NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

कपिलवस्तु । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिए । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।

क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ ।

क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । ‘हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन’, उनले भने ।

जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार दुई ३२ रहेकामा दुई लाख ५३ हजार पाँच सय नौ मत खसेको थियो । जिल्लामा ६७ दशमलव दुई प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताए ।