NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बागमतीको मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका जम्कट्टेल को हुन् ?

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री चयनका लागि दलहरूलाई दाबी पेश गर्ने दिएको समयसीमा सोमबार ५ बजे सकिँदैछ ।

पुस २१ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सदस्यलाई मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनैपनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले उपधारा (२) अन्तर्गत मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्रीका लागि गठबन्धनबाट माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले दाबी पेश गर्ने भएका छन् । मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ–१ को क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले बागमतीसहित सातै प्रदेशको भागबण्डा मिलाएको हो । जसअनुसार बागमतीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको जम्कट्टेलले बताए । गठबन्धनको सहयोगमा पहिलो चरणमा मुख्यमन्त्री बन्न लागेका उनले अपरान्न ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका छन् ।

‘गठबन्धनका शीर्ष नेताहरूको सहमति अनुसार दिउँसो ४ बजे मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्दैछौं’, अर्थमामिला मन्त्रीसमेत रहेका कट्टेलले भने, ‘मुख्यमन्त्री भएपछि बागमती प्रदेशका आर्थिक समृद्धि र विकास निर्माणका लागि योजना बनाएर काम गर्नेछु ।’

११० सदस्यीय प्रदेश सभा सदस्य रहेको बागमतीमा सत्ता गठबन्धनतर्फ नेकपा (एमाले) का २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ गरी ६१ जना सदस्यको समर्थन जमकट्टेलाई रहेको छ । विपक्षमा कांग्रेसको ३७, नेकपा एसको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन् ।

जमकट्टेललाई नेकपा एसलेसमेत समर्थन गरे उनको पक्षमा ६८ सदस्य पुग्नेछ । उनकाअनुसार दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व लिने सहमति भएको छ । मुख्यमन्त्री दाबी गरेको राप्रपाले सभामुख पाएको छ । एमालेले उपसभामुख लिने सहमति भएको छ ।

अघिल्लो निर्वाचनमा नै मुख्यमन्त्री बन्ने प्रयास गरेका उनी तत्कालीन नेकपाभित्रको विवादका कारण उनको योजना सफल हुन सकेको थिएन । एमालेकै समर्थनमा योपटक उनी बागमतीका चौंथो मुख्यमन्त्री बन्न लागेका हुन् ।

को हुन् जम्कट्टेल ?

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन् । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ बाट उनी मजदुर संगठनमा लागे ।

औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए । त्यसता माओवादीमा निरन्तर क्रियाशील रहेका उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए ।

बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका थिए । २०६३ मा पुनस्र्थापित संसदको अन्तरिम विधायिका भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए ।

यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे । पछिल्लो डेढ वर्षयता धादिङमै केन्द्रित रहेका उनी गएकाे प्रतिनिधिसभा सदस्य चुनावमा पाण्डेलाई छाडेका थिए ।