NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मेसीको टिम स्तब्ध बनेपछि डेली मेलले लेख्यो : डन्ट क्राइ फर अर्जेन्टिना

काठमाडौं । विश्वकप फुटबलमा साउदी अरेबियाले सनसनीपूर्ण प्रदर्शन गर्दै लियोनेल मेसी प्रेरित अर्जेन्टिनालाई पराजित गरेको छ । समूह सीको पहिलो खेलमा अर्जेन्टिना साउदीसँग स्तब्ध बनेपछि विश्वभरका मिडियाले अनपेक्षित परिणाम भनेर लेखेका छन् ।

खेलमा १–० गोलको अग्रता लिनुको बाबजुद अर्जेन्टिनाले साउदीसँग २–१ गोलको पराजय बेहोरेको हो ।

विश्वको चर्चित मिडिया डेल मेलले अर्जेन्टिनाको स्तब्धपूर्ण पराजयपछि लेखेको छ –डन्ट क्राइ फर अर्जेन्टिना ।

अर्जेन्टिना विश्वकप जित्ने दाबेदार टिम हाे । तर पहिलाे खेलमै उसले नमिठाे झट्का बेहाेर्याे ।

४८ औं मिनेटमा सालेह अल सेहरी अर्जेन्टिनाको रक्षापंक्तिलाई जिल्याउँदै बराबरी गोल गरे । ५३ औं मिनेटमा सालेम अल दसारीले अर्जेन्टिनाविरुद्ध अर्को गोल गरे । अन्ततः यही गोल नै अर्जेन्टिनालाई पराजित गर्न निर्णायक बनिदियो ।

१० औं मिनेटमा मेसीले पेनाल्टी गोलमा टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा अर्जेन्टिनाले लगातार दुई गोल खाएपछि खेलमा फर्कन नसकेको हो ।

४८ र ५३ औं मिनेटमा अर्जेन्टिनाले गोल खाएको हो । पहिलो हाफमा अर्जेन्टिनाले गरेका तीनवटै गोल अफसाइड भएका थिए ।
यसैबीच अर्जेन्टिनाको लगातार ३६ खेलको पराजयविहीन यात्रालाई पनि साउदीले टुंग्याइदिएको हो ।

पहिलो हाफमा आत्मविश्वासी देखिएको अर्जेन्टिना दोस्रो हाफमा लागतार दुई गोल खान पुगेपछि अत्तालिएको थियो । अन्तिमसम्मै गोल फर्काउन कोशिश गरे पनि सफल हुन सकेन । जसले उसलाई पहिलो खेलमा दुखद् पराजयको सामना गर्न बाध्य बनायो ।

लगातार ३६ खेलमा अपराजित रहेको अर्जेन्टिना कीर्तिमान बराबरी गर्नबाट पनि चुक्यो । इटालीले एक पनि नहारी लगातार ३७ खेल जितेको रेकर्ड आफ्नो नाममा लेखाएको छ । कम्तिमा पनि बराबरी मात्रै गर्न सकेको भए यो कीर्तिमानसँग उसले बराबरी गर्ने थियो ।

पराजयपछि दबाबमा अर्जेन्टिना

अब बाँकी मेक्सिको र पोल्यान्डविरुद्ध जितेमात्रै अर्जेन्टिनालाई अन्तिम १६ मा जान बाटो खुल्नेछ । अन्यथा अब एकमात्रै बराबी वा पराजयले पनि अर्जेन्टिनालाई कठिन हुनेछ ।