NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

संसदमा ओलीको संगीन आरोपमाथि निरिह देखिए प्रचण्ड

काठमाडौं । मंसिर ४ मा भएको निर्वाचनपछि सोमबार नयाँ संसदको पहिलो बैठक संसद भवन नयाँबानेश्वरमा बस्यो ।

बैठकको पहिलो दिन सभामुखको भूमिकामा रहेका राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जेष्ठ सदस्य पशुपति शमशेरले नवनिर्वाचित सांसदहरूलाई रुलिङ गरेको दृश्य रोमाञ्चक देखिन्थ्यो ।

यसैगरी नवगठित दल रास्वपाका सभापति रवि लामिछानेले पहिलोपटक संसदमा सम्बोधन गरेका थिए । मधेशमा पृथकतावादी आन्दोलन छाडेर राजनीतिको मूलधारमा आएका सीके राउतले पनि पहिलोपटक सम्बोधन गरेका थिए । राप्रपाबाट १५ वर्षपछि राष्ट्रिय दलको हैसियतमा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरे ।

थारुवान आन्दोलनबाट आएकी नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले पनि सम्बोधन गरिन् । एमालेको विद्रोही शक्ति एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललेसमेत सम्बोधन गरे । विगतकोभन्दा योपटक सबैखाले राजनीतिक पृष्ठभूमिको प्रतिनिधित्व संसदमा देखिएको थियो । गणतन्त्रका पहिलो प्रधानमन्त्री रहेका प्रचण्ड १६ वर्षपछि राजतन्त्रको पक्षधर राप्रपाको सहयोगमा प्रधानमन्त्री भएका छन् । संसदमा उनी पहिलेको भन्दा निकै अलमलमा देखिएका थिए ।

बैठकको सुरुमा सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले अघिल्लोपटक ओलीले गरेको संसद विघटनलाई न प्रतिगमन थियो भन्न सके न त समर्थन नै गर्न सके । प्रचण्ड उनै व्यक्ति हुन् जसले ५ पुुस २०७७ मा पहिलोपटक ओलीले संसद विघटन गरी माधव समूहको साथ लिएर ओली विरुद्ध सडक संघर्ष गरेका थिए ।

एमालेसमेत सात दलको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डले यसपटक कसैप्रति आरोपप्रत्यरोप लगाएनन् । प्रधानमन्त्रीको सम्बोधनपछि बैठकलाई विपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बोधन गरे । संक्षिप्तमा लिखित भाषण गरेका उनले न ओलीको विरोध गरे न त प्रचण्डको आलोचना । देउवापछि बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली पोडियममा आए ।

उनले अघिल्लोपटक विघटन गरेको संसदको बचाउ गर्दै घुमाउरो शैलीमा प्रधानमन्त्री प्रचण्ड र देउवाको आलोचना गरे । उनले देउवा–प्रचण्ड–माधवप्रति इंगित गर्दै संसद विघटन गर्नु प्रतिगमन नभएर संसदबाहिरबाट सरकार ढाल्नु प्रतिगमन भएको आरोप लगाए ।

उनको आरोपप्रति प्रधानमन्त्री प्रचण्ड निकै निरिह देखिए । उनको निरिहताप्रति कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले प्रतिनिधिसभामा ओली र प्रचण्डबीच बिग्रहको बिजारोपण भएको दाबी गरे । एमाले अध्यक्ष ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजारोपण भएको उनको जिकिर छ ।

‘संसदमा एमाले र माओवादीका दुवै अध्यक्षले बोल्नुभयो । मैले संसदभित्र ध्यान दिएर हेरिरहेको थिए । एकअर्कालाई समर्थन गरेर बोल्नु स्वाभाविक नै थियो । तर, ओलीले वर्तमान प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नुभएको मैले महसुस गरें । संसद विघटन सोह्रै आना सही थियो । जनताको पक्षमा थियो । प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनिरहँदा हालका प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो’, बैठकपछि सञ्चारकर्मीसँग उनले भने ।’

वास्तवमा दुई वर्षपछि उनै कटु आलोचक ओलीको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई ओलीको आरोप निल्नु न ओकल्नुभएको छ । यथास्थितिमा आफूलाई ओलीले प्रधानमन्त्री प्रस्ताव गरेपनि स्वीकार्य नहुने दाबी गर्दै आएका उनी मंगलबार संसदबाट प्रधानमन्त्रीको विश्वासको मत लिँदैछन् । सत्ता स्वार्थमा एउटै डुंगाको सयर गर्न आइपुगेका यी दुईको सहयात्र कति पर जान्छ भन्नेमा विभिन्न अड्कलबाजी भइरहेको अवस्थामा ओलीले संसद विघटनको विरोध गर्नेमाथि फेरी बदला लिएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष