NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तेस्रोपटक प्रधानमन्त्री बन्न सफल प्रचण्ड को हुन् ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा ७६ (२) बमोजिम एमालेसहित सात दलको समर्थनमा आइतबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सोमबार अपरान्ह ४ बजे राष्ट्रपति भवन शितल निवासमा विशेष समारोहबीच उनलाई पथ तथा गोपनीयताको सपथ लिए । पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरे ।राजनीतिमा असम्भव केही हुँदैन भन्ने उक्ति योपटक पनि शीर्ष नेताहरूले प्रमाणित गरेका छन् ।

१७ महिनाअघि ओलीलाई बालुवाटारबाट बालकोट पठाउन मुख्य भूमिका खेलेका उनै प्रचण्ड आइतबार ओलीको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए । अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका यी दुई नेता निर्वाचनपछि नेकपाका अध्यक्ष भएका थिए । तर प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार नभएपछि तत्कालीन माधव समूहसँग मिलेर उनले  ओली सरकार ढालेका थिए ।

ओली–प्रचण्डबीचको तिक्ततापूर्ण सम्बन्धका कारण नेकपा हुँदै एमालेसमेत विभाजन भएको थियो । ओली सरकारबाट बाहिरिएको दुई वर्षपछि प्रचण्ड र ओलीको पुनर्मिलन भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस संघ र सबै प्रदेशमा प्रतिपक्षमा पुगेको छ ।

राजनीतमा प्रचण्डको छलाङ

समकालीन राजनीतिका चतुर खेलाडी ओली–प्रचण्डको पुनर्मिलनले नेपालको राजनीति तरंगित भएको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचमा गठबन्धन बनाएका देउवा–प्रचण्डको समीकरण भत्किएको छ । ओली–प्रचण्डको नयाँ सत्ता समीकरण बनेको छ ।

देउवा–प्रचण्ड सत्ता समीकरणबाट प्रधानमन्त्री को बन्ने भन्ने विषयमा कुरा नमिल्दा देउवाको साथ छाडेर प्रचण्ड ओलीसँग मिल्न गएका हुन् ।देउवालाई जिल्लाउँदै आइतबार उनी तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भए । अघिल्लो निर्वाचनअघि उनी देउवाकै  सहयोगमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए । स्थानीय तहको निर्वाचन उनकै नेतृत्वमा भएको थियो ।

२०५२ सालदेखि १० वर्ष लामो सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड २०६२ मा भएको १२ बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका थिए । त्यही १२ बुँदे सहमतिको जगमा २०६२/०६३ मा दोस्रो जनआन्दोलन भएको थियो । सोही आन्दोलनका कारण  २४० वर्ष लामो नेपालको राजतन्त्र अन्त्य भएको थियो ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा २३८ सिटसहति माओवादी पहिलो दल बन्न सफल भयो । संघीय गणतन्त्र नेपालका उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए । वि.सं २०११ साल मंसिर २६ मा कास्कीको ढिकुर पोखरीमा जन्मिएका प्रचण्ड हाइस्कुल अध्ययनदेखि नै राजनीतिमा सक्रिय थिए । छिमेकी धनबहादुर विश्वकर्माको प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा अकर्षित भएका उनी कम्युनिष्ट नेता रुपलाल विश्कर्माको सम्पर्कमा आएका थिए ।

०२८ मा पुष्पलाल समूहबाट राजनीति जीवन प्रारम्भ गरेका प्रचण्डले ०३५ मा नेकपाको सदस्यता लिएका थिए । सोही बेलादेखि नै उनले भूमिगत राजनीति सुरु गरेका थिए । ०३९ मा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि उनी सिंहतिर लागेका थिए । मसालको महामन्त्री रहेका सिंह र मोहन वैद्यबीचमा फाटो आएपछि वैद्यसँग नजिकिएका प्रचण्ड ०४५ चैत १९ मा सेक्टर काण्डबाट नेतृत्वमा उदाएका थिए ।

सेक्टर काण्डबाट महामन्त्रीमा उदाएका उनी त्यसयता ३२ वर्षसम्म निरन्तर अध्यक्षको भूमिकामा रहेका छन् । वैद्य नेतृत्वको मशाल (मोटो मशाल) ले ०४५ चैत १९ मा काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोत्यो । केही प्रहरी चौकीमा आक्रमण पनि ग-यो । ०४४ मा तत्कालीन पञ्चायती सरकारले गर्न लागेको चुनावलाई असफल बनाउन ०४५ चैत १९ मा घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले चिनिन्छ ।

राजनीतिक वृत्तका जानाकारहरूले सेक्टर काण्डलाई कमजोर तयारीमा चालिएको अपरिपक्क कदम भएको टिप्पणी गरेका छन् । जसमा जिम्मेवार ठहराउँदै पार्टीले दर्जनौं कार्यकतालाई कारबाही ग-यो भने नेताहरूलाई आत्मालोचना गराएर छाड्यो । यतिलेमात्र घटना सामसुम हुन सकेन ।

राज्यपक्षले जिल्लास्तरका कार्यकर्ताहरूलाई धरपकट गर्ने र यातना दिनेक्रम बढ्दै गयो । नेताहरू पहिल्यै भूमिगत भएकाले सरकारी कारबाहीबाट बच्न सफल भए । तर, यस घटनाले पार्टीभित्र गम्भीर विवाद उत्पन्न भयो । नेताहरूलाई किन कारवाही नगर्ने भन्नेबारे पार्टीमा विवाद उत्कर्षमा चल्यो ।

अन्ततः ०४६ कात्तिकमा चितवनमा भएको केन्द्रीय कमिटी बैठकले सेक्टर काण्डलाई एक भुलको रुपमा लियो । महामन्त्री वैद्यकै प्रस्तावअनुसार त्यसमा संलग्न नेताहरूको एक–एक पद घटुवा गर्ने निर्णय ग-यो । बैठकको निर्णयबमोजिम वैद्य महामन्त्रीबाट पोलिटब्युरो सदस्यमा झरे भने पोलिटब्युरो सदस्यहरू केन्द्रीय सदस्य र केन्द्रीय सदस्य क्षेत्रीय सदस्यमा घटुवा भए । सेक्टर काण्डमा नफसेका नेता प्रचण्ड महामन्त्री भए । त्यतिबेला उनी ३५ वर्षका मात्र थिए ।

मशालको कमाण्ड आफ्नो हातमा आएपछि प्रचण्ड ०४६ को जनआन्दोलनपछि विभिन्न चार वामघटक मिलेर बनेको नेकपा (एकता केन्द्र) को महामन्त्रीसमेत बनेका थिए । वैद्यकै भनाइअनुसार निकै चतुर र तिक्ष्ण बुद्धी भएका प्रचण्डले एकपछि अर्को गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पकड बनाउँदै लगे । ०५१ सालमा एकता केन्द्र विभाजन भएपछि प्रचण्डले माओवादी समूह बनाएका थिए ।

माओवादी सशस्त्र युद्ध थाल्नुअघि प्रचण्डलाई देव गुरुङले मनाङस्थित घरबाट एउटा राइफल दिए । यस्तै लेखराज भट्टले दिएका पेस्तोल र केही थान जिलेटिन लिएर उनी गोरखा पुगे । त्यहाँ गएर हतियार चलाउन सिकाएका प्रचण्डले ०५२ साल फागुन १ गते देशभर युद्धको घोषणा गरे । ०५७ मा भएको नेकपा (माओवादी)को राष्ट्रिय सम्मेलबाट एकल अध्यक्ष भएका प्रचण्ड ०५८ मा जनमुक्ति सेनका सर्वोच्च कमाण्डर बने । प्रचण्डको नेतृत्वमा १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन भयो ।

०६२ मंसिर ५ मा तत्कालीन सात दल र माओवादीबीच भारतको दिल्लीमा भएको १२ बुँदे सहमतिपछि उनी खुला राजनीतिमा आए । ०६९ मा हेटौंडा महाधिवेशनमार्फत पार्टीभित्र शक्ति सन्तुलन मिलाउन प्रचण्ड आफ्नै नेतृत्वमा बहुपदीय प्रणालीमा गएका थिए । त्यसपछि तत्कालीन एकीकृत माओवादीले लिएको कार्यदिशा मन नपरेपछि वैद्य पार्टीबाट अलग भए । त्यसयता, पार्टी विभिन्न आरोह–अवरोहपूर्ण अवस्थामा गुज्रिरहेको छ ।

०७५ जेठ ३ मा नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षात्मक प्रणालीमा प्रचण्ड दोस्रो अध्यक्ष भएका थिए । तर, तीन वर्ष नबित्दै सर्वोच्च अदालतले नेकपा बदर गरिदिएपछि माओवादी केन्द्र ब्यूँतियो । त्यसपछि पुनः सो पार्टीको अध्यक्ष प्रचण्ड नै भए ।

गतवर्ष पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै पुनः पाँच वर्षका लागि अध्यक्षमा सर्वसम्मत बनाउने निर्णय गर्यो । यसरी प्रचण्डले झण्डै चार दशकसम्म निरन्तर नेतृत्व गर्न सफल भएका छन् । उनी संसदीय राजनीतिमा आएको १५ वर्षमा दुईपटक संविधानसभा सदस्य, दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए । २०७० को  दोस्रो संविधानसभा निर्वाचनमा  उनी काठमाडौं–१० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित भए । २०७४ भएको वाम गठबन्धनबाट उनी गृहजिल्ला चितवन–३ बाट निर्वाचित भए । मंसिर ४ मा भएको निर्वाचनमा चितवन छाडेर गोरखा–२ बाट निर्वाचनमा विजयी भए ।