NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
पाेलिसी डायलग

अबका चुनावमा हामीले जस्तो दुःख कसैले भोग्न नपरोस्

घोषणापत्रमा समेटिएका विषयलाई कानूनको मस्यौदा बनाउँछौं, सहयोगको अपेक्षा छ

निर्वाचनलाई निष्पक्ष र भयरहित पार्न तथा उम्मेदवारविरुद्ध ‘हेट स्पिच’ फैलन नदिन गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा हामी कडा रूपमा प्रस्तुत भएका थियौं । फलतः यसमा हामी आंशिक रूपमा सफल भयौं ।

अघिल्ला निर्वाचनहरूमा भीड जम्मा पारेर मोटरसाइकल, गाडी, रिक्सा, टाँगाको प्रयोगमा ठूला र्याली गर्ने र खर्चालु पोष्टर टाँस्ने प्रचलन बढी थियो । चुनाव चिह्न र झण्डालाई उत्ताउलो ढंगले प्रदर्शन गरेर तथा सहर र गाउँका भित्ता रंगाएर चुनाव जितिँदैन । त्यसका लागि मतदाताको मन नै जित्नुपर्छ । जुन कुरा थोरै भए पनि स्थापित भयो । गाउँ र सहरका भित्तामा पोस्टर नटासिएकाले प्रदूषणमुक्त र वातावरणमैत्री निर्वाचन सम्पनन ग¥यौ कि भन्ने लाग्छ ।

मदाताहरू आफ्ना प्रतिनिधिलाई निकट चाहने रहेछन् । अनावश्यक आश्वासनले मतदाता प्रभावित गर्न सकिन्न भन्ने प्रमाणित भइसकेको छ ।

करिब ६ महिनाको बीचमा हामीले तीन तह प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न ग¥यौं । तर यी निर्वाचनमा एजेण्डाहरूचाहिँ छरिए । स्थानीय तहको एजेण्डा विकास र सेवा प्रवाह हुनुपर्ने हो । तर हाम्रा मतदाताहरूले जनप्रतिनिधिलाई पनि विकासे कार्यकर्ताकै रूपमा चाहे । अब प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका सदस्यको काम कर्तव्य र अधिकार कानूनमै तोकिदिएर त्यसमा मात्रै केन्द्रित गराउन सक्नुपर्छ ताकि अबका दिनमा विधायकले विकासे कार्यकर्ताको जस्तो आश्वासन बाँडेर निर्वाचनमा जानुपर्ने बाध्यता नआओस् ।

बिहान ११/१२ बजे उम्मेदवारी दिने बेला एउटा दलमा रहेको व्यक्ति अर्को दलको टिकट लिएर उम्मेदवारी दिन्छ र चुनाव लड्छ । एउटा दलको नेता अर्को दलबाट सांसद बन्छ । दिउँसो एउटा दलमा रहेको व्यक्ति राति अर्कोमा पुगिसकेको हुन्छ । योभन्दा ठूलो सैद्धान्तिक विचलन के हुन्छ ?

संविधानतः निश्चित विचारधाराका राजनीतिक सिद्धान्त बोकेका दलहरूले दल दर्ता गर्न पाउँछन् । त्यो दललाई आयोगले नाम, चिह्न र झण्डा दिन्छ । यसको संरक्षण गनुपर्ने दायित्व आयोगको पनि हो । तथापि, एउटा दलको अध्यक्ष अर्को दलको चिह्नबाट चुनाव लडेको हामीले नै देख्यौं ।

बिहान ११/१२ बजे उम्मेदवारी दिने बेला एउटा दलमा रहेको व्यक्ति अर्को दलको टिकट लिएर उम्मेदवारी दिन्छ र चुनाव लड्छ । एउटा दलको नेता अर्को दलबाट सांसद बन्छ । दिउँसो एउटा दलमा रहेको व्यक्ति राति अर्कोमा पुगिसकेको हुन्छ । योभन्दा ठूलो सैद्धान्तिक विचलन के हुन्छ ? दलीय व्यवस्थाको यसरी हुर्मत लिने काम कसरी हुन सक्छ ? यो व्यवस्थाले हाम्रो दलीय प्रतिस्पर्धालाई लज्जित गर्छ कि गर्दैन ? यी विकृतिलाई सैद्धान्तिक हिसाबले नियालेर नियमन कहाँबाट हुनसक्छ भनी खोज्नुपर्छ ।

अर्को एउटा बडा गज्जबको चित्र पनि देखिएको छ यहाँ । त्यो के भने, दलको नेताले आफ्नो नीति, सिद्धान्त र चिह्नअनुसार भोट माग्न, दिन पाउँदैन । दलले नै तिमीले अर्कै पार्टीको चिह्नमा भोट माग्नुपर्छ भनेर फर्मान जारी गर्छ । आयोगले दलको संरक्षण गरिदिनुपर्ने अनि स्वयं दल आफैंले चाहिँ आफ्नो संरक्षण र व्यवस्थापन गर्नु नपर्ने ! विकसित यो अनौठो प्रवृत्तिले हाम्रो निर्वाचन नीति, सिद्धान्त र विचारभन्दा पनि व्यक्तिकेन्द्रित र उम्मेदवार निर्देशित भयो कि भन्ने देखिएको छ । त्यसैले यसलाई सुधारको कोणबाट मिहीन ढंगले विश्लेषण गर्न आवश्यक छ ।

दोस्रो कुरा, हामीले जसरी समावेशी, समानुपातिक सिद्धान्तमा आधारित संविधान बनायौं त्यसको अभ्यास नै हुन पाएको छैन । स्थानीय तहको निर्वाचनले झण्डै ४१ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्यो । स्थानीय तहको चुनाव स्थानीय समाजिक उपस्थितिअनुसार हुने भएकाले सबै जात, जाति, सम्प्रादायिक क्षेत्रको प्रतिनिधित्व होला । प्रदेश सभासम्म आइपुग्दा यो ३६ को हाराहारीमा पुग्यो । र, संघीय संसदमा आउँदा मरेरै एक तिहाइ टेक्यो ।

के साँच्चै हाम्रो शासकीय प्रणाली समावेशी हुँदै छ ? के हामीले खोजेको महिलाको प्रतिनिधित्व यति नै हो ? प्रश्न उठेको छ । यसकारण समानुपातिक, समावेशी सिद्धान्तको परिवेशबाट पनि संशोधन र परिमार्जन खोजिनुपर्छ ।

तेस्रो, निर्वाचनमा भाग लिन आइसकेपछि उम्मेदवारले राजीनामा दिनैपर्ने थिति बसाल्ने दुस्साहस गर्यौं । यो किन पनि दुस्साहस हो भने कानूनमा प्रष्ट नलेखिएको व्यवस्था अंगाल्ने जमर्को गरियो । योग्यताको विषयमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने तथा सम्पत्ति विवरणदेखि कर र राजस्व रकम अनिवार्य बुझाएको घोषणा गर्नुपर्ने व्यवस्था पनि गरियो ।

पहिले यसलाई मैले दुस्साहस भनेको थिएँ अहिले साहस भएको छ । किनभने, सबैतिरबाट यसको प्रशंसा भयो । खासमा निर्वाचनमा विजयी भएर सपथ लिएपछि काम गर्न नपाउने खालका व्यक्तिले उम्मेदवारी दिन हुन्छ कि हुँदैन भन्ने विषयमा मन्थन हुनुपथ्र्यो । तर त्यसमा हामी प्रवेश गर्न सकेनौं ।

जनताले आफ्ना प्रतिनिधिलाई संसद् र सरकारमा हेर्न चाहन्छ । यी दुइटै ठाउँमा जान नसक्ने उम्मेदवार उठेको स्थितिमा मत दिँदा मतदाता विचार गर्नुपर्छ ।

निर्वाचन व्यवस्थापनलाई सुधार गर्न मूल रूपमा पाँच क्षेत्रमा काम गर्नुपर्छ । त्यसमध्येको एउटा हो, निर्वाचन कानूनमा सुधार । निकै महत्त्वपूर्ण यो विषयलाई सांसदले पनि आत्मसात गर्नुपर्छ ।

त्यसो त, यस पटक मौजुदा कानूनलाई प्रभावकारी ढंगले पालन गर्न खोज्यौं । प्रयास गर्दा सकिने रहेछ भन्ने अनुभव भएको छ । केही कुरा राम्रो गर्नका लागि पेलपाल पनि गर्न खोजियो । त्यो पनि सर्वस्वीकार्य भएको छ ।

काम गर्दै जाँदा सुधार गर्नुपर्ने विषयको पनि पहिचान भयो । हामीसँग झण्डै–झण्डै सय वटा जति राष्ट्रिय नीति छन् । यतिका धेरै नीति भए पनि निर्वाचनसँग सम्बन्धित एउटा पनि नीति रहेनछ । सर्वस्वीकार्य हुनेगरी निर्वाचनसम्बन्धी राष्ट्रिय नीति बनाउनैपर्छ । त्यसले धेरै कुराहरू निर्देशित गर्छ र त्यसको परिधिभित्र बसेर हामीले निर्वाचनसम्बन्धी कानून ड्राफ्ट पनि गरिरहेका छौं । यो काम लगभग अन्तिम चरणमा पुगेको छ ।

स्थानीय तहको बजेट भाषण गर्ने समयबारे लेख्न सक्छौं । तर निर्वाचनजस्तो महत्त्वपूर्ण कुरा कहिले हुन्छ भनेर लेख्न सक्दैनौं । अब निर्वाचनसम्बन्धी नीति कानूनबाटै तोकिनुपर्छ ।

हामीले छानेका प्रतिनिधिको कार्यकाल कति भन्ने आफैंमा प्रश्न होइन । गज्जबको कुरा, तैपनि यो उठ्यो । यो दुर्भाग्यलाई हामीले छेड्नुुपर्छ ।

विदेशमा बस्ने नेपालीको मताधिकारको विषय पनि छ । मलाई नै खड्किएको विषय हो, नेपालभित्रै विभिन्न ठाउँमा बसेका र अन्तिम मतदाता नामवालीमा समेटिएका व्यक्तिहरूलाई जहाँ पुग्यो त्यहीँबाट मताधिकारको अधिकार किन नदिने ?

मत बदरको प्रवृत्तिलाई हामीले निकै सूक्ष्म ढंगले हेर्यौं, हेर्यौं, यस पटक । मैले आरोप लगाएको होइन । तर बदर मतले मतदाताले राजनीतिक दल र प्रणालीप्रतिको आफ्नो वितृष्णालाई मतपत्रमार्फत पो व्यक्ति गर्न खोजेका हुन् कि भन्ने पनि देखियो । म कसैलाई भोट हाल्दिनँ भन्न किन नपाउनु ? यो विषय पनि त्यसभित्र आउलान् ।

स्थानीय तहमा गैरदलीय चुनाव गरौं भन्ने विषय पनि उत्तिकै उठेको छ । यसमा छलफल गर्न सकिन्छ । यसो गर्दा विकासका एजेण्डा थेग्रिने र विधायिकी एजेण्डा माथि आउने हुन्छ ।

समावेशी प्रणालीलाई पनि कानूनमार्फत स्पष्ट रूपमा सम्बोधन गर्नुुपर्ने अवश्यकता छ ।
राजनीतिक दलको दर्ता हुन्छ, नियमन हुन्छ । त्यसैगरी खारेजी र विभाजन पनि भइरहेको हुन्छ । अहिले राजनीतिक दलरू विभाजन हुनुपर्यो भने कुन कानून अन्तर्गत हुने ? स्पष्ट छैन । अध्यादेश ल्याइन्छ र अर्को अधिवेशन सुरू नहुँदै त्यो अध्यादेशको अन्त्य हुन्छ । यसले दलको मक्सद त पूरा होला तर यसको मार आयोगलाई पर्छ । हामी आलोचित हुन्छौं । के हामीले यस्तै कानून खोजेका हौं ? जरुर प्रश्न उठेको छ ।

एउटा राजनीतिक दल दर्ता गर्न पाँच सय जना मतदाताले प्रतिवद्धता व्यक्त गर्नुपर्छ । त्यो दलले देशभरबाट निर्वाचन गर्दा पाँच सय मत नै ल्याउँदैन । दलले हामीकहाँ आफ्ना सदस्य कति छन् भनेर संख्या पेस गर्छन् । ५० हजार सदस्य छन् भन्ने दलको पाँच हजार पनि भोट आएको पाइन्न । यसले दलहरूको झुटको खेती अन्त्य गर्नुपर्ने अवस्थालाई सम्बोधन हुनुपर्ने देखिन्छ । यसको लागि कानूनभित्रैबाट कडा ढंगले ‘पोलिटिकल फाइनान्स’को विषय उल्लेख गर्नुपर्छ ।

यस पटक हामीले उम्मेदवारसँग सम्पत्ति विवरण माग गर्नेदेखि चुनाव खर्चको स्रोतबारे प्रश्न सोध्ने प्रयत्न गर्यौं । तर दिनेले दिएँ पनि भन्दैन, लिनेले लिएँ पनि भन्दैन । विवरण ठीक दुरूस्त छ । हामीजस्तो प्रभुत्व संस्थाले नभएको कुरामाथि प्रश्न उठाउन सक्दैन, भित्र मनले सत्य हो भन्ने कुरा मान्दा पनि मान्दैन । यो विडम्बनाले कहाँ पुर्याउने होला ?

सार्वजनिक सम्पत्तिको कहीं कतैबाट दुरूपयोग हुन्छ कि ? अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिदियोस् भन्यौं । आयोगले अख्तियार आह्वान गर्यो भनेर आलाचना भयो । कानुनतः हामीले त्यो काम गर्न सक्थ्यौं र गर्यौं ।

हामीले प्रहरीका इकाई र स्थानीय प्रशासनका इकाईहरूसँग पनि उम्मेदवारले कहाँ खर्च गर्छन्, कहाँ हिँड्छन् र के क्रियाकलाप गर्छन् भन्नेबारे दैनिक रिपोर्ट माग गर्यौं । यो गर्न खोज्दा लोकतन्त्रमा गुप्तचर लगायो पनि भनियो ।

एउटा राजनीतिक दल दर्ता गर्न पाँच सय जना मतदाताले प्रतिवद्धता व्यक्त गर्नुपर्छ । त्यो दलले देशभरबाट निर्वाचन गर्दा पाँच सय मत नै ल्याउँदैन । दलले हामीकहाँ आफ्ना सदस्य कति छन् भनेर संख्या पेस गर्छन् । ५० हजार सदस्य छन् भन्ने दलको पाँच हजार पनि भोट आएको पाइन्न ।

यति गर्दा हामी तुलनात्मक हिसाबले सन्तोषजनक अवस्थामा आयौं । तर यो विषय जनचेतना र आचारणसँग जोडिएको विषय हो । जुन व्यक्ति स्वयंले जान्नुपर्छ । यी सबै समस्याको सम्बोधन अब कानूनी रूपमा हुनुपर्छ । निर्वाचित सांसदहरूले यो विषयलाई ख्याल पनि गर्नुभएको छ । राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा निर्वाचन सुधारबारे लेखेको विषयलाई समेटेर हामी कानुन बनाएर लिएर जान्छौं । हामीलाई सम्पूर्ण रूपले उहाँहरूको सहयोग चाहिन्छ ।

तीन तहको निर्वाचनपछि धेरै पर्यवेक्षणकर्ता र अनुगमन संस्थाले हामीलाई रिपोर्ट दिएका छन् । त्यसलाई अध्ययन गर्दा मैले देखेको विषय हो, आयोगको संस्थागत सुदृढीकरण । डेटाबेसदेखि जनशक्ति, पूर्वाधार र अन्तर्राष्ट्रिय राम्रा अभ्याससम्मलाई ल्याउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सम्बन्ध र आबद्धताको विषयलाई पनि सुधारको एजेण्डा बनाऔं भन्ने कुरा छ ।

अर्कोतर्फ, हामीले राष्ट्रिय परिचयपत्र र गाउँपालिका÷नगरपालिकाले गर्ने घटना दर्तालाई आबद्ध गराउन आवश्यक छ । किनभने, हामीले यो पटक पनि सुन्यौं, ‘मरेका मतदाताले पनि भोट हाले’ । पितृहरू आए भन्ने किसिमको व्याख्याबारे मलाई कहाँनेर दुःख लाग्यो भने, पितृहरू हुन कि होइनन् भनेर छुट्याउनका निम्ति पनि वडामा लगेर राजनीतिक दलका व्यक्तिहरूसमेत बसेर मतदाता नामवाली टुंगाइएको छ ।
के हाम्रो राजनीतिक दलहरू मरेका मान्छेका नाम पनि मतदाता नामवलीमा राख्छन् ? म त राख्दैनन् भन्छु । दोस्रो, चुनावका दिन कोही पनि व्यक्ति पुष्प विमान चढेर त मतदान गर्न आउँदैन । ऊ त ठमठम हिँडेर परिचयपत्र बोकेरै आउँछ । त्यो मान्छे मरेको हो कि होइन भनेर छुट्याउन नसक्ने मान्छे पो मरेको हो त ! त्यसकारण कसैलाई लाञ्छित गर्नका निम्ति मनोगत कुरा गर्नुभन्दा यो प्रणालीलाई आबद्ध गरेर जानैपर्ने अवस्था छ । सकिन्छ भने अनलाइन भोटिङमा जाने कुरामा पनि हामी अध्ययन गरौंला । समाजिक सञ्जालको कुरा पनि यसमा सँगसँगै लैजान सकिन्छ ।

निर्वाचन कानूनको नीतिगत सुधारभित्रै पर्ने विषय के हो भने, अस्थायी मतदाता नामवली बनाएर देशभित्र र बाहिरका मान्छेले भोट हाल्न पाउने वातावरण तय गरिनुपर्छ । हामीले निर्वाचन व्यवस्थापनमा विकेन्द्रीकृत पद्धति अवलम्बन गर्न सकेनौं ।

त्यसैले, अब हामीले संघीय संरचनाअनुरूप आयोगको जिम्मेवारी बाँडफाँट र तदनुसार काम गर्ने पद्धतिको हामीले विकास गरौं । मतदाता नामावलीलाई व्यवस्थित गर्ने काम स्थानीय सरकारले गरिदेओस् । मतदाता शिक्षाको काम पनि स्थानीय तहबाटै गरौं । मतदानस्थल, केन्द्रहरू कसरी व्यवस्थापन गर्ने, कहाँ राख्ने ? त्यसलाई कसरी लैंगिकमैत्री, समावेशी बनाउने ? तलैबाट गरौं । प्रत्येक स्थानीय तहमा निर्वाचनसम्बन्धी इकाई खडा गर्नेबित्तिकै यी सबै विकेन्द्रीकृत भएर जान्छन् ।

हामीले निर्वाचन परिणाम आएको एक महिनाभित्रमा आफूले गरेकोे खर्च विवरण पेस गर्नुपर्ने ऐनमै प्रबन्ध गर्यौं । दलहरूले गर्ने स्वघोषणामा यसलाई उल्लेख गरी प्रचारप्रसार गर्न पनि लगायौं ।

खर्च धेरै गर्नेलाई कारबाही गरेनौं भनेर आयोगलाई दबाब छ । हेर्नुस्, कति खर्च गरेँ भनेर कसैले विवरण नै दिँदैन । त्यसकारण हामीले पहिलो पटक यसमा पनि दुस्साहस नै गर्यौं । धेरैलाई कारबाही गर्नुपरेकाले यसमा हामी त्यत्ति प्रफुल्ल छैनौं । तर, यो बाध्यता हो । ६ महिनाभित्रमा उहाँहरूले यसलाई सम्बोधन गर्नुभएन भने आयोगले बाध्यवश उहाँहरू पदमा नरहेको घोषणा गरेर उपनिर्वाचनको घोषणा गर्नुपर्ने हुन्छ ।
त्यसकारण यो स्थिति सिर्जना नहोस् । कानून मान्नेतर्फ प्रेरित गरौं र कानून पनि बनाउँदै जाऔं । अधिकारबाट हामी सम्पन्न हुँदै जाऔं, त्यसको बाँडफाँट पनि गरौं । सँगै भएको अधिकारलाई पनि प्रयोग गरौं ।

यी सबै सुधारको पहिलो पाइला नीतिगत तथा कानूनी सुधारबाट सुरू हुन्छ । त्यसकारण हामी नवनिर्वाचित सांसदहरूलाई प्रमाणसहित यो–यो विषयमा जटिलता छ, यसरी सुधार गरौं भनेर सुझाव दिन्छौं । यसमा सांसदहरूको सहयोग चाहिन्छ र छिटै आउँदो निर्वाचनमा राम्रो वातावरण तयार पार्नका लागि सहयोग चाहिन्छ ।

निर्वाचनको समय हामी यससँग सम्बन्धित कुरा साह्रै धेरै गर्दा रहेछौं । अन्य समयमा चाहिँ सामसुम हुन्छौं । पाँच वर्षमा निर्वाचन आउँछ भनिसकेपछि स्थानीय सरकारलाई पाठ्यक्रम पनि त्यही अनुसार बनाउन भन्न सकिन्छ । त्यसमा निर्वाचन, नैतिक र मतदाता शिक्षालाई समावेश गर्दै अवलम्बन गराउन सकिन्छ । अब निर्वाचन आयोगले गर्ने सुधार यतैतिर केन्द्रित हुन्छ । बाँकी चार वर्ष स्रोत साधन पनि नहुने हुँदा आयोग सुस्त हुन्छ । तर निर्वाचन भनेको एक दिनका लागि मात्रै होइन ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्वाचन पूर्वको सबैभन्दा लामो चरण हुन्छ । निर्वाचनपछिको चरणमा सुझाव लिने आदि इत्यादि हुन्छ । निर्वाचनका निम्ति विभिन्न चरणमा गरिने यी काम खर्च नभएर लगानी हो ।

हामीले यस पटकको निर्वाचनमा कानूनी बाधाकै कारण धेरै ठाउँमा गणना गर्न सकेनौं । हाम्रो कानूनले सदर र बदर मतको निर्णय निर्वाचन अधिकृतले मात्रै गर्न पाउने तोकेको छ । निर्वाचन अधिकृत त एउटा हुन्छ । त्यो अधिकार मतगणना अधिकृतलाई दिएर २० जना मतदान अधिकृत तोक्ने हो भने धेरै परिवर्तन हुन्छ । यही स्रोत, जनशक्तिबाट धेरै काम गर्न सकिन्छ भने सुधारको एजेण्डामा अघि बढ्नुपर्छ । आयोग नीति बनाउन तयार छ, आयोगले कानून पेस गर्दैछ । आयोग कार्यगत योजनासहित आउँदै छ । ताकि आउँदो निर्वाचनमा कुनै निर्वाचन आयुक्तले हामीले भोगेजस्तो झण्झट र दुःख भोग्न नपरोस, आलोचना खेप्न नपरोस् ।