NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चर्दीखोलामा मोटरेवल पुल बन्दै    

लमजुङ । जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो ।

कुन्छा–सोतीपसल–दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधिन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए ।

उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को पिल्लरको काम, र मेसिनरी वालको काम यतिबेला भइरहेको छ । पुल आगामी असार महिनाभित्रमा सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार रु तीन करोड ७५ लाखको लागत अनुमान रहेकोमा उक्त पुलनिर्माण व्यवसायीले भ्याटसहित रु दुई करोड ५० लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । पुल नहुँदा वर्षायाममा सवारी साधनदेखि स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको छ । पुल निर्माण पश्चात् तनहुँ, पोखरा, काठमाडाैं लगायतका स्थानमा आवतजावतमा सहज हुने नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।