NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जो मूर्ति बनाएर सात जनाको परिवार पाल्छन्

सहजपुर । बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ ।

बुबाबाट मूर्ति बनाउन सिकेका उनले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन् । यसैबाट आफ्नो र परिवारको जीवन पनि धानेका छन् उनले ।
सत्र वर्षको उमेरदेखि नै उनी निरन्तर रुपमा मूर्ति बनाउँदै आइरहेका छन् ।

‘बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले अर्डर दिए मूर्तिहरु पनि बनाउनुहुन्थ्यो, अमरले भने,‘बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ, म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छु’, उनले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताए । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उनको भनाइ छ ।

यही पेशाबाट उनको सातजनाको परिवार चलेको छ । उनले सानैदेखिको आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताए । उनले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आएका छन् । सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उनको भनाइ छ ।

सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उनले भने, ‘अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।’ मासिक २५ देखि ३० हजारसम्म कमाउने उनले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्छन। “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उनले भने, ‘समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।’

महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उनलाई तीन महिना लागेको थियो । उनले सो मूर्ति बनाएबापत आफूले एक लाख २० हजार लिएको बताए । उनले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाए । तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उनले बताए ।

करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ । अहिले उनी फूलबारीको एउटा मन्दिरले दिएको अर्डर अनुसारको मूर्ति बनाइरहेका छन् ।

मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उनले बताए । ‘मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु’, उनले भने। मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उनले बताए ।

उनले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गरे । “मूर्ति बनाउन इच्छुक धेरै मानिसहरु छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने काम भएको छैन । ‘व्यावसायिक रुपमा मूर्तिको बजार राम्रो छ । बजारमा मूर्तिको माग पनि राम्रै छ’, उनले भने, ‘तर हामीले यसलाई व्यावसायिक रुपमा लैजान सकेका छैनाैँ’