NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न प्रचण्ड, माधव र बाबुराम सहमति नजिक

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताका लागि भएको छलफल निर्णायक मोडमा पुगेको छ । तीन वटै पार्टीले कार्यदलस्तरमा छलफललाई तिब्रता दिएका छन् ।

एकताबारे निर्णय लिन माओवादी केन्द्रले माघ १२ गते स्थायी समिति बैठक बोलाएको छ । सोही बैठकले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

शनिबार बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग छलफल गरेको माओवादी केन्द्रले आइतबार नेकपा एससँग छलफल गरेको छ । दुवै पार्टीसँगको छलफल सकारात्मक भएको माओवादी कार्यदलका सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

‘एकीकृत समाजवादी र नेसपाका नेताहरूसँगको बैठकमा एकअर्काबीच आत्मीय ढंगले दस्तावेजको आदान–प्रदान भयो । कार्यदल स्तरमा एकताको मोडालिटी, मार्गदर्शक सिद्धान्त, पार्टीको नाम लगायत विषयमा तीन पार्टीबीच गहन छलफल भयो’, उनले नेपालवाचसँग भने, ‘दुई वटै पार्टीसँग कम्युनिस्ट पार्टीसँग मिल्नेगरी नाम राख्ने लगभग सहमति भएको छ । संगठनात्मक संरचना, पार्टीको विधानबारे अझै परिस्किृत रुपले छलफल र बहसलाई अगाडि बढाउँछौं ।’

समाजवादीको अगाडि नेकपा राख्न एकीकृत समाजवादीले कुनै असहमति नजनाएपनि भट्टराई कम्युनिस्ट नाम राख्न सहमत भएका छैनन् । माओवादीले समाजवादीका अगाडि नेकपा राख्नुपर्ने अडानमा छ । समाजवादीको अगाडि नेकपा राख्ने शर्तमा माओवादी विचारधारा छाड्न प्रचण्ड तयार छन् । यही विषयमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भट्टरईसँग निरन्तर छलफलमा छन् ।

यसैगरी नेकपा एससँग पहिले नै पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय भएको भएपनि दस्तावेज आदान–प्रदान सम्बन्धमा प्रक्रिया अगाडि नबढेपछि दुवै पार्टीका नेतृत्वसँग छलफल गरेर पुनः बस्ने सहमति भएको एकीकृत समाजवादीका कार्यदल सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

‘माओवादी र हाम्रो पार्टीबीच सिद्धान्त, संगठनात्मक स्वरुपबारे धेरै भिन्नता छ । माओवाद बोकेर पार्टी एकता हुन सक्दैन । आइतबार दुई पार्टीबीच बसेको बैठकमा दस्तावेज आदान–प्रदान भयो’, उनले भने, ‘एकपटक नेतृत्वसँग बसेर नै छलफल गर्ने सहमति भएको छ । भेटघाट र सम्वादलाई निरन्तरता दिने सहमति भएको छ ।’

जसपासँग पनि पार्टी एकताको विषयमा छलफल जारी रहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने ज्वालाले बताए ।
‘जसपासँग पार्टी एकता गर्न हामी तीन पटक बैठक बसिसकेका छौं । दुवै पक्षका नेताबीच दस्तावेज आदान–प्रदान भएको छ’, उनले भने, ‘पार्टीको नाम, झण्डा, विधान, संगठनात्मक स्वरुप, मार्गदर्शक सिद्धान्त लगायत विषयमा गम्भीर छलफल पश्चात एउटा निष्कर्षमा पुग्नेछौं ।’
समाजवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा तीन पार्टीबीच कुनै विवाद नभएपनि पार्टीको नाम, संगठनात्मक स्वरुप, पार्टीको मार्गदर्शक सिद्धान्त, विधान लगाय विषयमा नेतृत्व तहमै छलफल आवश्यक रहेको उनको भनाइ छ ।

कार्यगत एकतासँगै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि एउटै समाजवादी केन्द्र बनाउने सहमति भएबमोजिम तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । यसै विषयमा आ–आफ्नो पार्टीमा छलफल गरी निर्णय लिने तयारीमा तीन वटै पार्टी जुटेका छन् ।
‘अहिले हामी तीन पार्टीबीच एकताका लागि प्रारम्भिक छलफलमा छौं । पार्टी एकताका लागि अहिलेसम्म भएका प्रगति विवरण हाम्रो पार्टीको बैठकमा राख्छौं । पार्टी एकताको विषयमा निर्णय लिने अधिकार केन्द्रीय समितिलाई भएकाले केही समयभित्र तार्किक निष्कर्षमा पुग्नेछौं’, पोखरेलले भने ।

वाम एकताका लागि माओवादी केन्द्रले गत शनिबार उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दशन शर्मा र शक्ति बस्नेत सदस्य रहेको पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । गत शुक्रबार बसेको केन्द्रीय सचिवालयल बैठकले भुसालसहित उपमहासचिव प्रकाश ज्वाला, डा. गंगाला तुलाधर र डा. विजय पौडेल सदस्य कार्यदलका छन् । यसैगरी पार्टी एकताका लागि नेसपाबाट भट्टराई आफै सक्रिय छन् ।

निर्वाचनअघि माओवादी, नेकपा एस, नेसपा र वामदेवको पार्टी नेकपा एकता राष्ट्रिय अभियानबीच कार्यगत एकतासँगै एउटै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने प्रयास असफल भएको थियो । भट्टराईको पार्टी नेसपाले माओवादी केन्द्रकै चुनवा चिन्हबाट निर्वाचनमा भाग लिएका थिए। एकीकृत समाजवादीले कलम चिन्हबाट चुनाव लडेका थिए । वावदेवको पार्टीले निर्वाचनमा भागै लिएन ।
एकीकृत समाजवादीले जसपालाईसमेत पार्टी एकतामा सामेल गर्ने प्रयास जारी राखेको छ । दुई पार्टीबीच पार्टी एकताका लागि भएको छलफल सकारात्मक भएको दुवै दलका शीर्ष नेताले बताएका छन् । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जसपासँग पार्टी एकताको सम्बन्धमा छलफल जारी रहेपनि निष्कर्षमा नपुगेको बताए ।

‘वामपन्थीबीच एकताका लागि हामीले वार्ता टोली बनाइसकेका छौं । वार्ता टोलीले जसपासहित अन्य दलसँग पनि छलफल गर्नेछ । एउटा निष्कर्षमा पुग्नेछौं’, उनले भने ।

नेकपा एससँग पार्टी एकताको प्रक्रिया अगाडि बढाएपछि एमालेका अध्यक्ष केपी ओली उपेन्द्र यादवसँग रुष्ट भएका छन् । प्रधानमन्त्री प्रचण्डले सजसालाईसमेत सँगै सरकारमा सामेल गर्न चाहेपनि ओली सहमत भएपछि जसपा सरकारमा सहभागी भएको छैन । यसै विषयमा कुरा गर्न यादव शनिबार बालकोट पुगेका थिए ।