NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आठ स्थानमा मतगणना जारी, तीन स्थानमा अझै भएन गणना

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चुनावी परिणमा अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो रिर्पोट अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार ५३ सिटसहित कांग्रेस पहिलो स्थानमा रहेको छ । तीन स्थानमा अग्रता कायमै छ । दोस्रो स्थानमा रहेको एमालेले ४२ स्थानमा विजयी भएको छ । १ स्थानमा अग्रता कायमै छ । त्यस्तै माओवादी केन्द्र १७ स्थानमा विजयी हुँदै तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । राप्र्रपा ७ सिटसहित पाचौं स्थानमा छ ।

त्यस्तै जसपा ६ सिटमा विजयी भएको छ । एक स्थानमा अग्रता कायमै राखेको छ । यसैगरी लोसपा ४, नागरिक उन्मिुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ स्थानमा विजयी भएको छ । अन्यले ६ सिट जितेको छ ।
प्रदेश १ अन्तर्गत सुनसरी–१, सुनसरी–३, सुनसरी–४, उदयपुर–१ र मधेश प्रदेशको धनुषा–४ मा मतगणना जारी छ ।

सुनसरी–१

पछिल्लो मतपरिणाम अनुसार सुनसरी–१ मा जनता समाजवादीका उम्मेदवार अशोककुमार राई १४ हजार ४२६ मतसहित अग्रता कायमै राखेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले १४ हजार २०८ सहित कडा टक्कर दिइरहेकी छिन् । यहाँ राइको मतान्तर २१० छ । राई र तामाङबीच अघिपछि हुनेक्रम जारी छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले ११ हजार २६६ मत पाएका छन् ।

सुनसरी–३

सुनसरी–३ मा एमालेकी उम्मेदवार भगवती चौधरी २४ हजार २६३ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पूर्वमन्त्री तथा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछ्याइरहेका छन् । गच्छदारले १९ हजार ६७० मत पाएका छन् ।

सुनसरी–४

धाँधली भएको आरोपमा शनिबार मतगणना रोकिएको सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की २३ हजार ४३९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतले पछ्याइरहेका छन् ।

उदयपुर–१

उदयपुरमा–१ मा परराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार ८३३ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी एमालेका मञ्जु चौधरीले २० हजार १२० मतका साथ पछ्याइरहेकी छिन् ।

धनुषा–४

मधेश प्रदेशको धनुषा–४ मा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठ र कांग्रेसका उम्मेदवार महेन्द्र यादवबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । यादवले २३ हजार ५६५ मतका साथ अग्रता कायम गरिरहँदा सेठले २३ हजार १०७ मतले पछ्याइरहेका छन् । यहाँ अहिले सेठ ४५८ मतले पछि परेका छन् ।

तीन ठाउँमा मतगणना हुन सकेन

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण सम्पन्न भएपनि सुदूरपश्चिमा मतदानको दिन प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि मतगणना रोकिएको छ । पुनः मतगणना गर्ने कि नगर्नेभन्नेमा निर्वाचन आयोगको टोलीले स्थलगत निरिक्षण गरी आइतबार काठमाडौं फर्किको एमालेका उम्मेदवार कर्णबहादुर थापाले जानकारी दिए । कांग्रेसले हार्ने देखिएपछि राज्यशक्तिको दुरुपयोग गरेको उनको आरोप छ । आयोगका निर्णय आएपछि पुनः मतदान गर्ने वा मतगणना सुचारु गर्नेभन्नेमा थाहा हुने उनले बताए । यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै स्याङ्जा–२ मा बुथ कब्जा गरेर मरेको मानिसको नाममासमेत मतदान भएकोभन्दै एमालेले विरोध जनाएपछि मतगणना हुन सकेको छैन । यहाँ एमालेबाट पूर्वमन्त्री पद्मा अर्याल उठेकी छिन् । गठबन्धनबाट कांग्रेसका उपसभापति धनराज गुरुङ उठेका छन् ।
यसैगरी एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा पनि अहिलेसम्म मतगणना हुन सकेको छैन । कांग्रेसले बुथ कब्जा गरी एकलौटी भोट खसालेको एमालेले आरोप लगाएपछि मतगणना स्थगित भएको हो ।