NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रचनाको रहर

काठमाडौं । रियालिटी सो नेपाल आइडलबाट उदाएकी गायिका हुन्, रचना रिमाल । स्टुडियो होस् या देश, विदेशका स्टेज कार्यक्रम, यतिबेला सर्वत्र रचना हाइडिमान्डेड छिन् ।

गायकीले सबैलाई मन्त्रमुग्ध पार्न सक्ने क्षमताकी रचनाका रहरहरूचाहिँ अनेक छन् । आफ्नो करिअरले छोटो समयमा नै शिखर चुम्नुअघि उनको चाहना थियो, बुवाआमाका लागि एउटा राम्रो घर बनाइदिऊ । बालसखाको पकेट खर्चका लागि बाबुआमासँग करकर गर्ने बानी जारी रहँदा रचनाले त्यो सपना पूरा गरिन् ।

हाँस्यविनोदले भरिएकी रसिक रचनासँग अनेक मुलायम रहर छन् । भलै उनले अहिले ती सपना पूरा गर्ने उत्सुकता देखाएकी छैनन् । त्यसो त त्यसका लागि उनलाई हतारो पनि छैन । अहिलेको यो  समय उनले करिअर उकास्नमै लगाउने हो ।

मुलायम रहरभन्दा अलि पर उनको मनमा यतिबेला अनौठो चाहनाले घर गरेको छ । त्यो उनको व्यक्तिगत विषयसँग सम्बन्धित नभएर राजनीतिसँग जोडिएको छ । राजनीतिसँग जोडिएको रचनाको रहर हो–काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन र धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङलाई एउटै स्टेजमा उभ्याएर नचाउने ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रहरूले पुराना दललाई माथ खुवाउँदै विजयको झण्डा गाडेपछि धेरैले यसरी चयन भएका जनप्रतिनिधि मिलिदिऊन् भन्ने चाहेका थिए । तर त्यसो हुन सकेन । बरु, काठमाडौंको फोहोर व्यवस्थापनलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह र धरानका प्रमुख (मेयर) हर्क साम्पाङबीच फेसबुकमा दोहोरी चल्यो ।

अहिले भने देशले नै आशा गरेका यी दुई अनुहार नजिक देखिएका छन् । हर्कले केही दिनअघि स्ट्याटस नै लेखेका छन्, साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन् । हामी बाझेको नै कहिले थियौँ र । अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला ।’

आम नेपालीको जस्तै चाहा रहेछ रचनाको पनि, बालेन र हर्क मिलिदिऊन् भन्ने । यसबाट हौसिएकी रचना ठट्यौली पारामा प्रतिक्रिया जनाउन हर्कको वालमा टुप्लुकिइन्–तपाईंहरू नाच्ने भए म गीत गाउन तयार छु है ।

रचनाको उक्त ठट्यौली प्रतिक्रियामा ६ हजारले लाइक गरेका छन् भने ५०० बढीले प्रतिक्रिया जनाएका छन् । जसमध्ये अधिकांश रचनाले गर्ने प्रतिक्रियाकै लय समातिएका छन् ।

हर्कले शनिबार बिहान मात्रै बालेनमाथि चौतर्फी घेराबन्दी भएकाले उनलाई साथ दिन स्वतन्त्र जनप्रतिनिधिलाई आह्वान गरेका छन् । अरूले साथ नदिए पनि आफू बालेनको पक्षमा उभिने उनले प्रष्ट पारेका छन् ।

रचना, बालेन हर्क त अब नाच्न तयार भए । गीत गाइदिने हो त ?