर–२, श्रीनाथ बराल कास्की–२, अम्बरबहादुर थापा दैलेख–१, भानुभक्त जोशी बझाङमा उठेका थिए । उनीहरूले पनि प्रतिस्पर्धीलाई उछिन्न सकेका छैनन् । ललितपु–२ मा कृष्णलाल महर्जन पराजित भएका छन् । उनी अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ नेकपा एसको पोजिसन हेर्दा छैटौं स्थानमा रहेको छ ।

नेकपा एसले राष्ट्रिय दलको मान्यता पाउन मुस्किल

निर्वाचनअघि एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको नामै लिएर एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नपाउने टिप्पणी दिएका थिए । एकीकृत समाजवादीको भविष्य मंसिर ४ सम्म भएको भविष्यवाणी गर्दै उनले नेता तथा कार्यकर्तालाई निर्वाचनअघि नै एमाले फर्किन आग्रह गरेका थिए ।

‘माओवादी योपटक पनि तेस्रो दल हुन्छ । राप्रपा र जसपा एमालेसँग मिसिएकाले राष्ट्रिय दलको मान्यत पाउँछ । माधव नेपालको एउटा पार्टी छ । उसले राष्ट्रिय दलको मान्यता पाउँदैन’, कर्णाली प्रदेशको मुकाम सुर्खेतमा चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए, एकीकृत समाजवादीको भविष्य मंसिर ४ सम्म मात्र हो । त्यहाँ अलमलिएर बसेका नेता तथा कार्यकर्तालाई चुनावअघि नै एमाले फर्किन आग्रह गर्छु ।’

ओलीले माधवप्रति जुन मनसायले अप्रिय टिप्पणी गरेतापनि मतपरिणामले उनको टिप्पणीलाई पुष्टि हुने आधार बन्दै गएको छ । देशभरबाट समानुपातिकतर्फ नेकपा एसले पाएको मत हेर्दा उसले राष्ट्रिय दलको मान्यता पाउन मुस्किल देखिन्छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता पाउनका लागि प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ न्यूनतम ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । यो निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न कुल सदर मतको ३ प्रतिशत मत पाउने पर्छ ।

निर्वाचन आयोगका अनुसार करिब एक करोड ७९ लाख मतदाता रहेकोमा ६१ प्रतिशत मतदाताले मतदान गरेका छन् । खसेको कुल ६१ प्रतिशतलाई आधार मान्दा करिब एक करोड ९ लाख १९ हजारले योपटक मतदान गरेका छन् । मानौं खसेको मतमध्ये १० प्रतिशत मत बदर भएछ भने एक करोड मत सदर हुन आउँछ । यदि एक करोड मत सदर भए ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नेकपा एसले करिब ३ लाख मत ल्याउनै पर्छ । अहिलेसम्म उसले पाएको जम्मा मत हेर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने अवस्था छैन । यो स्थिति आउनु भनेको नेकपा एसको लागि ठूलो पराजय हो । आगामी निर्वाचनपछि एमाले धुलोपिठो हुने र ओलीलाई भित्तामा पुर्याइदिने चेतावनीसाथ कांग्रेससँग गठबन्धन गरी चुनावी मैदानमा होमिएको माधव–झलना आफै धुलोपिठो हुने अवस्थामा पुगेका छन् ।

यस्तो छ समानुपातिकतर्फ दलहरूको अवस्था

पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ एमाले सबैभन्दा बढि मत ल्याइ पहिलो दल भएको छ । दोस्रोमा कांग्रेस रहेको छ । तेस्रो दलका अप्रत्यासित रूपमा रवि नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको छ । २०७० देखि तेस्रो स्थानमा रहेको माओवादी केन्द्र योपटक चौंथो स्थानमा पुगेको छ । पाँचौं स्थानमा राप्रपा रहेको छ । यसैगरी छैटौं स्थानमा जसपा रहेको छ । सातौं स्थानमा सीके राउतको जनमत पार्टीले अप्रत्यासित नजिता ल्याएको छ । आठौं स्थानमा नेपाल मजदुर किसान पार्टी रहेको छ । नवौं स्थानमा नागरिक उन्मुक्ति पार्टीले अपत्यारिलो नजिता ल्याएको छ । अत्यन्तै थोरै मतसहित एकीकृत समाजवादी १० औं स्थानमा खुम्चिएको छ ।

स्थानीय तह निर्वाचनमा यस्तो थियो दलहरूको स्थिति

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेस ३४.२८ प्रतिशत मतसहित पहिलो दल भएको थियो । एमाले ३३.०३ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेको थियो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १३.०३ प्रतिशत, जसपा ५ प्रतिशतसहित चौंथो, नेकपा एस ३.६६ प्रतिशत मत प्राप्त गरी पाँचौं स्थानमा रहेको थियो । राप्रपाले ३. १६ प्रतिशत मत प्राप्त गरी छैटौं स्थानमा थियो । लोसपाले २.१२ प्रतिशत, जनमतले पार्टी १ प्रतिशत, नेमकिपाले ०.४२ प्रतिशत, राष्ट्रिय जनमोर्चाले ०.३५ र नागरिक उन्मुक्ति पार्टीेले ०.२७ प्रतिशत मत प्राप्त गरेको थियो ।