NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बुटवलमा २ वटा स्वास्थ्य केन्द्र बन्ने

बुटवल  । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १६/ १६  शैयाका अक्सिजन सुविधा सहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो ।

एशियाली विकास बैङ्क मार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए ।

कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउदेश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै नै शिलान्याश गरिने उनले बताए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्स सहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

३–३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै सुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरि प्रसाद शर्माले जानकारी दिए ।