NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चाबहिल-साँखु सडकमा पर्ने तीन पुल विस्तार सुरु

काठमाडौं । चारदेखि छ लेनमा विस्तार गरिएको चाबहिल-साँखु सडकखण्ड अन्तर्गत तीन वटा पुल विस्तार सुरु गरिएको छ ।नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

अहिले यी पुल निर्माणका लागि सर्भे डिजाइन भइरहेको काठमाडौँं चक्रपथ सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनी आफैंले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ड) ठेक्कामार्फत् निर्माण गर्न लागिएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए ।

सो पुल निर्माण सम्पन्न गर्न अवधि साढे दुई वर्ष छ । ‘सडक जति चाैंडा छ पुल पनि त्यति नै फराकिलो बनाइनेछ’, उनले भने, ‘पुलको दायाँबायाँ दुई/दुई लेनको पुल बनाइनेछ’, उनले भने ।

पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा एउटा पुल माथिल्लो पट्टी मात्र निर्माण गर्न लागिएको छ । ‘तलतिर घर भएकाले एकातिरबाट मात्रै बनाउन सकियो, दुवैतिर बनाउन सकिएन’, उनले भने।

पहिले २२ मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का भएको चावहिल साँखु सडक कतै त्यही चौडाइमा त धेरै स्थानमा त्योभन्दा कम चौडाइमा कालोपत्र भएको छ । अरु सबै ठाउँमा कालोपत्र हुँदा पनि थली सडक हुनसकेको थिएन । गत साता सो स्थानमा समेत कालोपत्र भएको छ ।

सडक विस्तार सुरु भएको झण्डै सात वर्षपछि अहिले सम्पन्न हुने क्रममा छ । सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयहरु मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए ।

सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक-पटक अनुगमन गरिसकेका छन् । पछिल्लो पटक नवनिर्वाचित सांसद सोविता गौतमले पनि आयोजना र स्थानीयसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेका थिए ।