NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उमेश मैनालीसँग संवाद : प्रधानमन्त्री कार्यालय कस्तो हुनुपर्छ ?

काठमाडौं । सरकार सञ्चालनमा सबैभन्दा जिम्मेवार निकाय हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । संघको प्रशासनिक केन्द्र सिंहदरबारको पनि केन्द्र हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । तर यो कार्यालयको प्रभावकारितामाथि निरन्तर प्रश्न उठ्दै आएका छन्।

पूर्वप्रशासक उमेश मैनाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जसरी सञ्चालन हुनुपर्ने हो, त्यो नभएको बताउँछन् । संसदीय प्रणालीमा प्रधानमन्त्री सरकाररूपी जहाजका क्याप्टेन हुने भएकाले प्रधानमन्त्री कार्यालयलाई झनै चुस्त र प्रभावकारी बनाउनुपर्ने मैनाली औंल्याउँछन् ।

प्रधानमन्त्री कार्यालयमा सरूवा भएर जाँदा कर्मचारीले आफूलाई हेपिएको महसुस गर्ने अवस्था विद्यमान रहेकाले ‘मोरेल’ उच्च पार्न प्रम कार्यालय आफैंले ‘अपरेसनल’ काम थाल्न नहुने मैनालीको ठम्याइ छ ।

हस्तक्षेपभन्दा समन्वयकारी भूमिकामा जोड दिन उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुझाव दिए ।  मैनाली निगरानीको पाटोलाई पनि उसैगरी बलियो पार्नुपर्ने ठान्छन् । ‘मन्त्रीहरू आफ्नो मन्त्रालयको कामप्रति व्यक्तिगत र क्याबिनेटको निर्णयप्रति सामूहिक रूपमा जवाफदेही भए/नभएको हेर्नुपर्छ,’ कर्मचारी प्रशासन क्षेत्रका तमाम विषयमाथि बहस चलाउने ध्येयले नेपालवाच डटकमले थालेको ‘प्रशासनका कुरा’ भिडियो अन्तर्वार्तामा उनले भने, ‘दोस्रो, संसदप्रति प्रधानमन्त्रीलगायत पूरै सरकार जवाफदेही हुनुपर्छ । त्यसैले प्रधानमन्त्री कार्यालयले यी सबै निकायको निगरानी गर्ने, उनीहरूको काममा समन्वय गर्ने भूमिका खेल्नुपर्छ । बाधा अवरोध भएका काम फुकाइदिन सक्नुपर्छ ।’

समन्वयको नाममा पूरै खुला छाडिदिने चलनप्रति भने मैनालीको असहमति छ । महत्त्वपूर्ण निकाय आफ्नै मातहत राख्ने मौलाउँदो प्रवृत्ति पनि सकारात्मक नभएको उनको टिप्पणी छ । ‘गुप्तचर, राजस्व अनुसन्धान विभागलगायत निकाय प्रधानमन्त्री मातहत ल्याउने काम भए । यो सही काम होइन,’ उनले भने ।

प्रधानमन्त्री कार्यालयले नियमित पोलिसी अडिट गर्नुपर्नेमा यसमा पनि ध्यान नपुगेको मैनालीले औंल्याए । ‘नीति अडिटको काम प्रधानमन्त्री कार्यालय अन्तर्गतको हो । आफूले गर्नुपर्ने काम नगर्ने तर अन्य निकाय थुपार्ने काम भइरहेको छ,’ उनले भने, ‘एकाध पटक नीति अडिटको काम भए पनि यसले निरन्तरता पाएको छैन । हामीलाई काम नदिने र नतिजा नल्याउने नीतिलाई फालेर नयाँ नीति ल्याउनुपर्छ ।’

नेपालवाचको प्रस्तुति ‘प्रशासनका कुरा’ को पहिलो श्रृंखलामा ‘प्रधानमन्त्री कार्यालय कस्तो हुनुपर्छ’ भन्ने विषयमा पुष्प ढुंगानाले मैनालीसँग गरेको संवाद । मैनालीसँगको संवाद हरेक हप्ताको मंगलबार नेपालवाचमा प्रकाशन तथा प्रसारण हुनेछ ।

(कर्मचारी प्रशासनलाई स्थायी सरकार मानिन्छ । राज्य सञ्चालनको महत्त्वपूर्ण औजार हुँदाहुँदै पनि कर्मचारी प्रशासनभित्रका समस्या, सम्भावना र आवश्यकताबारे हामीकहाँ पर्याप्त बहस र छलफल भएका पाइँदैनन् ।  प्रणालीमा बाँधिएर भन्दा लहडमा कर्मचारी प्रशासन सञ्चालन गर्ने रोगले हाम्रो राजनीतिक नेतृत्व ग्रस्त छ । यसैसन्दर्भमा हामीले यो क्षेत्रका समग्र विषयमाथि बहस थालेका छौं । हामीले थालेको यो प्रयास तपाईंलाई कस्तो लाग्यो ? अनि प्रशासनसँग सम्बन्धित यी–यी विषयमाथि नेपालवाचले बहस छेडोस् भन्ने लागेको छ कि ? छन् भने नेपालवाच डटकमको इमेल ठेगाना [email protected] मा पठाउनुहोला । नेपालवाच डटकमको न्युजपोर्टल, फेसबुक र युट्युब त तपाईंको प्रतिक्रियाका लागि सदा खुला नै छन् । )

 

ताजा अपडेट

नेपालवाच विशेष