NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रुस र क्युबा सम्बन्ध विस्तारमा जोड

एजेन्सी । रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको छ ।

रुस भ्रमणमा रहेका क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव मिगुल दियाज–क्यानेल बर्मुदिजले मङ्गलबार रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

उनीहरु बीचमा भएको वार्तामा दुई देशले आपसको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।

सोभियत युनियन र रुसी नागरिक सधैँ क्युबाको पक्षमा रहेका छन् र क्युबाली नागरिकले उनीहरुको स्वतन्त्रता र देशका सार्वभौमिकताका पक्षमा गरेका संघर्षका पक्षमा छन्– पुटिनले सो भेटका क्रममा बताएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

मङ्गलबार मस्कोमा भएको भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा पनि यो सम्बन्धलाई थप सुमधुर बनाउने भन्दै विभिन्न अन्तर्राष्ट्रिय फोरममा रुसले क्युबाको पक्षमा समर्थन गर्ने जनाएको पनि सो समाचारमा जनाइएको छ ।

रुसको औपचारिक भ्रमणमा गएका प्रथम सचिव बर्मुदिजले हाल रुसले विश्व राजनीतिमा प्रदर्शन गरेको भूमिकाको समर्थन गर्दै क्युबाको सहयोगका लागि रुसले खेलेको भूमिकाको पनि प्रशंसा गरेका थिए ।

उनीहरु सो भेटवार्ताअघि मस्कोमा आयोजित क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शालिक अनावरण समारोहमा उपस्थित भएका थिए । त्यस अवसरमा पूर्व राष्ट्रपति क्यास्ट्रोप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।