NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अकस्मात किन आयो आइसिसी टोली काठमाडौंमा

काठमाडौं ।  खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग क्रिकेट बदनाम भइरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुई सदस्यीय प्रतिनिधिमण्डल बिहीबार अकस्मात् काठमाडौं आएको छ ।

लगत्तै उनीहरूले सरोकारवाला पक्षहरूसँग परामर्श थालेका छन् । आईसीसी इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको दुई सदस्यीय टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको नेपाल टी–२० लिगको बिहीबारको खेल अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिबारेमा बुझेको थियो । उनीहरूले दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्षमै भेट गरेका थिए ।

नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले मंगलबार खुला रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका थिए । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेको पृष्ठभूमिमा आईसीसीको छानबिन टोली काठमाडौं आएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) सँग साझेदार बनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स प्रतियोगिताको बीचमै फरार भएपछि खेलाडी तथा अम्पायरको पारिश्रमिकलाई लिएर अन्योल छाएको छ । क्यान स्वयंले सेभेन थ्री स्पोर्टसबाट पाउनुपर्ने ३ करोड ९० लाख रकममध्ये ३० प्रतिशतमात्र पाएको छ ।

गृह मन्त्रालयले नेपाल टी–२० लिगको पारिश्रमिक नदिई आयोजकको एउटा पक्ष फरार भएको, बेटिङका जालो बनाएको विषयमा अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान सुरु गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्रिय खेलकुद परिषदको स्वीकृतिबिनै प्रतियोगिता गराइएको र विदेशी खेलाडीले श्रम स्वीकृतिविनै खेलेको विषयमा राय उपलब्ध गराउन राखेपलाई पत्र काटेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।