NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस–एमालेलाई नयाँ दलको चुनौती : मतसंख्या कसले बढाए ? कसले घटाए ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा परम्परागत दल एमाले, कांग्रेस र माओवादी केन्द्रले चुनावी रणनीति बनाउँदा प्रतिनिधिसभा निर्वाचमा असफल देखिएका छन् ।

सत्ता गठबन्धनका पाँच दलले स्थानीय तहमा दलहरूले पाएको मतका आधारमा १६५ निर्वाचन क्षेत्रमा भागबण्डा गरेको थियो । विपक्षी एमालेले पनि सोही मतका आधारमा गठबन्धनलाई पराजित गर्ने रणनीति बनायो । तर सत्ता गठबन्धन र एमाले गठबन्धनले एकले अर्कालाई पराजित गर्ने रणनीति बनाउँदा उनीहरूले स्वतन्त्र र नव गठित दलहरूको उदलयलाई नजर अन्दाज गरे ।

जुन त्यतिबेलै काठमाडौं, धरानमा बालेन र हर्कको विजयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परम्परागत दललाई ठूलो धक्का लाग्न सक्ने संकेत दिएको थियो । स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदको रोष्टमा उभिएर स्वतन्त्र उम्मेदवारबाट बढारिन सक्ने चेतावनी दिएका थिए ।

‘बालेन–हर्कहरू झिल्को मात्र हो । युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदै छ । यसलाई सम्बोधन गर्न सक्नु भएन भने आउँदो निर्वाचनमा सहरी क्षेत्रमा हामी बढारिन्छौं,’ उनले भनेका थिए, ‘मलाई त आत्मविश्वास छैन । म सकेसम्म नवीकरण गर्न प्रयास गरिरहेको छु । युवा पुस्तालाई सम्बोधन गर्नुपर्छ ।’

भट्टराईले संकेत गरेजस्तै दलहरूले चेतनशील युवाहरूको सम्भावित सहरी विद्रोहलाई नजर अन्दाज गर्दा नव गठित दल राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मिुक्ति पार्टी, जनमत पार्टीलगायत स्वतन्त्र उम्मेदवारहरूले परम्परागत दलका उम्मेदवार उनीहरूकै कोर एरियामा बढारिए ।

प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १६२ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । स्थगित भएको तीन जिल्ला स्याङ्जामा बुधबाररातिदेखि मतगणना जारी छ । बिहीबार पुनः मतदान भएको दोलखा र बाजुरामा निर्वाचन आयोगले मतगणनाको तयारी गरिरहेको छ । जसअनुसार प्रत्यक्षतर्फ कांग्रेस ५५ सिटसहित पहलो दल भएको छ ।

४४ सिटसहित एमाले दोस्रो, माओवादी केन्द्र १७ ल्याएर तेस्रो दल भएको छ । ४ औं स्थानमा रहेको एकीकृत समाजवादीले १० सिट जितेको छ । पाचौं स्थानमा रहेको रवि नेतृत्वको नवगठित दल रास्वपाले ७ सिट जित्न सफल भएको छ । त्यस्तै राप्रपा ७, जसपा ७, स्वतन्त्र ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा १ र राष्ट्रिय जनमोर्चा एक स्थामा विजयी भएका छन् ।

एक सय ५० सिट ल्याउने दाबी गरेको एमालेले समानुपातिकमा ३५ सिटको हाराहारीमा जित्न सक्ने देखिन्छ । आयोगको पछिल्लो तथ्याङ्क अनुसार समानुपातिकतर्फ एक करोड ३ लाख ५९ हजार ५५० मत गनिसक्दा एमाले २७ लाख ६६ हजार ९७६ मतसहित पहिलो दल भएको छ । यसैगरी बहुमत ल्याउने दाबीसहित निर्वाचनमा होमिएको सत्ता गठबन्धनले पनि सोचेको जस्तो परिणाम ल्याउन सकेन ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका कांग्रेसले समानुपातिकतर्फ ३२ सिट जित्ने देखिन्छ । उसले २६ लाख ३५ हजार ८५२ मत पाएको छ । तेस्रोमा रहेको माओवादी केन्द्र ११ लाख ६० हजार ८९८ मत पाएको छ । माओवादीले समानुपातिकतर्फ बढीमा १५ सिट पाउने देखिन्छ। तेस्रो स्थानमा कायम राख्न माओवादीलाई रास्वपासँग निकै संघर्ष गर्नुपरेको छ ।

चौंथोमा रहेको रास्वपाले अप्रत्यासित रुपमा ११ लाख १४ हजार ६३९ सहित परम्परागत दलहरूलाई चुनौति दिएका छन् । समानुपातिकतर्फ रास्वपाले माओवादीकै हाराहारीमा सिट संख्या पाउने देखिन्छ । ताकि रवि नेतृत्वको दल स्थानीय तह निर्वाचनमा दर्ता नै भएको थिए ।

अघिल्लो निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको राप्रपाले अहिलेसम्म ५ लाख ८५ हजार २५७ मतसहित ५ औं स्थानमा उक्लिन सफल भएको छ । समग्रमा उसले समानुपातिकतर्फ ६/७ सिट पाउने देखिन्छ । एमालेलाई धुलोपिठो पार्ने दावीसहित कांग्रेस–माओवादीसँग सहकार्य गरेको विद्रोही दल एकीकृत समाजवादीले यो रिपोर्ट तयार गर्दासम्म ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेको छैन । यद्यपी तीन जिल्लाको अन्तिम मतपरिणाम आउन बाँकी नै रहेकाले राष्ट्रिय दल बन्ने सम्भावान जिवितै छ ।

यसैगरी अघिल्लो निर्वाचनमा चौंथो शक्ति रहेको जसपा १२/१३ सिटको हाराहारीमा खुम्चिने देखिन्छ । समानुपातिकतर्फ उसले ४ लाख १९ हजार ४६२ मत पाएको छ । यो निर्वाचनमा समानुपातिकतर्फ जसपालाई नवगठित जनमत पार्टीले चुनौति दिएको छ । उसले अहिलेसम्म ३ लाख ९४ हजार २७६ मत पाएको छ ।

एकीकृत समाजवादीले २ लाख ९३ हजार ९५७ मत पाएको छ । नवौं स्थानमा प्रत्यक्षतर्फ ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६४६ मत पाएको छ । दशौं स्थानमा लोसपाले एक लाख ६७ हजार २७७ मत पाएको छ। अघिल्लो निर्वाचनमा लोसपाले राष्ट्रिय दलको मान्यतासहित पाँचौं दलमा रहेको थियो ।

यस्तो छ स्थानीय तहमा दलहरूको स्थिति

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ३९ लाख ५६ हजार १९३ मतसहित पहिलो दल भएको थियो । समग्रमा कांग्रेसले पाएको मत ३४.२८ प्रतिशत हो । दोस्रो दल भएको एमालेले ३८ लाख ११ हजार ६०२ अर्थात् ३३.०३ प्रतिशत मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले १५ लाख ३२ हजार ४७ मत पायो । समग्रमा उसले पाएको मत १३.०३ प्रतिशत हो ।

यसैगरी चौंथो दल भएको जसपाले ५ प्रतिशत मत पाएको थियो । पाँचौं स्थानमा रहेको एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ अर्थात् ३.६६ मत प्राप्त गरेको थियो । राप्रपाले ३ लाख ६६ हजार १६० मतसहित छैटौं स्थानमा रहेको थियो । उसले पाएको मत समग्रमा ३.१६ प्रतिशत मत हो ।

त्यस्तै लोसपाले २.१२ प्रतिशत मत पाएको थियो । स्थानीय तह निर्वाचनमा पहिलोपटक दर्ता गरेको सिके राउतको दल जनमत पार्टीले एक प्रतिशत मत पाएको थियो । यसैगरी नेमकिपाले ०.४२, राष्ट्रिय जनमोर्चाले ०.३५ प्रतिशत मत ल्याइ शीर्ष १० भित्र पर्न सफल भएको थियो ।

स्थानीय तहमा पहिलो दल भएको कांग्रेस प्रतिनिधसभा निर्वाचनमा दोस्रो स्थानमा रहेको छ । अघिल्लो निर्वाचनमा जस्तै योपटक पनि एमाले लोकप्रिय मतसहित पहिलो दल बन्न सफल भएको छ । तेस्रोमा रहेको माओवदी केन्द्र योपटक रविको पार्टीसँग निकै चुनौती झेल्नु पर्यो ।

स्थानीय तह निर्वाचनमा एक प्रतिशत मत ल्याएको जनमत पार्टीले दल दर्ता गरेको छोटो समयमै जसपा र लोसपाको गढ ध्वस्त पार्न सफल भयो ।

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न हम्मेहम्मे परिरहेको छ । युवा पुस्तामा आएको राजनीतिक जागरण, उनीहरूको परम्परागत दलहरूप्रतिको वितिष्णाका कारण समग्रमा योपतक उनीहरूको मत घटेको छ । युवा पुस्ताको माग लाग सम्बोधन गर्न नसके भट्टराईले भनेजस्तै आगामी निर्वाचनमा परम्परागत राजनीतिक दलहरू बढारिने अवस्थापमा पुगेका छन् ।