NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रजनीकान्तका थरीथरीका फ्यानः उनको लागि आत्महत्या गर्नेदेखि घर बेच्नेसम्म

एजेन्सी । आज दक्षिण भारतीय अभिनेता रजनीकान्तको ७२ औं जन्मदिन हो । उनी एक यस्ता स्टार हुन् जसको फिल्म भन्दा बढी उनको फ्यानको पागलपनलाई लिएर चर्चामा हुन्छन् । किनभने दक्षिण भारतमा उनको लागि मरिमेट्ने फ्यानहरू छन् । रजनीकान्तको फिल्म रिलिज हुँदा सिंगो दक्षिण भारतमा उत्सव छाउँछ । उनको फिल्म रिलिज हुँदा कयौं त कार्यालयले छुट्टि नै दिन्छन् । कतिपय फ्यान त आफ्नै पैसा खर्च गरेर अरूलाईसमेत सुपस्टार रजनीको फिल्म देखाउन तम्सिन्छन् । व्यापार, घर र यहाँसम्म कि, श्रीमती को गहना बेचेर पनि आफ्नो खर्चमा अरूलाई फिल्म देखाउनेहरूको दक्षिण भारतमा लामो सूची छ ।

र, रजनीप्रतिको यो पागलपन दक्षिण भारतमामात्रै सिमित छैन । संसरका कयौं देशमा रजनीकान्तका फ्यानका धेरै किस्साहरू छन् । जापानमा उनको फिल्मले रेकर्ड नै तोडेर कमाइ गरेको छ । उनको फिल्म रिलिजको दिनको पहिलो शो हेर्नका लागि कतिपय फ्यानले त ज्यानकै बाजी लगाउँछन् । अझ कतिपय फ्यानले त उनलाई कसैले नराम्रो भनिहालेमा त्यो व्यक्तिको ज्यान लिन पनि हिच्किचाउँदैनन् । एकजना फ्यानले आफ्नो जीवनको अन्तिम साससमेत थियटरमा रजनीकान्तको फिल्म हेर्दा हेर्दैको अवस्थामा लिएका थिए ।

फ्यानहरूका यस्ता अनगिन्ती किस्साबाट सधैं चर्चामा रहेका रजनीकान्तले आफ्नो करियरमा एक सय ६० वटा फिल्ममा काम गरे । उनको फ्यान क्लबको संख्यामात्रै ६६ हजार छ । पढ्नुहोस् उनका फ्यानबारे रमाइला किस्सा :

राजनीकान्तलाई बचाउन आत्महत्याको कोशिस गर्ने फ्यान

राणा फिल्मको सुटिङको समयमा रजनीकान्तको स्वास्थ्य अचानक बिग्रियो । २९ अप्रिल २०११ मा उनलाई एक दिनको लागि अस्पतालमा भर्ना गरियो । अस्पतालबाट ठिक भएर घर फर्किएको पाँच दिनपछि सास फेर्न गाह्रो भएर उनलाई पुनः आइसियूमा भर्ना गरियो । त्यतिबेला उनको अवस्था निकै नाजुक भएको सूचना फैलिसकेको थियो । उनको किड्नीमा खराबी रहेको र ट्रान्स्प्लान्ट गर्नुपर्ने आवश्यका रहेको समाचार फैलिएपछि देशभर उनको स्वास्थ्य लाभको लागि यज्ञ लगाइयो । फ्यानहरू मन्दिरमा घन्टौं बसेर उनको नाममा पूजा गर्न थालेका थिए । एकजना फ्यानले त आफ्नो किड्नी दिनका लागि निन्द्रा लाग्ने औषधी खाएर आत्महत्याको प्रयाससमेत गरे । उनी थिए ४० वर्षिय रजनीराजा अरोकिसामी । उनी आफू मरेपछि आफ्नो किड्नी रजनीकान्तलाई दिइयोस् भन्ने चाहन्थे । तर, उनलाई समयमै बचाइयो ।

मलेसियामा टिकट नपाएपछि बिल्डिङबाट फाल हाल्ने फ्यान

सन् २०१६ मा रजनीकान्तद्वारा अभिनित फिल्म कबाली रिलिज भयो । अन्य समयजस्तै भारतसँगै विदेशमा पनि टिकट किन्ने होडबाजी थियोे । मलेसियामा टिकट नपाएपछि दुःखी भएका उनका एक फ्यानले मलको माथिल्लो तल्लाबाट फाल हालेर आत्महत्या गरे ।

रजनीको विरूद्धमा बोल्नेलाई पिटेरै मार्ने फ्यान

कोरोनाकालमा दक्षिण भारतीय अभिनेताहरूले ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेका थिए । यसै मेसोमा दक्षिण भारतीय अभिनेता विजय रजनीका फ्यानबीच कसले बढी दान दियो भन्ने विषयमा विवाद भयो । विवाद यति बढ्यो, रजनीकान्तका २२ वर्षिय फ्यान दिनेश बाबुले विजयको फ्यान युवराजलाई यति पिटे कि, यु्वलाजको मृत्यु भयो ।

राजनीकान्तलाई राजनीतिमा ल्याउन आफैंलाई आगो लगाउने फ्यान

रजनीलाई भगवानसरह पूज्ने एक फ्यान मुरूगेसन उनी राजनीतिमा आउन् भन्ने चाहन्थे । आफ्नो डिमान्ड रजनीसम्म पुर्याउनका लागि उनले रजनीको घरको बाहिर आगो लगाएर आत्महत्याको कोशिस गरे । उनलाई समयमै अस्पताल लगेर ज्यान बच्यो ।

जीवनको अन्तिम अवस्थामा रजनीको फिल्म हेर्ने फ्यान

तमिलनाडुको चेत्तिपाल्यममा बस्ने ५६ वर्षिय राजेन्द्र अन्तिम स्टेजको क्इान्सरबाट गुज्रिरहेका थिए । उनी रजनीकान्तको अभिनित फिल्म लिंगा हेर्नका लागि थियटर जान चाहन्थे । तर, डाक्टरले उनलाई आरम गर्र्न सल्ल्लाह दिएका थिए । जति जिद्दि गर्दा पनि घर परिवार उनलाई थियटरमा लैजान राजी नभएपछि एक रात उनी भागेर फिल्म हेर्नका लागि हल पुगे । रातको करिब एक बजे आसपास उनलाई थियटरमा काम गर्ने सफाई कर्मचारीले हलभित्रै निधन भएको आवस्थामा भेटे ।

रजनीकान्त कार्यक्रममा नपुगेपछि निराश भएर विष खाने फ्यान

रजनीकान्तका एक फ्यानको आशा थियो कि उनी सन् २०१७ को आफ्नो जन्मदिनको अवसरमा राजनीतिमा इन्ट्रि गरून् । उनी सोही दिन यसको घोषणा पनि गर्दै थिए । तर, व्यस्तातका कारण रजनीलाई चेन्नइबाट बाहिर जानुपर्ने भयो । जसकारण उनका ती फ्यान यति दुखी भए कि, उनले विष खाएर आत्महत्या गर्ने कोशिस गरे । ती व्यक्ति रजनीको नाममा एक ठूलो फ्यानक्लब पनि चलाउँछन् ।

राजनीको सास महसुस गर्न डेढ लाखको टिकट लिने फ्यान

सन् २०१४ मा लिंगाको सुटिङका लागि रजनीकान्त हङकङ जाँदै थिए । एक फ्यानले उनी हङकङ जान लागेको थाहा पाउनेवित्तिकै उनले डेढ लाख रूपैयाँ खर्चेर फ्लाइट टिकट खरिद गरे । ती फ्यान जुन फ्याइटमा रजनीले सास फेरेका थिए त्यहाँ पुगेर रजनीको सास महसुस गर्न चाहन्थे ।

रजनीकान्त स्वास्थ्य लाभ पछि १०८ वटा नरिवल फुटाउने फ्यान

सन् २०२१ मा रजनीकान्त नियमित चेकजाँचको लागि अस्पतालमा भर्ना भए । उनी अस्पतालबाट निस्किनेवित्तिकै फ्यानले १०८ वटा नरिवल फोडेका थिए ।

रजनीको फिल्म देखाउन कार्यालय बिदा

रजनीकान्तका फ्यान उनीप्रति कतिसम्म नतमस्क छन् भन्ने कुरा सन् २०१६ मा प्रदर्शनमा आएको उनको फिल्म कबाली रिलिजको दिन दक्षिण भारतका कयौं शहरमा कम्पनीले बिदा दिएकोबाटै थाहा हुन्छ । अझ कतिपय कम्पनीले त आफ्ना कर्मचारीलाई सित्तैमा टिकटसमेत बाँडेका थिए ।

रजनीको जन्मदिनमा श्रीमतीको गहना बेच्ने फ्यान

रजनीकान्तका एक फ्यान जी.मणीले उनको जन्मदिनमा सानदार पार्टी दिनका लागि आफ्नी श्रीमतीको सबै गहना बेचिदिए । यो खबर बाहिरिएपछि मणिले रजनीको एक डकुमेन्ट्रिमा स्थान पाएका थिए ।

श्रीमतीको गहना बेचेर हजारजनालाई फिल्म देखाउने फ्यान

रजनीका एक फ्यान गोपी उनको हरेक फिल्म रिलिज भएपछि आफ्नो शहरका हजारजना गरिबलाई चेन्नाईमा फिल्म देखाउँछन् । उनका लागि रजनीकान्त नै भगवान हुन् । उनका अनुसार हजारजनालाई केही वर्षदेखि फिल्म देखाउँदा उनको टाउकोमा लाखौं रूपैया ऋण थुप्रिएको छ । यो ऋण चुकाउनका लागि उनले सुरूमा त श्रीमतीको गहना बेच्नुपर्यो, त्यसपछि घर ।

सिनेमाको पर्दा नै फुट्नेगरी सिक्का फाल्ने फ्यान

रजनीकान्त ठूलो पर्दामा आएर दर्शकमाझ भिन्नै किसिमको उत्सवको वातावरण सिर्जना गर्छन् । उनलाई पर्दामा हेरिरहेका फ्यानहरूले उनीमाथि एकपटक यति धेरै सिक्का वर्षाए कि सिनेमा हलको पर्दा नै फुट्यो । अर्कोपल्ट त्यही डरका कारण हलमा सिक्कामाथि प्रतिन्ध नै लगाउनु परेको थियो ।