NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

संसदीय दलको निर्वाचनमा देउवा भर्सेस थापा : कसले मार्लान् बाजी ?

काठमाडौं । बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री एवम्  सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच रोचक भिडन्त हुने भएको छ ।

मंगलबार बसेको संस्थापन इतरको बैठकले महामन्त्री थापालाई दलको नेताको उम्मेदवार बनाएसँगै चुनावी प्रतिस्पर्धाले रोचक मोड लिएको हो । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनका लागि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार मंगलबार दुवैपक्षले उम्मेदवारी दर्ता गराएका छन् ।

छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवालाई योपटक थापाले चुनौती दिएका छन् । निर्वाचनअघि नै आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थापालाई महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर काेइराला, केन्द्रीय सदस्य प्रदिप पौडेलको समर्थन रहेको छ । गतवर्ष भएको कांग्रेसको १४ औं महाधिवेशनमा देउवाले महामन्त्रीको उम्मेदवार नबनाएपछि शर्मा प्रकाशमान सिंह प्यानलबाट निर्वाचन लडेका थिए ।

पौडेल देउवा समूहबाट महामन्त्रीमा पराजित भएका थिए । शर्माले निर्वाचनको बेलामै थापालाई प्रधानमन्त्री बनाउ आफ्नो समर्थन रहने घोषणा  गरेका छन् । पौडेलले अन्तिम समयमा थापालाई समर्थन गरेका हुन् । पार्टीभित्र र बाहिर लोकप्रिय  रहेका यी तीनै जना युवा नेता एक ठाउँमा उभिएपछि देउवा थप दबाबमा परेका छन् ।

तर कोइराला समूहका नेता रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई समर्थन  गरेका छन् । १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई समर्थन नगरकोमा कोइरालासँग असन्तुष्ट रहेका उनले संसदीय दलको नेतामा देउवालाई साथ  दिएका हुन् । संसदीय दलको नेतामा पौडेलसमेत आकांक्षी रहेका थिए ।

यसैगरी पूर्वमहामन्त्री द्वय प्रकाशमान सिंह र डा. शशांक कोइरालाले पनि देउवालाई नै समर्थन गरेका छन् ।  यी दुवै नेता यसअघि कोइराला समूहका हुन् । गतवर्ष भएको महाधिवेशनमा सिंहले छुट्टै प्यानल बनाएर सभापतिमा उठेका थिए । तर अन्तिममा देउवालाई समर्थन गरेका थिए ।

शशांकले सभापतिमा शेखरलाई असहयोग गरेका थिए । कांग्रेसभित्र पहिलो जेनेरेशन र तेस्रो जेनेरेशनबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको यस निर्वाचनले यतिबेला सबैको ध्यान खिचेको छ । पार्टीभित्र शर्मा, थापा र पौडेलबीचको एकताले पुस्तान्तरण र रुपान्तरणका पक्षमा उभिएका युवा पुस्तालाई थप उत्साहित बनाएको छ ।

तर थापालाई निर्वाचन जित्नका लागि संस्थापन पक्षका युवा सांसदहरूको समेत समर्थन आवश्यक पर्छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिमा ३२ सिट गरी ८९ सिट जितेको थियो । यीमध्ये संस्थापन पक्षसँग ५८ र इतर पक्षसँग ३१ सांसद रहेको अनुमान गरिएको छ । दलको नेता जित्नका लागि ४६ आवश्यक पर्छ । संसदीय अंकगणितमा थापालाई बहुमत पुर्याउन थप १३ सांसद आवश्यक पर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष