NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

संसदले आज नयाँ सभामुख पाउँदै, यस्तो छ अंकगणित

काठमाडौं । सभामुख निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ । बिहान ११ बजे हुने निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका उम्मेदवार देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । घिमिरेलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दलहरूले समर्थन गरेको छ ।

विपक्षी दलबाट कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवार रहेकी छिन् । उनलाई नेकपा एस, लोकतान्त्रिक समाजवादीले समर्थन गरेका छन् । सत्ता साझेदार दल जसपा, जपा र नाउपाले मतदान प्रक्रियामा भाग लिने/नलिनेबारे केही बोलेका छैनन् ।

यसअघि प्रधानमन्त्रीको निर्वाचनमा यी दलहरूले प्रचण्डलाई मतदान गरेका थिए । पछिल्लो मन्त्रिपरिषद विस्तारमा असन्तुष्ट रहेका जसपा र जपा सरकारमा गएका छैनन् । संसदमा अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ। जसअनुसार एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ सांसद गरी एमाले उम्मेदवार घिमिरेले १४५ मत पाउने देखिन्छ।

यसैगरी विपक्षी गठबन्धनका उम्मेदवार न्यौपानेलाई कांग्रेसको ८९, नेकपा एसको १० र लोसपाको ४ गरी १०३ मत पाउने देखिन्छ । स्वतन्त्र चार जनाको मत कता जान्छ एकिन भएको छैन ।