NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मेनपावरको मालिकलाई श्रममन्त्री बनाएको आरोप लागेपछि अर्यालले दिए स्पष्टीकरण

काठमाडौं । नवनिर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूमाथि मेनपावर व्यवसायी भएको आरोप लागेपछि त्यसको खण्डन गरेका छन् । मंगलबार प्रचण्ड नेतृत्वको सरकारमा उनी श्रममन्त्री नियुक्त भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका अर्याललाई अध्यक्ष रवि लामिछानेले श्रममन्त्री बनाएका थिए । उनी मन्त्रीमा नियुक्त भएलगत्तै मेनपावर व्यवसायीलाई श्रममन्त्री बनाएको सञ्चारमाध्यमा सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको छ ।

खासगरी पुराना राजनीतिक दल एमाले, कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा मन्त्री अर्यालको व्यापक विरोध गरेका छन् । माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले नागरिकता विवादमा मुछिएका रवि गृहमन्त्री भएको, मेनपावर व्यवसायी अर्याल श्रममन्त्री भएकोमा विरोध गरेका छन् । नयाँ भनिएका दलबाट विवादित व्यक्तिलाई मन्त्री बनाएकोमा लाज लाग्दैन भनेर प्रश्न उठाएका छन् ।

मन्त्री भएको चौबिस घण्टा नबित्दै सामाजिक सञ्जालमा अर्यालविरुद्ध तीब्र आलोचना भएपछि उनले आफू कुनै मेनपावरमा सहभागी नभएको स्पष्टीकरण दिएका छन् । व्यवसायी पृष्ठभूमिबाट गत असारमा रवि नेतृत्वको पार्टीमा प्रवेश गरेका अर्याल काठमाडौंबाट समानुपातिक सांसद बनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले बुधबार लामो स्टाटस राख्दै म्यानपावर कम्पनीमा आफ्नो संलग्नता भएको प्रमाणित गर्न मन्त्री अर्यालले चुनौती दिएका हुन् ।

‘गरि खाने मान्छे हुँ, थोरै–थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन । मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन । राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन । वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणीत गर्दैनन् । तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन–कुन गैरकानुनी काम भयो ?’, उनले उल्लेख गरेका छन् ।

यस्तो छ मन्त्री अर्यालको फेसबुक स्टाटस :

म यो देशको सामान्य नागरिक । अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र व्यवसायमा लड्दै, उठ्दै, आवद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हु । म गाउँको सामान्य परिवारको मान्छे । थोरै–थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे । देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै–थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन । एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन । म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु,सहकारीमा छु, इटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिट्यान्स कम्पनीमा छु, एजुकेसन कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवशायमा छु, क्याटरिङ ब्यवशायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु । गरि खाने मान्छे हुँ, थोरै–थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन ।

हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी । समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो ? मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन । राजनीतिमा संलग्न भएपछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन । वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणीत गर्दैनन् । तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन–कुन गैरकानुनी काम भयो ? मन्त्रीका रुपमा काम गर्न जाँदा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्ये एक हो ।

मबाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला । म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन् । नेपालको प्रेस ले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन् । बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिए । खैर जे होस्, मलाई प्रेस जगतसँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ । र मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न् ।

कृपया अहिले जस्तै तपाईहरुका संचारमाध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला । भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउला । यो मेरो वाचा र चुनौती भयो । यो लामो स्पस्टोक्तिबाट आफूलाई स्वाद लागेको हेडलाईन हालेर पेल्ने अधिकार यहाँहरुलाई नै दिन्छु । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु । हस् अब काममा लाग्छु ।