NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

चितवन । बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो ।

गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिए । बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले सो कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए । बौलाहा कुकुरले टोकेका सबैलाई स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए ।