NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सडक नियम उल्लंघन गर्नेको लाइसेन्स निलम्बनमा पर्ने, यस्तो छ तयारी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले २६ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्न यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ ।

ट्राफिक प्रहरीले कात्तिक २१ यता २६ वटा लाइसेन्स निलम्बनका लागि विभागमा पठाएको हो । प्रहरीले पाँचपटक भन्दा बढी नियम उल्लंघन गरेका २६ ओटा लाइसेन्स निलम्बन गर्न विभागमा पठाएको जनाएको छ । जसमा ३८ पटकसम्म नियम उल्लघंन गरेको पाइएको छ ।

पाँचपटक नियम उल्लङ्घन गर्नेलाई ६ महिना लाइसेन्स निलम्बन

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले पटक–पटक नियम उल्लंघन गर्नेहरूको लाइसेन्स निलम्बनमा पर्ने बताए । उनका अनुसार नियम उलंघन गर्नेलाई पाँच पटकसम्म छुट दिइन्छ । त्यसभन्दा बढी नियम उल्लंघन गरेको पाइएकोमा लाइसेन्स निलम्बनको लागि विभाग पठाउने गर्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार कुनै पनि कसुरमा पाँचपटक भन्दा बढी नियम उल्लङ्घन भए चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था छ । जसमा पाँचपटक भन्दा बढी नियम उल्लंघन गरेको पाएकोमा निलम्बनको लागि ट्राफिकले विभागमा पठाउँछ । विभागले ६ महिनासम्म लाइसेन्स निलम्बनमा राख्छ । ६ महिना निलम्बनमा परेपछि उक्त लाइसेन्स चालकले पाउँछन् ।

ट्राफिक नियमभित्र परेका नियम उल्लंघन गरेको पाइएमा लाइसेन्स निलम्बनमा पर्छ । प्रवक्ता भट्टकाअनुसार लेन अनुशासन पालना नगर्ने, अनावश्यक रूपमा अन्य सवारीलाई पेल्ने, जथाभावी पार्किङ, अनियन्त्रित गतीमा सवारी कुदाउने, गलत साडबाट ओभरटेक गर्ने, सवारी चलाउँदा मोबाइल चलाउने, जथाभावी बाटो काट्नेलगायतका नियम उल्लंघन गरेको पाइएकोमा लाइसेन्स निलम्बनमा पर्छ ।

३८ पटकसम्म नियम उलङ्घन, भएन कारवाही

तथ्यांकअनुसार ३८ पटकसम्म नियम उल्लंघन गरेर लाइसेन्स निलम्बनमा परेको छ जबकि ऐनअनुसार पाँचपटक भन्दा बढी नियम उल्लंघन गर्नेको लाइसेन्स निलम्बन हुन्छ । प्रवक्ता भट्टले लाइसेन्स निलम्बनको लागि यातायात विभागमा पठाउने प्रक्रियालाई भर्खरमात्र बढी जोड दिन थालेको छ । त्यसभन्दा अघि एउटै कसुर धैरैपटक दोहो-याउनेको मात्रै लाइसेन्स निलम्बनको लागि विभाग पठाएको उनले बताए । ‘ऐनमा व्यवस्था भएपनि त्यसलाई व्यवहारमा ल्याउन सकेको थिएन, व्यवस्थापनको कमजोरी पनि केही हदसम्म हो’, उनले भने, ‘अहिलेसम्म हामीले एउटै कसुर धेरैपटक गर्नेलाई मात्रै पठाउने गरेको थियो, तर अब जुनसुकै कसुरमा ऐनमा व्यवस्थालाई कार्यान्वयनमा लाने भनेर अघि बढेको छ ।’

कार्यालयमा रेकर्ड राख्ने सिस्टम नहुँदा र प्रविधिको अभावले पनि यस्तो समस्या देखिएको उनको भनाइ छ । ‘रेकर्ड सिस्टम थिएन, सफ्वयर थिएन, आज कारबाहीमा आयो, कारबाही गरी पठायो, पछि कतिपटक कारवाहीमा आयो भन्ने तथ्यांक राख्ने सप्टवयर थिएन, अहिले प्रविधिको विकास भएको हुँदा त्यस्तो नहोला’, उनले भने ।

लाइसेन्स निलम्बनलाई पछिल्लो समय तिव्रता दिएको कारण कारवाहीमा धेरै पर्ने उनको भनाइ छ । उनकाअनुसार केही समय निलम्बनमा पर्नेको संख्या बढ्ला पछि विस्तारै सबैजना सचेत हुन थाल्नेछन् । सबैले ट्राफिक नियम पालना गर्नुपर्छ भनेर सचेत भए नियम मिच्ने प्रवृति घट्दै जाने उनको विश्वास छ ।