NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रिय दलको मान्यता नपाएको एकीकृत समाजवादी, तीन प्रदेशमा पनि गुमायो साख

काठमाडौं । एमालेलाई धक्का दिन सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको विद्रोही दल नेकपा (एकीकृत समाजवादी) योपटक राष्ट्रिय दल बन्न सकेन ।

गठबन्धनसँग तालमेल गरी प्रतिनिधिसभामा १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ निर्वाचन कानुन बमोजिम संघमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता नपाएको हो । सात प्रदेशमध्ये चार प्रदेशमा पनि दलको मान्यता पाउन सकेन ।

कुन दलको कति मत ?

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन आयोगमा ४७ दलले दल दर्ता गरेका थिए । तीमध्ये सातवटा पार्टीलेमात्र राष्ट्रिय दलको मान्यता पाउन सफल भयो । जसअनुसार समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मतसहित एमाले पहिलो दल भयो ।

दोस्रोमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत पायो । यसैगरी तेस्रो दल बन्न रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग कडा प्रतिस्पर्धा गरेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पायो । यसैगरी ११ लाख ३० हजार ३४४ मतसहित रास्वपा संसदमा चौंथो शक्तिमा उदायो । पाचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पायो । २०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय दल बन्न सकेको थिएन् ।

त्यस्तै जसपाले चार लाख २१ हजार ३१४ मत ल्याए छटौं दलमा धकेल्लिएको छ । अघिल्लो निर्वाचनमा जसपा चौंथो दल रहेको थियो । सातौं स्थानमा रहेको सीके राउत नेतृत्वको नयाँ दल जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत पायो । अघिल्लो निर्वाचनमा राष्ट्रिय दल भएको लोकतान्त्रिक समाजवादी पार्टी योपटक तीन प्रतिशत थ्रेसहोल्ड कटाउन असफल भयो ।

जनमतको हिसाबले आठौं स्थानमा रहेको नेकपा एस थ्रेसहोल्ट नजिक पुगेरपनि राष्ट्रिय दल बन्न नसक्दा ठूलो धक्का लागेको छ । कुल खसेको मतमध्ये एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएकोमा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्यो । नेकपा एसले पाएको कुल मतको २.८२ प्रतिशत हो । थ्रेसहोल्ड कटाउनका लागि तीन लाख १६ हजार ८०२ मत आवश्यक पर्छ । नेकपा एसलाई राष्ट्रिय दल बन्न १८ हजार ४११ मत अपुग भएको हो । उसले तीन प्रतिशत मत कटाउन नसक्दा राज्यबाट पाउने सबै सुविधा गुमाएको छ । तीन जना सांसदसमेत गुमाएको छ ।

चार प्रदेशमा नेकपा एसले दलको मान्यता पाएन

सात प्रदेशमा नेकपा एसले जम्मा ९ सिट जितेको छ । जसअनुसार प्रदेश १ मा एक सिट, मधेश प्रदेशमा तीन सिट, बागमती प्रदेशमा दुइ सिट जितेको छ । गण्डकी प्रदेशमा १.५ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा दलको मान्यता पाउन सकेन । प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन । यसैगरी लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक÷एक सिट जितेको छ । प्रत्यक्षतर्फ प्रदेश १ मा एकीकृत समाजवादीले तीन सिट जितेको छ । मधेश प्रदेशमा चार, बागमतीमा पाँच र सुदूरपश्चिममा तीन सिट जितेको छ । गण्डकी लुम्बिनी र कर्णालीमा एक सिट पनि जित्न नसक्दा यी प्रदेशमा दलको मान्यता गुमाएको छ ।

प्रतिनिधिसभामा नेकपा एसबाट प्रत्यक्ष निर्वाचित सांसद

राष्ट्रिय दलको मान्यता नपाए पनि गठबन्धनको सहयोगमा नेकपा एसबाट १० जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यमा रौतहट–१ बाट माधवकुमार नेपाल, बारा–२ किसनकुमार श्रेष्ठ, धादिङ–१ बाट राजेन्द्रप्रसाद पाण्डे, दाङ–१ बाट मेटमणि चौधरी निर्वाचित भएका छन् ।
यसैगरी सल्यान–१ बाट प्रकाश ज्वाला, डोल्पा–१ बाट धनबहादुर बुढा, दैलेख–१ बाट अम्बरबहादुर थापा, अछाम–१ बाट शेरबहादुर कुँवर, डोटी–१ बाट प्रेमबहादुर आले, बझाङ–१ बाट भानुभक्त जोशी रहेका छन् ।

यी हुन् नेकपा एसका १०४ समानुपातिक उम्मेदवार

आयोगमा समानुपातिकतर्फ १०४ जना उम्मेदवारको बन्दसूची बुझाएको थियो । जनजाति क्लस्टरबाट पुरुषतर्फ उपमहासचिवसमेत रहेका डा. गंगालाल तुलाधर, भरत कुमार श्रेष्ठ, भक्तिमान सुब्बा साम्बाहाम्फे, पासाङ शेर्पा, राजाराम स्याङतान, जलशेर राई, साङ तेम्पा तामाङ, वीरबहादुर बुढाथोकी, अष्टनारायण डंगोल, लालबहादुर सुब्बा, केशरसिंह माझी, वीरजंग राई, रामकुमार राई, माइलाबाबु धौला र उदैयतसिंह बुढाथोकी रहेका छन् ।

जनजाति महिलातर्फ पवित्रा घर्ती, बंगलाकुमारी राई, प्रभादेवी बज्रचार्य, किरण मुक्तान, सिता श्रेष्ठ, जानुका श्रेष्ठ, अमलादेवी श्रेष्ठ, डिमाविकी शेर्पा, रामदेवी तमाङ, सर्मिला वन्त, सरस्वत खडायत बुढामगर, अम्बिका श्रेष्ठ र अम्बिका राई छन् ।

खसआर्यमा पुरुषतर्फ गौरीदेवी थापा, प्रमेशकुमार हामल, लक्ष्मण पौडेल, भविश्वर पराजुली, हन्सबहादुर शाही, राममणि पौडेल, शेरबहादुर केसी, प्रमोदराज शर्मा कंडेल, टीकारा शर्मा रिजाल, बालकृष्ण गैर, नवराज जोशी, बालकृष्ण बराल, धनबहादुर कार्की, शिवराज कंडेल, प्रल्हादबहादुर कार्की नेपाली र रामबहादुर डाँगी छन् ।

खसआर्य महिलातर्फ सावित्रा कुमारी भुसाल, दीलकुमारी पन्त, विजय विष्ट, उसाकुमारी पोखरेल, कुमार विष्ट, विवाकुमारी कार्की, लिनाकुमारी अधिकारी, प्रमिला बस्नेत, कल्पनाकुमार मान्डब्य, शान्तादेवी पौडेल, रिता रावल, भगवती नेपाल, अम्किाकुमारी थापाक्षत्री, राधालक्ष्मी खरेल, प्रेमकुमारी बुढा, प्रेमाकुमारी अधिकारी, जयानन्द कार्की र विन्दाकुमारी साउद छन् ।

यसैगरी थारु क्लस्टरबाट पुरुषतर्फ नागेन्द्रप्रसाद चौधरी, रामऔतार राना छन् । महिलातर्फ ममताकुमारी चौधरी, सुन्दरीदेवी थारु, शिल्पा चौधरी र रानीदेवी डँगौरा छन् ।

दलितबाट पुरुषतर्फ गणेशबहाुदर विश्वकर्मा, खडकबहादुर नेपाली, गोविन्द नेपाली, तारालाल विश्वकर्मा, गणेशबहाुदर विश्वकर्मा, प्रताव तिरुवा र मनबहादुर कामी छन् । महिलतार्फ कृष्णकुमारी विश्वकर्मा, दुर्गा परियार, शारदाकुमारी विश्वकर्मा, जमुना सुनार, कल्पना विश्वकर्मा, दुर्गा नेपाली र मीनाकुमारी मगर परियार छन् ।

यसैगरी मधेशी क्लस्टरबाट पुरुषतर्फ रामचन्द्र यादव, श्रीप्रसाद साह, रामनरेशप्रसाद यादव, उपेन्द्र नारायण साह, विश्वनाथ सिंह, हरि सहनी, राजकुमार मण्डल र विश्वेश्वरप्रसाद कुशवा छन् । महिलातर्फ राजकुमारी साह, अर्चनाकुमारी, इन्दु मिश्र र पुनम जैसवाल छन् ।
मुस्लिमबाट महिलातर्फ जयमिँया देवी, अञ्जला झा, गीतादेवी महतो, सरोजकुमारी झा र बिना ठाकुर छन् । पुरुषतर्फ ताजमहमद मिँया, रजिउदिन आलम, रोशन सोहैद, नुरफाफि बिबी र जैनब ठाकुर छन् ।