NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ माघ १६ गते

एमालेबाट सम्भावित समानुपातिक महिला सांसद : महासचिवकी बहिनीदेखि बादलकी श्रीमतीसम्म

काठमाडौं । प्रतिनिधिसभामा योपटकसमानुपातिकतर्फ एमालेबाट १८ जना महिला सांसद निर्वाचित हुने सम्भावना रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेले ११ जना महिलालाई उम्मेदवार बनाएको थियो । तीमध्ये चार जनाले मात्र निर्वाचन जित्न सफल भएका छन् । निर्वाचित हुनेमा कास्की–२ बाट विद्या भट्टराई, बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो र सुनसरी–३ बाट भगवती चौधरी रहेका छन् ।

पराजित हुनेमा उदयपुर–१ बाट मञ्जुकुमारी चौधरी, दाङ–२ बाट शान्ता चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल, बाग्लुङ–२ बाट मञ्जु शर्मा रहेका छन् । यसैगरी दाङ–३ बाट कोमल वली, डोटी–१ बाट गौराकुमारी वली र कञ्चनपुर–३ बाट निरुदेवी पाल रहेका छन् ।
संघीय संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य रूपमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधान छ । नेपालको संविधान अनुसार संघीय संसद भन्नाले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुई सदनलाई जनाउँछ । संविधानको धारा ८३ को संघीय व्यवस्थापिकासम्बन्धी प्रावधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुईवटा सदनसहितको एक संघीय व्यवस्थापिका हुने व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभा २७५ सदस्यीय हुनेछ भने राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । यी दुवै संसदमा महिलाको उपस्थिति ३३ सुनिश्चित गर्न सबै राजनीतिक दलले एकतिहाई महिला पठाउनै पर्ने संवैधानिक बाध्यता छ ।

राष्ट्रिय सभामा अहिले एमालेका १५ सांसद रहेका छन्। जसमा महिला सांसदको संख्या ९ जना छन्। प्रतिनिधिसभामा निर्वाचित चार सांसदसमेत जोड्दा १३ जना हुन्छ । एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार समानुपातिकतर्फ एमालेले २८ लाख ३१ हजार २७६ मत प्राप्त गरेको छ ।

आयोगको सेन्ट लग अर्थात् विभाजक सुत्रअनुसार एमालेले अहिले प्राप्त गरेको मतबाट समानुपातिकतर्फ ३४ सिट प्राप्त गर्ने देखिन्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा एमालेको जम्मा सिट संख्या जोड्दा ९३ पुग्नेछ । संवैधानिक व्यवस्था अनुसार ९३ जनामा ३३ प्रतिशत महिला पु¥याउनका लागि ३१ जना महिला सांसद हुनुपर्छ । अहिलेसम्म प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १३ जना महिला छन् । अब संविधानको व्यवस्थाअनुसार एमालेले समानुपातिक सूचीमा रहेका १८ जना महिलालाई प्रतिनिधि सभामा पठाउनु पर्छ ।संविधान अनुसार विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुनुपर्ने बाध्यत्मक परिस्थिति बाहेक जुनसुकै क्लस्टरबाट महिलाको गणपुरक संख्या पुर्याउन सकिनेछ ।
एमालेले आयोगमा बुझाएको बन्दसूचिमा जनजातितर्फ १६ महिला १६ पुरुष, खसआर्यतर्फ १७ महिला १७ पुरुष, थारुतर्फ ४ महिला ३ पुरुष, दलिततर्फ ७ महिला ८ पुरुष, मधेसीतर्फ ९ महिला ८ पुरुष र मुस्लिमतर्फ ३ महिला २ पुरुष रहेका छन् । आयोगले निर्वाचित सांसद घोषणा गर्दा प्रत्येक क्लस्टरबाट पहिलोबाट क्रमशः अन्तिम नम्बर प्राथमिकरणको आधारमा गर्नेछ । समानुपातिकमा एमालेले पाएको जम्मा मत अनुसार समावेशीतर्फ दलिततर्फ १३, आदिवासी जनजातितर्फ २७, खसआर्यतर्फ २९, मधेशीतर्फ १४, थारुतर्फ ६ र मुस्लिमतर्फ ४ जना सांसद निर्वाचित हुनेछन् ।

यसरीसमावेशी प्रतिशतको आधारमा खसआर्यबाट बढीमा ५, आदिवासी जनजातिबाट ४, दलितबाट ३, मधेसीबाट ३, थारुबाट २ र मुस्लिमबाट १ जना सांसद निर्वाचित हुने सम्भावना देखिन्छ । बाँकी १६ जनामा विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुनेगरी पुरुष सांसद निर्वाचित भएको आयोगले घोषणा गर्नेछ ।

एमालेबाट बन्ने सम्भावित महिला समानुपातिक सांसद

राष्ट्रिय सभा सदस्यलाई समावेशीमा जोड्ने वा नजोड्ने भन्नेमा मतभेद देखिएको छ । कसैले प्रतिनिधिसभा सदस्यलाई मात्र गणना गरिने भनिएको छ भने कसैले राष्ट्रिय सभा सदस्य पनि समावेशी प्रतिशतभित्र जोडिने दलिल पेश गरेका छन् । एमालेकै हकमा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सिट संख्या कसरी निर्धारण गर्ने भन्नेमा नेताहरू अलमलमा देखिएका छन् । एमाले प्रचार विभागका उप–प्रमुख विष्णु रिजालले समानुपातिकतर्फ सिट निर्धारण आयोगको निर्णय नआएसम्म कसरी गर्नेभन्नेमा अहिले नै कुनै निष्कर्षमा पुग्न नसक्ने बताए ।

‘राष्ट्रिय सभा सदस्यलाई समावेशी संख्यामा जोड्ने/नजोड्नेमा मतभेद देखिएको छ । यसबारे आयोगले निर्णय गर्ला । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका अनुसार दशमलब भन्दा पछाडिका अंकलाई थप एक अंक मान्ने भनिएको छ’, उनले भने, ‘क्लस्टर अनुसार ३१ प्रतिशत प्रतिनिधित्व पनि छ । चार प्रतिशतको क्लस्टर पनि छ । त्यसैले कुन क्लस्टरबाट कतिजना निर्वाचित हुनेछन् भन्नेमा हामीले गणना गरिसकेका छैनौं।’

रिजालका अनुसार क्लस्टरमा जसको जति प्रतिशत छ त्यहि आधारमा महिला प्रतिनिधित्व चुनिन सक्ने सम्भावना छ । यद्यपी निर्वाचन कानुन अनुसार यसमा पिछडिएका ठाउँ÷समुदाय, अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरू प्राथमिकतामा पर्ने भएकाले यो नै निर्वाचित हुन्न भन्न सक्ने अवस्था छैन ।

एमालेले आयोगमा बुझाएको बन्दसूचीमा उपाध्यक्ष राम बहादुर थापा बादलकी श्रीमतीदेखी महासचिव शंकर पाेखरेलकी बहिनीसम्म समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ। त्यस्तै, अनेरास्वीयुकी अध्यक्ष सुनिता बराल, अधिवक्ता शान्ति खनाल, उमा कोइराला, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी पनि एमालेको बन्दसूचीमा छन् ।

बन्दसूचीबाट खसआर्यका महिलातर्फ पहिलो नम्बरमा रहेकी मेनुकाकुमारी पोखरेल निर्वाचित हुने निश्चित छ । पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले महासचिवकी बहिनी हुन् । महासचिव पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ–२ बाट माओवादीकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका थिए । सोही समूहबाट सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी र निर्मला कोइराला निर्वाचित हुने सम्भावना बलियो देखिन्छ ।

यसैगरी जनजातिबाटपहिलो नम्बरमा रहेकी नैनाकला थापा निर्वाचित हुने निश्चित छ । उनी उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती हुन् । उपाध्यक्ष थापा समानुपातिक र प्रत्यक्षततर्फ कतैपनि उम्मेदवार भएनन् । सोही समूहबाट सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबें र ईश्वरी घर्ती चुनीने सम्भावना छ । त्यस्तै थारुबाट अरुनाकुमारी चौधरी, शान्ति चौधरी र लक्ष्मीदेवी दगौरा चौधरी सांसद बन्ने सम्भावना रहेको छ । मधेशीबाट वीनादेवि, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी मुखिया आउने सम्भावना छ । दलितबाट रुक्मणि राना बराइली, हर्कमाया विश्वकर्मा र विन्दु विश्वकर्माको सम्भावना बलियो छ । मुस्लिमबाट रुही नाज सांसद बन्ने सम्भावना देखिन्छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष