NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लेखाका आधारभूत सिद्धान्त र नेपालको लेखा प्रणालीको सुधार

काठमाडाैं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले लेखाका आधारभूत सिद्धान्त र नेपालको लेखा प्रणालीको सुधारको प्रश्नबारे समाधान सुझाउनुभएको छ।

लेखाका आधारभूत सिद्धान्तहरू प्रस्तुत गर्दै नेपालको वर्तमान लेखा प्रणालीमा गर्नु पर्ने सुधारका बारेमा लेख्नुहोस । ५+ ५ =१०

१. विषय प्रवेश

कुनै पनि व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य पूरा गर्न सञ्चालन गर्ने व्यवस्थापकीय तथा आर्थिक क्रियाकलापको अभिलेख राख्ने कार्य नै लेखा हो। लेखा सम्बन्धी विभिन्न सिद्धान्तहरू प्रतिपादित भएका छन् । प्रतिपादित सिद्धान्तहरूमध्ये नेपालको सार्वजनिक प्रशासनमा कार्यान्वययोग्य र उपयुक्त सिद्धान्तको अनुशरण गर्दै विद्यमान विभिन्न समस्याको पहिचान समेत गरी वर्तमान लेखा प्रणालीमा सुधार गरिनु आजको अपरिहार्यता हो ।

२. लेखाका आधारभूत सिद्धान्तहरू

विभिन्न विद्धान्हरूले लेखाका विभिन्न सिद्धान्तहरू प्रतिपादन गरेका छन् । ती विविध सिद्धान्तहरूमध्ये आधारभूत सिद्धान्तलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :

  •  व्यवसायिक अस्तित्वको सिद्धान्त : व्यवसायको आर्थिक कारोबारबाट व्यक्तिगत आर्थिक कारोबारहरू अलग राख्नुपर्छ भन्ने सिद्धान्त।
  •  भौतिक मानदण्डको सिद्धान्त : भौतिक मूल्यमा व्यक्त गर्ने वा नाप्न सकिने आर्थिक कारोबारको मात्र लेखामा अभिलेख राख्नुपर्छ भन्ने सिद्धान्त ।
  • परल मूल्यको सिद्धान्त : परल मुल्यमा नै ह्रास कट्टि गरी हिसाब राख्नुपर्ने सिद्धान्त ।
  •  निरन्तरताको सिद्धान्त : संस्था निरन्तर रुपमा चालु रहन्छ भन्ने अवधारणामा पुँजीगत र चालु खर्च विभाजन गरी लेखा राख्ने सिद्धान्त ।
  •  मुल्य स्थिरताको सिद्धान्त : स्थिर मुल्यको आधारमा लेखा राख्ने सिद्धान्त ।
  •  प्रोदभावी सिद्धान्त : नगद आएको र गएको मात्र लेखा नराखी सबै आर्थिक कारोबारको लेखा राख्नुपर्छ भन्ने सिद्धान्त ।
  •  आर्थिक वर्षको सिद्धान्त : एक आर्थिक वर्षको आर्थिक स्थिति झल्काउने गरी लेखा राख्नु पर्ने सिद्धान्त ।
  •  द्धैधात्मक सिद्धान्त : प्रत्येक आर्थिक कारोबारले दुईवटा खातामा असर गर्छ भन्ने सिद्धान्त ।

त्यसका साथै, नियमितताको सिद्धान्त, स्थिरताको सिद्धान्त, सचेतताको सिद्धान्त, बिधिको एकरूपताको सिद्धान्त, स्पष्टताको सिद्धान्त, असल नियतको सिद्धान्त लगायतका सिद्धान्तहरू कायम रहेका छन् ।

३. नेपालको वर्तमान लेखा प्रणालीमा गर्नु पर्ने सुधार

नेपालको लेखा प्रणालीमा विविध समस्याहरू विद्यमान छन् । तिनीहरुको पहिचान गरी विधिसम्मत समाधानका उपायहरू खोजी गरिनु पर्छ । वर्तमान सन्दर्भमा नेपालको लेखा प्रणालीमा गरिनु पर्नै मुख्य सुधारहरू देहाय अनुसार रहेका छन :

  •  प्रविधिको प्रयोगलाई उच्च महत्व दिइ विद्यमान कम्प्युटर प्रणालीमा आवद्ध लेखा प्रणालीको विकास गर्ने ।
  •  मानव संशासन र संगठन क्षमतालाई प्रविधिमैत्री दक्ष र क्षमतावान र उत्प्रेरित बनाउने ।
  •  लेखा उत्तरदायी अधिकृतको रुपमा सम्पूर्ण जिम्मेवारी सचिवलाई प्रदान गरिएको विद्यमान सन्दर्भमा राजनैतिक नेतृत्व आर्थिक प्रणालीप्रति पूर्ण जिम्मेवार नदेखिएको सन्दर्भमा उनीहरूलाई कुनै न कुनै रुपमा जिम्मेवार बनाउने ।
  •  जिन्सी व्यवस्थापनलाई पनि कम्प्युटर प्रणालीमा आवद्ध गर्ने र खरिद प्रणालीलाई अझै पारदर्शी र जवाफदेही बनाउने प्रणालीको विकास गर्ने ।
  •  लेखाको कर्मचारीको दोहोरो उत्तरदायित्व समाप्त गरी कार्यरत सम्बन्धित निकायप्रति मात्रै उत्तरदायी बनाउने ।
  •  वैदेशिक सहायता र स्रोतको लेखा प्रणालीलाई अझ व्यवहारिक बनाउन विभागस्तरसम्म मात्रै लेखा राख्ने प्रणाली निर्माण गर्ने ।
  •  प्रतिवेदन प्रणालीलाई प्रविधिमा आधारित र सञ्चालित बनाउने ।
  •  म.ले.नि.का.को लेखा राख्ने केन्द्रीय सफ्टवेयरको सुरक्षामा विशेष सजग रहने ।
  •  आर्थिक प्रशासनको मूल गन्तव्य र सुशासनमा आधारित शासन व्यवस्थाको मर्मअनुरूप लेखा प्रणालीमा पर्याप्त र सारयुक्त सुधार गर्ने।

४. निष्कर्ष

नेपालको सार्वजनिक लेखा प्रणालीमा लेखाका सर्वमान्य सिद्धान्तको अबलम्बन गरिएको छ । तर पनि नेपालको लेखा प्रणालीम व्यापक समस्या रहेको जनगुनासो व्याप्त रहेको सन्दर्भमा प्रविधिमा आधारित नवीन शैली र अन्तराष्ट्रिय मानदण्डमा आधारित लेखा प्रणालीको विकास गरिनु अपरिहार्य छ ।

लाेकसेवासम्बन्धी सम्पूर्ण समाग्रीका लागि