NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नक्कली किसान खडा गर्ने दुई सहकारीले पाए ३५ लाख अनुदान

काठमाडौं ।धनुषास्थित भेटेरेनरी अस्पताल तथा सेवाविज्ञ केन्द्रले कागजमा मात्र सीमित र नक्कली किसान खडा गर्ने दुई सहकारी संस्थालाई दुग्ध उत्पादनमा आधारित अनुदानबापत ३५ लाख वितरण गरेको भेटिएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका– ६ मा रहेको भनिएको (तर, नभएको) लोकतन्त्र कृषि सहकारीले किसानमार्फत दूध संकलन गरेबापत भन्दै १८ लाख ५० हजार अनुदान पाएको हो भने सहिदनगर नगरपालिका– ९ स्थित मांसी कृषि सहकारीले नक्कली किसान खडा गरेर १६ लाख ५० हजार बुझेको हो । सहकारीले दुवै सहकारीलाई आर्थिक वर्ष ०७६–७७ मा उक्त रकम उपलब्ध गराएको थियो ।

किसानसँग दूध संकलन गरेबापत प्रतिलिटर दुई रुपैयाँ उपलब्ध गराउने गरी १८ लाख ५० हजार पाएको लोकतन्त्र सहकारी दर्ता भए पनि अस्तित्वमा भने नरहेको राष्ट्रिय सतर्कता केन्द्रले छानबिनबाट खुलेको छ । सतर्कताका एसपी राजेन्द्रकुमार पोखरेल र डिएसपी बुद्धिराम खनाल सम्मिलित छानबिन टोलीले स्थलगत अनुगमन गरेको थियो । तर, मिथिलाबिहारी– ६ मा रहेको भनिएको लोकतन्त्र सहकारीको त्यहाँ कुनै आधिकारिकता पुष्टि नभएको डिएसपी खनालले बताए ।

‘हामी फिल्डमा जाँदा सहकारीको बोर्डसमेत फेला परेन, एउटा कोठामा लगेर यही हो सहकारी भनियो । तर, सहकारीले बचत संकलन गरेको तथा कारोबार गरेको कुनै विवरण उपलब्ध गराइएन,’ उनले भने, ‘मिथिलाबिहारीका किसानबाट दूध संकलन गरिने भनेर अनुदान लगिए पनि दूध संकलन केन्द्र भने जनकपुरमा भेटियो ।’

सतर्कताले प्रतिवेदनमा भनेको छ, ‘सहकारीसँग सम्बन्धित कागजात सहकारीका अध्यक्षसँग माग्दा उपलब्ध हुन सकेन । यसरी हेर्दा सहकारी कागजमा मात्र सीमित रहेको देखिन्छ ।’ लोकतन्त्र सहकारीका अध्यक्ष शिवशंकर यादवले सहकारी जनकपुर सारिसकेको भन्दै थप जानकारी दिन इन्कार गरे । सहकारी अस्तित्वमा रहेको भए सतर्कतालाई बचत र कारोबारको विवरण किन उपलब्ध गराउन सक्नुभएन ? भन्ने नयाँ पत्रिकाको प्रश्नमा यादवले कुनै जवाफ दिएनन् ।

मधेस प्रदेश मन्त्रिपरिषद्बाट १३ पुस ०७६ मा स्वीकृत भएको प्राविधिक मापदण्ड तथा सञ्चालन कार्यविधिअनुसार अनुदान प्राप्त गर्न सहकारी तथा फर्मले बैंकसँग वित्तीय कारोबार गरेको हुनुपर्ने व्यवस्था छ । लोकतन्त्रले पेस गरेको प्रमाणमा ‘बैंकसँग गरेको वित्तीय कारोबार विवरण खाली’ छ । १३ असार ०७७ मा भेटेरेनरीका कृषि विकास अधिकृत जीवेन्द्रकुमार झाको संयोजकत्वमा बसेको बैठकले अनुदान छनोटका लागि सिफारिस गरेको थियो ।

लोकतन्त्रले किसानबाट दूध संकलन गरेर सञ्जय डेरीलाई बिक्री गरेको दाबी गरेको छ । सहकारीले ०७६ असारमा भेटेरेनरीलाई विवरण पेस गर्दा ७६ हजार ६ सय ६७ लिटर दूध संकलन गरेको भन्दै अनुदान लिएको छ । तर, सहकारीको विवरणमा भने ३६ हजार दुई सय ३२ लिटर दूध मात्र संकलन भएको देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।