NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सातवटै प्रदेशका मुख्यमन्त्री नयाँ अनुहार : कसको पृष्ठभूमि कस्ता छन् ?

काठमाडौं । सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । सत्ता गठबन्धनबाट भागबण्डाको आधारमा मुख्यमन्त्री नियुक्त भएका सात जना मुख्यमन्त्रीले आ–आफ्ना विश्वासको मत लिने तयारी गरेका छन् ।

२४ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार दलहरूबीच सात प्रदेशको भागबण्डा मिलाएको थियो । जसअनुसार प्रदेश १, गण्डकी, लुम्बिनीमा एमालेले पाँच वर्ष सरकार सञ्चालन गर्ने सहमति भएको हो ।

कर्णालीमा माओवादी केन्द्रलाई पाँच वर्ष नेतृत्व लिने सहमति भयो । मधेश प्रदेशमा जसपा र जपाबीच आलोपालो गर्ने, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीबीच आलोपालो सरकार बनाउने सहमति भएको थियो ।

भागबण्डा अनुसार एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरि र सुदूरपश्चिममा राजेन्द्र रावल मुख्यमन्त्री भएका छन् ।

यसै गरी माओवादीबाट बागमतीमा शालिकराम जम्कट्टेल, कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । सातवटै प्रदेशमा मुख्यमन्त्री नयाँ अनुहार आएका छन् ।

यस्ता छन् सातवटै प्रदेशका मुख्यमन्त्रीका पृष्ठभूमि

हिक्मत कार्की

प्रदेश १ का मुख्यमन्त्री रहेका कार्की एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हुन् । झापाको गौरादह नगरपालिका–३ मा विक्रम संवत २०२१ साल असोज ११ गते जन्मेका उनी परिवारका तेस्रो सन्तान हुन् । उनको बाल्यकाल बाल्यकाल गौरादहमै बितेको थियो । स्थानीय जनता माध्यमिक विद्यालयबाट मुख्यमन्त्री कार्कीले एसएलसी पास गरेका हुन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनले २०३६ सालदेखि पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसबाट २०४२ मा कार्कीले आईएल पास गरेका हुन् । त्यसपछि मन्त्री कार्की उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा भर्ना भएका थिए । कार्कीले कानुनमा स्नातकोत्तर तह (एलएलएम)सम्मको अध्ययन पूरा गरेका छन् । ल क्याम्पसका स्ववियु सभापति रहेका उनी २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए ।

२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा झापा ५ को ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका उनी शेरधन नेतृत्वको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने । योपटक पनि उनी सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।

सरोजकुमार यादव

२०३० मा जन्मिएका मधेश प्रदेशको मुख्यमन्त्री यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कङ्काली माविबाट प्राप्त गरेका हुन् । यादवको भारतीय सीमावर्ती क्षेत्र विहारका नेतासँग पनि उनको राम्रो सम्बन्ध भएको र सामाजिक सेवामा निकै सक्रियता रहेकाले यादवलाई स्थानीयले राम्रो नेता मान्छन् ।

उनका बुवा जमिन्दार भएकाले पञ्चायती शासकसँग उनको परिवारको राम्रो सम्बन्ध रहेको थियो । मुख्यमन्त्री यादव तत्कालीन सद्भावना पार्टीका महासचिव थिए । त्यसपछि उनी राजपाका राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आइएससी) सम्म अध्ययन गरेका छन् । २०५९ मा २४ वर्षको उमेरमा तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित भएर चर्चा कमाएका थिए ।

२०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट सद्भावना पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदमा उनी स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए ।

०७० को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका यादव ०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनी अघिल्लो पटक सभामुख भएका थिए । योपटक एमालेसँग तालमेल गरी साविक निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

शालिकराम जम्कट्टेल

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन् । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ बाट उनी मजदुर संगठनमा लागे ।

औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए । त्यसता माओवादीमा निरन्तर क्रियाशील रहेका उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए ।

बि.ए, बि.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका थिए । २०६३ मा पुनस्र्थापित संसदको अन्तरिम विधायिका भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए ।

यद्यपि २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे । पछिल्लो डेढ वर्षयता धादिङमै केन्द्रित रहेका उनी गएको प्रतिनिधिसभा सदस्य चुनावमा पाण्डेलाई छाडेका थिए ।

खगराज अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी २०२९ सालमा स्थानिय आनन्द ज्योति माविको स्ववियु सभापतिको रूपमा विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए । अधिकारीले विद्यार्थी राजनीतिमा २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए । विभिन्न राजनीतिक घटना क्रममा ५ पटक सम्म जेल जीवन बिताएका उनी एमाले कास्की सचिब हुँदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए ।

यसपछि पार्टीको सचेतक, केन्द्रीय विभागमा अनुशासन निरिक्षण, वैकल्पिक पोलिटब्युरो सदस्यको साथै गण्डकी संयोजक भई काम गरिसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकिकरण पछि बनेको एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह ईन्चार्ज भए । ओली नेतृत्वको सरकारमा उनी १८ दिने गृहमन्त्री भएका उनी अहिले एमाले संगठन विभाग प्रमुख छन् ।

लीला गिरि

लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहेका गिरीको जन्म २०११ साल चैत १४ गते रुरु गाउँपालिका– ५ गुल्मीमा भएको थियो । २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरूको विरुद्ध आन्दोलनमा सहभागी भएका थिए ।

गिरीले शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यववस्थाको पहिलो जननिर्वाचित अध्यक्ष भएर काम गरेका थिए ।

२०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य भए । २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, ०६१ देखि ०६९ सम्म एमाले जिल्ला कमिटी सचिव भए ।

गिरि शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारमा उद्योग वन, पर्यटन, वातावरणमन्त्री भए । मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेशसभामा विजयी भए । अघिल्लो निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट विजयी भएका थिए ।

२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य भए । उनी नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए । हाल उनी नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज छन् ।

राजकुमार शर्मा
२०२८ साल भदौ १८ गते चौरजहारी नगरपालिका—१४ साविक (नुवाकोट) गाविसमा कर्णालीका मुख्यमन्त्री शर्माको जन्म भएको थियो । उनी ०५० साल देखि ग्रामीण वर्गसंघर्षको पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा सामेल भएका थिए ।

२०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा संलग्न भएका शर्मा सानैदेखि पच्चायत विरोधी थिए । राजतन्त्रको विरोध, जनयुद्धको तयारीका क्रममा ५०÷५१ सालमा रुकुम रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षबाट जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा उदाएका हुन् ।

उनी ०४६ सालमा मोटो मशालको पार्टी सदस्यता प्राप्त गरे । ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिए । ०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकता बारेमा जनजागरण गर्दै जनसंघर्षमा होमिए ।

उनी ०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेले । ०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा उनी सहभागी भए । जनयुद्धको विस्तारका लागि ०५४ सालदेखि साबिक कर्णालीमा सरुवा भएर विभिन्न कमान्डको नेतृत्व गरे ।

सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगाएका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्जका रूपमा नेतृत्व लिए । शर्मा शान्ति प्रक्रियापछि थारुवान राज्य समितिको दाङ–कञ्चनपुर को प्रमुख भएर काम गरे ।

शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इन्चार्ज रहेका शर्मा अहिले पोलिटब्युरो सदस्य छन् ।

राजेन्द्रसिँह रावल

एमालेको पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज रहेका रावल २०३६ सालदेखि राजनीतिमा लागेका हुन् । पञ्चायतविरुद्ध आन्दोलन गर्न वामपन्थी राजनीतिमा होमिएका थिए । बुवा भारतीय आर्मीमा कार्यरत भएकाले विद्यालय शिक्षादेखि स्नातकसम्मको पढाइ भारतमै पुरा गरेका हुन् । वामपन्थी आन्दोलनकै क्रममा उनी बैतडीको एक विद्यालयमा अध्यापन गराउने काम गर्थे । २०४५ सालमा शिक्षण पेशा छाडेका रावल पूर्णकालीन राजनीतिमा होमिएका थिए । केहीसमय अनेरास्ववियुमा लागेका उनी २०५४देखि ०५९ सम्म जिल्ला विकास समितिमा उपसभापति भए ।